आशा राई – म एउटा सोझो हली
म मेरो नामबाट कहाँ चिनिन्छु र ?
सादर भाब राखी मलाई को बाट बोलाइन्छ र ?
हात मुख जोर्न खर्चिन्छु पसिना म,
रात दिनै अर्काकै धर्तीमा..
जति दु:ख गरेनि मन खुशी पार्न गार्हो छ साहुको,
धनको धनी भएपनि म त साँचै गरीब छ उनको..
काम चाँही देख्दैनन्, दाममा भने आँखा गाँढेकै छ..
उस्तै हिजो थियो कम्लहरिको कथा,
आज पनि त्यस्तै दासीको ब्यथा सल्बलाइरहेकै छ..
समाज हुर्किरहेकै छ शोषित बर्गबाट,
जसरी तसरी गरीब निमुखाहरुलाई,
खुट्टा मुनि राख्ने चलन अझै पनि जारी नै छ।
लम्किन्छु हलो,जुवा र हँसियाका साथ बिहानी घामसगैँ,
र पाथी बोकी फर्किन्छु खरको छानामा,
जुनको उज्यालोसगैं भोलिको आशामा..
जहान बच्चा पर्खि बस्छन मलाई,
मुख ताकी बस्छन मेरो,पेटको भारी बिसाउनलाई..
म नहुँदो हो त, त्यो माटोको अगेना पनि
सुनसान भैइ टोलाइरहन्थ्यो होला..
अरु त त्यस्तै भयो,
भोकको तिर्सना पनि पानीले मेटाउदैं
निदरीको काखमा गुटुमुटु हुन नि धौ-धौ पर्थ्यो होला..
सुनेको छु,देखेको छु मैले पनि संसार,
मानिसहरु भब्य बंगलाहरुमा,
ती बिलासीताका बस्तुहरुसँग रमाइरहेका छन..
आफुलाई हेर्यौ यतै प्वाल्,उतै प्वाल,
बर्षामा पानी चुहिएर ठाउँ ठाउँमा
कुचिएका भाँडा थाप्नुपर्ने..
जाडोहरुमा ती कठोर शितहरुसगँ,
न्यानो कपडाहरु बिना काँपिरहनु पर्ने..
अरु बच्चाहरु कापी कलम च्यापी स्कुल जाँदै गर्दा,
कठै! मेरो नानीहरु त्यो भत्केको आँगनको डिलमा बस्दै
टुलुटुलु ओझेल नपरुन्जेल हेरिरहन्छन..
ति अबोध र निर्दोष बालपनलाई
मैले चाहेर नि सिङार्न नसक्दा,
मेरो मन त्यसै त्यसै भक्कानिन्छ..
गर्न सम्म दु:ख गरेकै छु, घाम्, पानी, जाडो केही नभनि
न चोरेको छु, न त कसैलाई ढाँटेर बाँचेको छु..
दिन प्रतिदिनको कथा उस्तै, ब्यथा त्यस्तै
दुई छाक टार्न पनि मलाई यस्तो पिर,
गर्न सक्दिन म पुरा यिनका आधारभुत आवश्यकताहरु..
म सोच्न वाध्य छु अहिले,
मैले थानेको थिएँ, यिनिहरु मै मेरो सामर्थ्य हुन..
तर मैले कसरी भुले मेरो कटु सत्य?
म एउटा मात्र बिबश हली..
जो बन्चित छ, समानताको आवाजहरुबाट
जो लुटिएको छ, आफ्नै जिन्दगी, सपना र रहरहरुबाट
जो कोसौ टाढा छ, सुख, शान्ती र सुनौलो भबिष्यबाट
जो गरिबिको रेखामुनि जिबन गुजारिरहेको छ..
जो सामन्तीहरुको थिचोमिचोमै पिल्सिरहनु परेको छ..
जो पसिनाको खोला बगाइ एक पाथी चामलकै निम्ती,
सारा जिबन ओझेलमा पार्नु परेकै छ..
र म बाँचिरहन्छु उस्तै गरी अनि मेरा सन्तानहरुले
मेरै बिडोँ नथामी कहाँ सुख पायो र ?
त्यही बाँच्नु र बचाउनुको पिडामा त अड्किरहनु परेको छ..
परिवर्तनका ढोकाहरु हाम्रो पहुँचमा कहाँ पुग्नु?
अझै आफ्नो पहिचान गुमाउनु छदैँछ..
उज्यालो गोरेटाहरुको सिर्जना कसरी गर्नु ?
म कालो अक्षर भैंसी बराबर जस्तै छु..
नियम कानुनका किताबहरु मलाई के थाहा?
त्यो एकमुठी सास धान्नमा नै म ब्यस्त हुनुपरेको छ..
जिबनस्तर उकास्ने बिभिन्न सैदान्तिक र व्याबहारिक
तरिकाहरुले मलाई कसरी छुन्छ र?
म केबल अरुको सुन्नु र आदेश मान्नुमा नै
कर्तब्यनिष्ठ ठहर्नु परेको छ..
अनि भनन मेरा अनन्त बिरह र बिलौनाहरु सुन्ने कसले?
जो अरुको निम्ती आजको एक्काइसौँ शताब्दीमा,
मात्र एउटा अनपढ, पाखे, झुत्रे गाउँलेको रुपमा चिनेको छ..
त्यसैले म सधैं झै ती निराशाका बादलहरुमा रुम्मलिदैँ,
कहिले चाहेर जिबन बाँच्न चाहन्छु..
र कहिले नचाहेर पनि हाँस्न चाहन्छु..
त्यही खेतका डल्लाहरुसँग..
त्यही हँसिया र कुटो कोदालो हरुसँग..
त्यही गाइगोरुका अपरिचित भाषाहरुसँग..
त्यही एकपाथी चामल पाउने आशासँग..
त्यही परिवारको खाँचो टार्ने सानो सपनासँग..
हो, म एउटा बिल्कुल सोझो हली ।।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.