Tanka Subba – Jiunu Ko Anekaun Chhal Haru

टंक सुब्बा – जिउनुको अनेकौं छालहरु

छाल उपछालहरु
केन्द्रित हुदै
समुद्रको भीषण छालसरी छचल्किने
जिउनुको अनेकौं छालहरु
किनारासम्म नपुग्दै जिन्दगीको
किनारासम्म नछुदै भावनाको
दुर्घटनामा फस्छन् सग्ला विचारहरु
तर पनि दिनखोज्छु आकृति
पोतेर रङ्गहरुले यथार्थका सपनाहरु
खोज्छु अलग्याउन
वास्तविकताको धरातलमाथि
अस्तित्वका हिमालहरु
तर अनायस
परिस्थितिका काला ज्वारहरुले
भत्किन पुग्छन् आस्थाका बलिया बाधहरु
अनि तुहिन पुग्छन् जीवित भैसकेका सपनाहरु
जसको असीम वेदनाले
छट्पटाएर जिन्दगीको दोसाधमा
दोस्न पुग्छु निर्दोष उही भाग्यहरु
छाम्न पुग्छु निर्दोष उही पुर्पुरोहरु
चिथोर्न पुग्छु पुराना उही घाउहरु
तर जेनतेन जिउनु पर्ने जीवन
कुल्चदैं आखा चिम्लेर ती तीता अतीतहरु
खोज्न थाल्छु उत्साहका क्षणहरु
रोज्न थाल्छु नया-नया दिनहरु
जीवन जीवन जस्तै उभिदिओस् भनेर
थप्न थाल्छु पर्खाल अठोटको
बित्दै जाने समयको छातीलाई सुम्सुम्याएर
तर यहा
छैन रहेछ सहज
ओढ्नलाई सफलताका पछ्यौरीहरु
बरु रहेछन् होडबाजीहरु
जिउनुमा
त्यसैले
खोज्छु हरदिन
फराकिला गोरेटोहरु
भेटिदैनन् अकस्मात छाएको अध्यारोले
आवेशले नाघ्न खोज्छु बाधाका पहाडहरु
तै पनि उभिदिन्छु तूफानहरुको पृष्ठभूमिमा
सहदै जोखिम आधीहरु
कोरिंदा रहेछन् त्यहा पनि
कर्तव्यका रेखा छातीभरि
सल्बलाउदा रहेछन् त्यहा पनि
एक डंगुर मृगतृष्णा मनस्पटलभरी
छचल्किदा रहेछन् त्यहा पनि
छाल उपछाल हुदै
जिउनुका अनेकौं छालहरु
समुद्रको भीषण छालसरी

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1788
Tagged , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply