Purushottam Dahal – Andhakar Ko Yatri

पुरुषोत्तम दाहाल – अन्धकारको यात्री
(Source: मधुपर्क साउन, २०६७)

पेट खाली थियो तर खाने केही थिएन
आज थाल भरी छ खाना
अरुचिले अघाएको छु, भोक हराएको छ ।
परिवार बसाउन घरबास खोज्दाखोज्दै
सबै क्षणहरू, समयहरू, दिनहरू कटे,
अहिले परिवार बसेको छ, उमेर घटेको छ
आयु आफैँ किनारा लागेको छ ।
आज म अन्धकार छाम्दै हिडिरहेको छु
आँखाहरू हुँदा दृश्यहरू थिएनन् र
फूलवारी, बगैँचाहरू, पहाडपर्वतहरू
नदीनालाहरू, वनजङ्गलहरू
गाउँ, सहरबस्तीहरू, भूमण्डल, ग्रहहरू
मेरा वरिपरि छन् म उनीहरूसँगै छु ।
तर के गर्नू ? मसँग आँखा छैनन्
अनुमान गर्न सक्छु, अनुभव गर्न सक्दिन ।
आनन्दबोध गरेझै हुन्छ, खुसी हुन सक्तिन ।
बाटो खन्दाखन्दै जीवन गयो
माटो बोक्दाबोक्दै सन्ध्या सुरू भयो
तर त्यो बाटोमा हिड्ने रहर कि भोक
आफैँ खुम्चिएर रहृयो र मर्दै गयो ।
मेरा पसिनाका थोपाहरूले
जसलाई सम्याउने काम भयो
मेरा आकाङ्क्षाहरू ज्ाहाँ आकार आधार थिए
मेरा सपनाहरूले जहाँको खाल्डाखुल्डी पुर्ने काम गरे
दिनरात। भोक-तिर्खा, घाम-पानी अँध्यारो-उज्यालो सबै खेप्दै
आज म त्यसलाई देख्न छाडेको छु ।
हिड्न सक्तिन् त्यो बाटो ।
भोग गर्न सक्तिन म निर्माता ।
मलाई चोर औँलो देखाएर जिस्काउँदै
बाटोमा दगुर्ने साना नानीहरू
मेरा पछि लस्करै आउँदै गरेकाहरू
फटाफट पाइला चलाइरहेका छन् ।
मैले बनाएका धारोहरूमा
तिर्खा मेट्दै हिड्नेहरू, गन्तव्य हेरिरहेछन् ।
म निर्माता, भोकाएको र तिर्खाएको जान पनि सक्तिन ।
एक बूँद पानी दिने फुर्सद कसैले देखाउन सकेनन् ।
पानी बोकेर हिड्नेहरू सुरूसुरू हिँडिरहेछन् ।
ती मलाई देख्दैनन्,
सायद मेरो याचना कसैलाई थाहा भएन क्यारे ?
जीवन यतै कतै अल्भिmएको छ ।
महासागरभित्र डुबुल्की मार्न उद्यत, शीतको सानो विन्दु,
कहाँ पर्छ ? कहाँ खस्छ ? र कहाँ हराउछ ?
आवृत्त आकाङ्क्षा, अनावृत्त तृप्ति
अन्धकारको म यात्री थाहा छैन
अबको मेरो आफ्नै बाटो, सम्झेर पनि हिँड्न सक्तिन्
हिजो आफैँले बनाएको बाटो
आज अन्धकारको यात्री
अन्धकारमा नै हराइरहेको छु र यसैमा बिलाइरहेको छु ।

- कपन-३, काठमाडौं

Related Poems


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:847
Tagged , , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.



Leave a Reply