Seema Abhash – Sapana Ma

सीमा आभास – सपनामा

सपनामा
मध्यरातमै ब्यूँझिएँ आफ्नै ओछ्यानमा ।
पात झरेको तर पाउलीन नपाएको
देखेँ, रूखजस्तो सपना ।

मेटिएपछि सौभाग्य कोर्ने सिउँदो पछ्याउँदै
बाटो बिराएको बटुवाका पदचाप
बजिरह्यो विरही धुनमा बाँसुरी
उठेपछि छातीबाट ज्वारभाटा
रुँरुँ लाग्ने धुनले रातभरि
फेररिह्यो आँखामा कोल्टो ।

सपनामा
घाम पछ्याउँदै खोलाको तीरैतीर
जून उकालो लागिरहेको बेला
अड्काएर खोला अञ्जुलीमा
नुहाइरहेथ्यो जोगीले यौवन ।

सुईसुई सुस्केरा दिँदै चियाबारीको थुम्कोबाट
सुन्तलाबजारतिर दौडिरहेका
युवकयुवतीमाथि ओछ्याएर छायाँ
गुँइइय गर्दै डाँडो काट्दै थियो हवाईजहाज ।

त्यसैबेला
हरायो लाहुरेको कहानी गाउने सारंगीको तार
हराए भरयिा र रोदी गाउने ठिटी
चिसिएपछि शीतलहरले
कोक्रो बिसाएर बारीको डिलमा
बाँझो बारी खनेथे सुत्केरीहरूले
नाम्लो बाँधेर कम्मरमा
काम खोज्न घर टाढा जाँदै थिए तन्नेरी ।

विदेशिएका छोराछोरीको तस्बिर
राखेर बैठक कोठामा
उनीहरूको जन्मदिनको दियो बाल्ने आमाबुबा
अबेलासम्म जून हिँडेर मेटिएको ।

अन्दाज लगाउँदै गोरेटोको
तिनै छोराछोरी खेल्ने र उफ्रने बार्दलीमा बसेर
गर्थे मुखामुख
पोकापोकी पारेर जिन्दगी फिरन्ते बिहानी चरो
फिरफिरेका पातमा संगीत खोज्दै जीवनको
चुँडेर आफ्नै प्वाँख खोलाकिनारमा
गीत गाउँदै थियो ढुंगा ब्यूँझने गरी ।

त्यहीबेला हिउँले ढाकिएको गोठमा
ताप्दै आगो
टक्य्राकटुक्रुक बसेका किसान बूढाबूढी
पल्याकपुलुक हेर्दै यताउति ठोसिरहेथे आगो ।

Number of Views for this Poem:2904
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.
Add Comment Register



Leave a Reply