शरद निरोला – हामीले भगवान श्रीकृष्ण भएर जानुपर्छ
अस्वीकृत मान्यताहरुको मापदण्डमा खारिएर
अविवेकी अवमूल्यनमा पछारिएका
श्रस्टा र संरचनाको चक्रब्यूहमा फँसेर
भीष्म-पीतामहको जनै भिरेका
हाम्रा यी नेताहरुले
मेरो देश बेपत्ता पार्न लागिसके
विवशता र केही गर्नै नसकिने बाध्यताको वशीभूत
केवल रगतको घुट्का पिउनु बाहेक
अन्य कुनै विकल्प छैन |
विदेशमा छु, विदेशको अन्न-बजारमा
अन्न-मूल किन्न जान्छु
चामलको राजा बास्मतीमा
उसीना चामलको स्वाद पाउँछु
लटरम्म हरिया धनियाँका पातहरुमा
“ओर्गानिक ” लेखेको देख्दा
कान्तिपुरको ज्यापूलाई सम्झन्छु
कहाँ गयो त्यो काठमान्डौको कल्कलाउँदो काउली भनी
क्यालिफोर्नियाले निकासी गरेको
हाड जस्तो काउलीलाई टोक्तछु
हरे मेरो देश !
म ता खानै नपाएर मर्न लागें भनी
निस्सासिएर कल्पिन्छु
मनै भरङ्ग भएर
चौन्सुर र पालुंग सम्झिन्छु
जब सम्म विदेशमा हुन्छु
हृदयको अन्तरकुन्तरमा
मेरो देशको झझल्को देख्छु |
अनि ता के गर्नु ठाकुरे !
जय बम भोले भनी
बिरक्तिरुपी चिलिमबाट
फोक्सो सम्मै पुग्ने गरी
स्वाट्ट एक सर्को तान्दछु
एक सर्को तन्काए पछि
यो गिदीले ठोक्नुसम्म फाडदोल ठोक्छ
झल्याँस्स पशुपतिको बाबाजीलाई सम्झन्छु
हे मारे सट्टा भागे भूत
बोक्सी-दैनीका आँखा फूट
बम बम लगाओ दम
कभी नहीं होगा कम भन्दै
धुवाँको संसारमा रुमलिन्छु
तर अपसोच !
आफ्नो देशलाई सम्झनु पनि अब ता बेकारै लाग्छ
अतिरन्जित स्वर्थीपनाले ग्वाम्लांग छोपेका
नेताहरुले
पदलोलुपताको मखमली सिरक ओढेर
देशको चीरहरण गरिरहँदा पनि
के महाभारतका विवश पांडूहरुले झैँ
हामीले क्वारक्वार्ती हेरिरहने?
हामीले स्वदेश फर्कने बन्दोबस्त
कुनै हालतमा मिलाउनै पर्छ
यताका सबै काम छाडेर
देशतिर कुलेलम ठोक्नै पर्छ
हाम्री आमाको चीर-हरण हुनबाट बचाउन
हामीले
भगवान श्रीकृष्ण भएर
भोलिनै जानु पर्छ
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.