टंक सुब्बा – छातीमा दौडिएका यो मन
अनियन्त्रित सोंचाइहरुको कोलाहलमा
एकरास तीव्र आकांक्षाहरु बोकेर
लामो यात्रा पार गर्दा
लखतरान भएको यो छाती
सुस्ताएको हुन्छ वेस्सरी
समयको पन्यालो परिसरभित्र
इच्छाहरुको पवित्र मफलर भिरेर
नित्य सल्बलाइरहन्छ यो मन
अब कसरी प्रस्तुत गरौं
अभिव्यक्तिमा
जहा आत्मामा छचल्किएर आउछन् अनेकौं मोडहरु
अब कसरी पल्टाउ जिन्दगीको किताब
जहा पाना पल्टाउदै अतीत बनेर जान्छन् सुनौला क्षणहरु
अब कसरी चालौं यात्राहरु
जहा जति बढ्यो उति अनन्त हुन्छन् गोरटोहरु
त्यसैले अलिकति विश्वासमा
बाधी राखौं भन्छु भावनालाई
तर पल-पल मै साटिन्छन् चाहनाहरु
क्षण-क्षण मै बदलिन्छन् सपनाहरु
तैपनि उघ्रिहाल्छ कि समयको ढोका भनेर
प्रतीक्षामा प्रचूर आशाले
थप उत्साह पालेर
गुज्रदै गएका दिनहरुसंग
संग्राम गरिरहन्छ व्यर्थै यो मन
विपनीमा चलाएका जति पनि कदमहरु
अवरुद्घ हुदा
प्रायश्चितले पिरोलिन्छन् मुटुहरु
र आवेशमा
भावशून्य भएर सोच्छु
नहुत्तिएर चुपचाप उभिदिए हुन्थ्यो आस्थाहरु
हिमाल झैं निश्चल
तर बगिरहन्छ समय परिवर्तनको नदीमा
त्यसैले प्रत्येक बिहानीको आगमनसंगै
असीमित इरादा अंगालेर
हरदम छातीबाट दौडिएर संसार रिङ्छ यो मन ।
यथास्थितिको परिधि नाघेर चल्बलाइरहन्छ यो मन
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.