कलानिधि दाहाल – प्रजातन्त्रको प्रमिथस हो ऊ
पूर्वी दिशाको प्रणयपताका
बोकी, फैली फरफर फर्फर !
हृयूँचुली पग्ली र्झन सिपालु
चेतनाताका झरना झर्झर !
पश्चिम उड्ने प्वाँख सजाई
नाग्बेलीका घुम्तीहरूमा !
सजल सजेको मानवताको
बत्ती बलेको एक कलामा !
कल्पतरुझैँ कलरवधुनमा
कल्पनाका चञ्चु उघारी !
फैली शाखा शाश्वत युगका
भाका खोल्ने जलको झारी !
पोथ्रा सिञ्ची वागहरूमा
फक्री गुलाफी पत्र हजार !
प्रजातन्त्रको बत्ती बलेको
हेर्न उजेलो सब संसार
आर्तहरूका आँचल पक्री
मलम लगाई हिँड्न तयार
कलियुगको ऊ मानव बत्ती
नवभाकाको उच्च निधार
टललल टल्क्यो झलल झल्क्यो
उद्बोधनको विद्युत् तार
तरङ्गहरूमा तैरीतैरी
भवको खिच्दै भावुक सार
सललल सङ्लो दिलको खोली
तनको छोप्यो तातो धार
चेतनाताका ज्वार उफारी
सागर छल्क्यो छलछलछल्
बालु किनारा भित्र उमार्यो
अक्षरहरूका बिरुवा कोमल
बिरुवावयमा कतिकति फक्रे
रागसुवासी सुन्दर सार
यमुना किनारा टुकुटुकु दौड्यो
प्रणयलताका पक्री धार
शाहजाहँको सुन्दर खोपी
ज्वरशमनाको खोली द्वार
यसजगमा ऊ तप्क्यो तपतप
शीत सजाई, बाजु बजाई
गौरवगहमा लाई धाप
ताप बलेको अनलाग्निमा
हिमचुलीको ऊ एक धरोहर
तपतप पग्ली थपथप अग्ली
गगन छोई चुक्छ सरोहर
पग्ली पुग्दछ झोपडी चुम्न
फैली सवेरै झिल्का छर्न
प्रमिथसको ऊ दिव्य मुटु हो
एक्लै हिँड्दछ पीडा हर्न
अक्षर वनका कल्पतरुमा
मानवताका शाखालाई
दिव्य दयाका लहर लताका
धर्तीबाटै क्षितिज सजाई
किरणप्रभाका साथ ऊ ओर्ली
तिरमिर तारा फैलिरहेछ
फैलिफैली जनका मनमा
हिमचुलीजस्तै अग्लीरहेछ
अग्लीअग्ली भरना बन्दै
इन्द्रेनीमा पग्लीरहेछ
प्रजातन्त्रको प्रमिथस हो ऊ
अमरपताका फैलिरहेछ
भावहरूका दिलदिल भाका
सिमसिम झरीझैँ तैरिरहेछ
-ओखलढुङ्गा, बिगुटार
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.