Keshav Acharya – Akshar Ma Uni

केशव आचार्य – अक्षरमा उनी

उनको रूप रङले
मोहित भएको होइन म
उनको वैँसमा पनि
आकर्षित भएको होइन म
तर उनले मलाई
मोहनी लगाएकी हुन्
मेरो जिन्दगीमा
उनी सुगन्धित फूल भएर मगमगाएकी छन्।

उनी मेरी जननी होइनन्
छोरी पनि होइनन्
प्रेमिका होइनन्
पत्‍नी पनि होइनन्
अर्थात्
उनी मेरो कुनै साइनो, सम्बन्धभित्र नै छैनन्
तथापि
मेरो आराधनामा उनै छिन्।
मेरो साधनामा उनै छिन्।।

हरपल हरक्षण
मेरो मन मस्तिष्कमा
उनी घुमिरहन्छिन्
सपनामा पनि
सुटुक्क आएर
मलाई चुमिरहन्छिन्।
मैले उनलाई
मेरो जीवनको
आरोह – अवरोह बताए पनि हुन्छ
नबताए पनि हुन्छ
उनीप्रतिको मेरो सम्पूर्ण समर्पण
जताए पनि हुन्छ
नजताए पनि हुन्छ।
उनलाई बोलीमा मह घोलेर
फकाए पनि केही फरक छैन
बिना आक्रोस ओकलेर
यता सार्दै उता सार्दै
सताए पनि केही फरक छैन
यद्यपि
मेरो सृजनाकी मूल उनै हुन्
मनमन्दिर चढाउने फूल उनै हुन्
उनलाई मैले
भावनाको रङहरूमा रङ्गाएर
घाम बनाए पनि ठीकै छ
जून बनाए पनि ठीकै छ
फलाम बनाए पनि ठीकै छ
सुन बनाए पनि ठीकै छ।
गीत गजलहरूमा घोलेर
मीठा सङ्गीतको धुन बनाए पनि ठीकै छ
उनी उज्यालो भएर
मेरो जीवनमा पोखिन्छिन् उसै गरी।
एउटा अनुपम दृश्य भएर
मेरो आँखामा ठोकिन्छिन् उसै गरी।

उनको आवेग नै
मुस्कान पो हो कि ?
उनको संवेग नै
मौनता हो कि ?
जति  बुझ्न खोज्यो
त्यति नै नबुझिने जस्ती
तर जीवनलाई
सुन्दर र सार्थक बनाउन
जीवनभरी नै उनी मलाई चाहिनेजस्ती
त्यसैले त होला-
मेरो जीवनको हरेक बिहान
उनीबाटै सुरु हुन्छ

हरेक साँझ
उनीमै पुगेर बिलीन हुन्छ
उनको परिचय खुलेकै छ
र पनि म चिन्दिनँ
तर उनलाई म
चिनिनँ पनि भन्दिनँ
मेरो अध्ययन कक्षमा
सजाइएकी
उनी मेरी जीजिविषा हुन्
अर्थात्
उनी मेरी मोनालिसा हुन्।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1385
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply