भूपिन ब्याकुल – प्रिय आँखाहरु
प्रतिक्षामा रातभरी अनिँदो रहेपछि
मैले थाह पाएँ
कति प्रिय छन् आँखाहरु सपनाको उपस्थितिमा !
मलाई मानिसका आँखाहरु मन पर्न थालेका छन्
आँखाभित्रको गहिराइमा
छद्म सपनाको अराजक नृत्यहरु मन पर्न थालेको छन्
तहतह थुप्रिएका
जीवनका प्रोफाइलहरु
रहरैरहरका अमूर्त आकर्बिम्बहरु
जिजीविषाका बिद्रोही गीतहरु
र मृत्युका मुलायम ध्वनिहरु मन पर्न थालेको छन् !
सपनाहरु त
सबैभन्दा छोटा उत्सवहरु हुन् जीवनका
अरुलाई गलत लाग्नुसँग
यिनीहरुको कुनै साइनो छैन
जस्तो कि मेरी प्रेयसी
म मेरै ओछ्यानबाट बिलुप्त भएर रातहरुमा
तिम्रो कोठामा पुग्छु
कुनै जादुई कथाको राजकुमारझैं
जहाँ तिमी लोग्नेको प्रेमपूर्ण विलय खोजिरहेकी हुन्छौ !
सपनाहरुको मलामी गएर फर्केको साँझ
यस्तो लाग्छ
जीवनले मलाई बिदाईको अन्तिम चिठ्ठी दिएको छ
कति प्रिय छन् आँखाहरु सपनाको उपस्थितिमा !
मेरी प्रेयसी
मलाई तिम्रा आँखाहरु
बिनाकारण कहाँ मन परेका हुन् र ?
ठूलाठूला बदामे भएकाले
वा सुन्दर सेक्स-अपिलहरु भएकाले मात्र
कहाँ मन परेका हुन् र ?
मलाई तिम्रा आँखाहरु मन पर्छन्
किनकि त्यहाँ सपनाहरुको मौन लस्कर छ
असंख्यअसंख्य सपनाहरुको भीडमा
अझैसम्म मेरो प्रतिक्षाको पनि एउटा सपना छ
मलाई तिम्रा आँखाहरु
त्यसै त्यसै कहाँ मन परेका हुन् र ?
तिमीलाई थाह छँदै छ नि
म स्वप्नजीवी मानिस हुँ
रातभरि सपना देखेर दिनभरि बाँच्ने
दिनभरि बाँचेर रातभरि सपना देख्ने !
कति प्रिय छन् आँखाहरु सपनाको उपस्थितिमा !
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.