Bishnu Bibhu Ghimire – Kathai Mero Man

विष्णुविभु घिमिरे – कठै! मेरो मन
(Source: Himal Khabar)

तुलसा तिमीले एकदिन भन्यौ
मन त हावा हो, सर
मनको भर पर्नुहुँदैन
यो त के के माग्छ- के के
यसले मागेजति दिने हो भने
… सबै सिमाना नाँघिन्छ

गीता तिमीले एक दिन भन्यौ
मन र शरीरको सन्तुलन मिलाउनुपर्छ
मनको उमेर हुँदैन, हजुर
त्यसैले शरीरको उमेरसँगै
उसलाई लतार्दै, घिसार्दै हिँडाउनुपर्छ
मन त अथाह सागर हो
उसकै अनुसार हिँड्ने हो भने डुबिन्छ
मन त अनन्त आकाश हो
उसकै अनुसार विचरण गर्ने हो भने हराइन्छ

राधिका तिमीले एकदिन भन्यौ
सबैभन्दा आफ्नो त
आफ्नै मन हो
त्यसलाई राम्ररी लालनपालन गर्नुपर्छ
राम्ररी हुर्काउनु र बढाउनुपर्छ
नत्र मन-कुपोषणको सिकार हुन्छ
र, सधैँ रुञ्चे रोगले कुण्ठित हुन्छ
व्यक्तित्व बलियो बनाउन
मन बलियो पार्नुपर्छ
टुहुरो मनले जीवनभर सताउँछ
बुझयौ तिमीले
मनले मागेपछि
… सबै सिमाना नाँघ्न सक्नुपर्छ

अहिलेसम्म मलाई थाहा छैन
यो मन भनेको के हो
खुम्च्याउने कि फैलाउने

यो त थाहा छ
प्रत्येक मानिससँगै आ-आफ्नै मन हुन्छ
आ-आफ्नै अनुहार र स्वभाव हुन्छ

तर खोई अहिलेसम्म
आफ्नो मनको कुरा के हो? थाहा भएन
कहिले पापले रोक्यो
कहिले धर्मले रोक्यो
कहिले संस्कार र संस्कृतिले रोक्यो
कहिले नैतिक र कहिले अनैतिक पहाड
उभिएर रोक्यो
कहिले जातपात, धनी, गरीब भनेर रोक्यो
कहिले देश आएर रोक्यो।

रोकिँदा रोकिँदा कायल
छेकिँदा छेकिँदा घायल
कठै! मेरो मन

Related Poems


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2196
Tagged , , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.



Leave a Reply