Sarmila Rai – Milan Yug Yug Rahanechha

सर्मिला राई – मिलन युग–युग रहनेछ

१.
‘बाबु, तेरी दिदी कहिले आउँछे,’
आज फेरि आमाले उही प्रश्न गरी ।
आमाको मलिन र उदास अनुहार देखेर
आश्वासन दिँदै भनेँ,
‘शान्ति दिदी चाँडै आउँछे रे
आमा, तपाईं प्रतीक्षा गर्नोस्
भर पर्नोस् ।’

२.
यही प्रश्न र उत्तर
हामी दुईबीच
विगत दश वर्षदेखि
हो, विगत दश वर्षदेखि निरन्तर चलिरहेछ
विगत दश वर्षदेखि म
शान्ति दिदीको खोजीमा गीतहरू गाइरहेछु
उनको पुनरागमनको कल्पना गर्दै आइरहेछु
पर क्षितिजपारि देखि उषाको सुनौलो किरण बनेर
धर्तीमा जीवन र खुसीको मुस्कान छरेर
शान्ति दिदी आउनुहुनेछ
सुमधुर सङ्गीत बनेर डाँडाकाँडा कुनाकन्दरा
सहरका गल्लीगल्लीमा छाउनुहुनेछ
हो, एकदिन शान्ति दिदी पक्कै आउनुहुनेछ ।

३.
‘कहिले आउँछे रे ऊ मलाई भेट्न,
मेरो तिर्खाएको मनको प्यास मेट्न,’
आमाले फेरि अर्को प्रश्न तेर्स्याई
तब मैले वास्तविकता लुकाउन सकिनँ
उनको सामु झुटो बोलेर शिर उठाउन सकिनँ
र भनेँ,
‘त्यो शून्य संसारदेखि
शान्ति दिदी यतैतिर आउँदै छिन् रे
तर दुर्भाग्य आमा
हाम्रै दाजुभाइहरूले
उनको आगमनबाट
उनको उपस्थितिबाट
आफ्नो राक्षसी अस्तित्व गुमाइएला भनेर
दिदी आउने बाटोमा
काँडेतारहरू ओछ्याए रे
पर्खालहरू बनाए रे
विद्युतीय धरापहरू थापे रे
त्यसैले आमा
ती कमजोर शान्ति दिदी
ती एक्ली, अबला शान्ति दिदी
बाटैमा अलपत्र छिन् रे
चर चिन्ता नगर्नुस् आमा,
तपाईंले
मजस्ता शान्तिप्रिय सन्तति पनि जन्माउनुभएको छ
मजस्ता आमाको पीडा बुझ्ने सन्तति पनि जन्माउनुभएको छ
आजैदेखि हामी
ती पर्खालहरू तोड्न लाग्नेछौँ
काँडेतर अनि विद्युतीय धरापहरू पन्छाउन थाल्नेछौँ
हाम्री प्यारी शान्ति दिदीलाई ल्याउनेछौँ
तपाईंसँग अवश्य मिलन गराउनेछौँ
र त्यो मिलन
युगयुगसम्म रहनेछ
जबसम्म संसारको अस्तित्व रहन्छ
हो, त्यो मिलन युगयुगसम्म रहनेछ ।’

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2521
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply