फणीन्द्रराज खेताला – मेरो यो महानगर
अप्राप्य सुखको कल्पनामा
निसास्सिने कल्पना बोकेर
हरित्गृहभित्र
ध्वनि, धुवाँ र धूलोसँग
होली खेल्दै
हिँडिरहेको छु म
आफ्नै महानगरको–
राजमार्गमा
हो, यो मेरो महानगर
भानुभक्तको अमरावति
मेरो जन्मथलो
काल्पनिक–
हराभरा र स्वच्छ नगर
महानगर कान्तिपुर
कोलाहलकोबीच
भाषण बाजी हुन्छ
धाक धक्कु फुल्छ
रातारात सिमेन्ट कङ्क्रीटको
नयाँ जञ्जाल उम्रन्छ
साँस्कृतिक धरोहर ढाकिन्छ
यो महानगर
जहाँ काल भैरव निदाएका छन्
महाँकाल निसास्सिएका छन्,
भोलेबाबा पशुपति
शुद्ध जलको अपक्षाा राख्दै
बागमती किनारमा तपस्यारत छन् ।
घण्टाघर रुन्छ
धरहरा चित्कार्छ
उपहासमा बाँचेको
वसन्तपुर
आफैँ आफैँ निसासिन्छ
अनि
हनुमान ढोका–धरोहर प्रतापमल्लको,
पाटन दरवार
पचपन्न झ्याले दरवार
अतीत सम्झी
आँसु झार्छन् ।
रोक्ने छेक्ने कसको ?
सार्वभौम जनता हामी–
कर्तव्य होइन
आज अधिकार बराबर
कानुनी पुस्तकले दिएका
खोस्ने कसले ?
छेक्ने थुन्ने कसले ?
बाटो फोहोर भएर के भो ?
कल्पनामा त
सफा–सुग्घर, हराभरा
हङकङ वा सिङ्गापुरको छ
तर
मेरो यो कान्तिपुर– राजधानी
मुटु देशको
धड्कन राष्ट्रको
विभिन्न युगका
विभिन्न कर्मठ कालिगढले
निर्माण गरेको साँस्कृतिक धरोहर
कुपोषित रोगीझैं
जीर्ण हुँदैछ
फोहोर र प्रदूषित
धूलो र धूवाँले–
यसको कायामा
क्यान्सर प्रवेश गराउँदैछ ।
यो महानगर–
काष्ठमण्डप
सेरो फेरो यसको परिधि
दिनमा सूर्य हेर्न
आँखा च्यात्नु पर्छ
सास फेर्न
नाकमा बूजो कोच्नु पर्छ,
यसका हर्ता कर्ता र भाग्य विधाता
जनप्रतिनिधि
विदेश भ्रमणमा मस्त
कर्मचारी आफैँमा अस्तव्यस्त
छाडा साँढे रे
लुते कुकुरको जमातले
ढाकेको
मेरो यो नगर
महानगर !
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.