Dharma Raj Aryal – Mofasalma Chharpasta Kavitaharu

धर्मराज अर्याल – मोफसलमा छरपस्ट कविताहरू
(मधुपर्क २०६६ मंसिर)

अचेल मोफसलतिर
मौलाएको छ कविताको खेती
कवि मनहरूले चेतनाको दियो बालेर
अन्धकार विरुद्ध लडिरहेका छन्
चराजस्तै उन्मुक्त भएर
कवि मनहरूले
गाउँघरमा बास बस्न थालेका छन्
कुनै सिमाना छैन भावनाको
कुनै अन्तिम गन्तव्य छैन चेतनाको
जीवनका आरोह अवरोहहरूमा
दुःख सुखको साथी बनेको छ कविता
भारी बिसाएजस्तै
यहाँ मन बिसाउने चौतारी हुन्छ
त्यहाँ विभिन्न रङका
छन्दभङ्ग उन्मुक्त कविताहरू
तँछाड मछाड गर्दै
मनका प्रदेशहरू चहार्छन्
गोठाला दाइ र
गोठाल्नी दिदीको घाँसेगीत
आफैँमा एउटा जीवन्त कविता हो
अचेल कविहरू
यस्तै कविता लेखिरहेछन् मोफसलमा
शहरका कंक्रिट बस्तीहरूमा नभेटिने
आत्मीयता र न्यानो मायामा
यहाँ कविताहरू लुटुपुटु गरिरहेका छन्
स्वार्थरहित
पवित्र मायाको खेती गर्छ मोफसल
यही मायाको डोरीमा बाँधिएर
कविहरू निरन्तर गरिरहेछन्
कविताको खेती ।
असारे भाकाको गीत गाएर
धान रोपाइँ गरे भर्खरै किसानहरूले
कोमल मनहरूले
खेतको आलीमा उभिएर
उन्मुक्त कविताहरू सुनाए
जीवन र जगत्का
सुख र दुःखका
अनगिन्ती कविताहरू
अझै छरपष्ट छन् मोफसलमा
आऊ र त्यसलाई
टपक्क टिप कवि मनहरू ।
गाउँ गाउँमा खेती हुँदैछ कविताको
आऊ गोडमेल गर
स्याहार, संहाल
किनकि मोफसल पनि नेपाल नै हो ।
तर
गणतन्त्र घोषित नेपालको राजधानीले
मोफसललाई अझै माया गर्न जानेन
कहिल्यै आफ्नो ठानेन
यौटै नेपालभित्र पनि
किन होला भिन्न दृष्टि ? भनेर
मोफसल गुनासो गरिरहेछ ।
मोफसलमा अचेल
कविताको उर्वर खेती हुँदैछ
सुखमा नमात्तिने
र दुःखमा नआत्तिने बानी भएको कारण
यहाँका मानिसहरूमा
एक प्रकारको सन्तुष्टिबोध देखिन्छ
अँध्यारो चिर्दै
अग्रगमनको लागि
राजमार्गहरू निर्माण गर्दै
वर्तमानलाई हत्केलामा सजाएर
सुन्दर भविष्यको खोजीमा
लम्किरहेको छ मोफसल निरन्तर ।
परजीवी हुन छाडेको
आफ्नै सीप र पौरखमा रमाउने
स्वाभिमानी नेपालीजस्तै
चेतनशीलहरूको बस्ती भएको छ
अचेल मोफसलको मेरो गाउँ
आली आलीमा
डाली डालीमा
मनका मयूरहरू नाचिरहेछन् यहाँ
वियोग र वेदना
अनि हर्ष र विस्मातका कुरा
जीवनचक्र समान भएका छन् ।
कतार, मलेसिया र साउदी अरबका
निराश निराश चिठ्ठीहरू पढेर
वृद्ध बाआमाका अनुहारहरू
औंसीको रातझैं अँध्यारो हुन्छन् जब
त्यतिबेला
परदेशिएकालाई घर र्फकन आग्रह गर्दै
कविहरूको एक जमात
निरन्तर पेचिला कविताहरू
लेखिरहेछन्, संप्रेषित गरिरहेछन् ।
अभाव र मानवीय पीडाका
यावत कथा-व्यथाहरूबीच पनि
मेरो गाउँ
सूर्योदयको घामझैं मुसुक्क हाँसिरहेछ
हिलोमा कमल फूलेको कुरा
मेरो गाउँले राम्रोसँग बुझेको छ
त्यसैले मोफसललाई नहेप
ऊ विस्तारै विस्तारै शहरतिर आइरहेको छ ।

- भरतपुर १०, चितवन

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1902
Tagged , , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply