Bhupin Byakul – Ishwar Haru Ko Yuddha

भूपिन ब्याकुल – ईश्वरहरुको युद्ध

इतिहासमा कुनै एकदिन
रक्सि पिएर मातेको सूर्य
अन्तिम पटक उदाउनेछ क्षितिजमा
र धरमाराउँदै हिंड्नेछ
आकाशको गोरेटोमा पूर्ववत्

त्यस दिन पृथ्वीमा
मान्छेभित्र सपनाका ज्वालामुखीहरू
सम्भवत: अन्तिमपटक फुट्नेछन्
त्यस दिन पृथ्वीमा
मान्छेभित्र महत्वाकांक्षाका भूकम्पहरू
सम्भवत: अन्तिमपटक बिउँझनेछन्
र साँझसम्ममा
मन्दिर, मस्जिद, गिर्जा र गुम्बाबाट
इश्वरका आवाजहरु हाराएर जानेछन !

कालो रातभरि
कुमारी हातले लालटिन समाएर
कुनै बैंशालु जून उदाउनेछैन आकाशमा
र स्वयम् पृथ्वी नै छिर्नेछ
ब्ल्याकहोलको खुला ढोकाभित्र !

भोलिपल्ट बिहान
गोली लागेको सूर्य उदाउन सक्नेछैन
आकाशको किनारमा कतै पनि !

महाप्रलयको त्यस दिन
पृथ्वीमा इश्वरको युद्धसुरु हुनेछ

त्यही दिन
सम्पूर्ण मन्दिरहरु, मस्जिदहरू, गिर्जाहरु र गुम्बाहरु
युद्धशिविरमा रुपान्तरित हुनेछन्
र जहाँबाट
हातमा आत्याधुनिक हतियारहरु बोकेर
स्वयम् जिजस, अल्लाह र कृष्णहरुले
अन्धाधुन्ध गोली चलाइरहेका हुनेछन !

इश्वर्हरुले
आफ्नो अस्तित्वका निम्ति
हाम्रा घरहरु भत्काइरहेका हुनेछन
हाम्रा कटेराहरु जलाइरहेका हुनेछन
र हामीबाट
हाम्रो माटो खोसिरहेका हुनेछन्

त्यस दिन हामीले
ईश्वरहरुका मनभित्र
पापका महासागर बगेको देख्नेछौँ
र त्यही
क्रुर-प्रतिच्छायाहरु चल्मलाएको देख्नेछौं
र त्यही दिन हामीभित्र
अप्रत्याशित, ईश्वरीय बिस्वास
लास परेको हुने छ … … … !

ईश्वरहरुको युद्धमा
स्वभाविक
ईश्वरहरु मरिरहेका हुनेछन्
तर अस्वाभाविक
मान्छेहरु बाँचिरहेका हुनेछन् :
इतिहासमा कतै नबाँचिएको
एउटा नुतन जिन्दगी … … …!

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1691
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply