Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 011 – Roi Aaunchha Re Asar Mahina

आए बादल गर्जिएर गिरिमा, लागे अँध्यारा दिन
छाया पर्दछ दूरबाट, छविको पाइन्न है दर्शन
कालो निष्ठुर यो असार, यसमै रोएर मेरी गइन्
यी खोला कसरी तरिन्, घनघटा उल्टी कसोरी गइन्

छाया बादलको परीकन थिए नीला पहाडी वन
माया भर्खर नै बसीकन थिए सानन्द हाम्रा दिन
त्यो बेला छिन मात्रको बिछुडले बन्थे जसै व्याकुल
निस्किन्थिन् गिरिकुञ्जबाट अनि ती टिप्दै असारे फुल

ऐलेको निठुरी असार महिना पानी परेको कति
दर्कन्छन् जलधार आज जति नै थर्कन्छ छाती उति
पन्छीको गुँड भत्किएर रुखमा भिज्दो छ पानीमहाँ
एक्ले ढुक्कुर एकलै विरहमा होला बसेको कहाँ !

हावाका सँग हर्हराइ कुहिरो दौडन्छ पहाडमा
आउन्नन् परदेशिनी प्रियतमा फर्केर आषाढमा
छाया तर्छ नदीकिनार उनको, आफु कहाँ छन् उनी
डाँडापार नुहेर जा, खबर क्यै सोधेर आ, इन्द्रिनी !

रुन्छन् भ्याउँकिरी रुलाइ वनमा आषाढका यी दिन
छाया आज दगुर्छ यो कुन दिशा ओसारि मेरै मन
काला बादल झोलिएर गिरिमा बर्सीरहेछन् यहाँ
रोइ रोइ बगाइ गाजल उनी होलिन् बसेकी कहाँ

वर्षाको निशिमा झमाझम झरी झम्केर जो आउँछ
लाखौँ शब्द सुसाइ एक सुरमा संसार जो गाउँछ
यो बेला बिउँझी विलाप दिलमा लाखौँ अलापूँ कि म
आफैँभित्र डुबाइ स्वर्ग धरती सारा, निदाऊँ कि म

निस्की बादलका किनारहरूमा क्यै बेर रानी ! बस
हेर्दै पर्वत खेत र्चार हरिया, नौला नयाँ मानिस
टाढैबाट झुकेर इन्द्रधनुमा धर्ती तिमी भैटिद्यौ
खोलाको जल यो पिएर दिलको धोको तिमी मेटिद्यौ

च्याती बादल हेर्छ राति भुइँमा बर्सातको चाँदनी
धोएको वनफुल तुल्य कहिले देखिन्छ तारा पनि
यस्तै विस्मयको कुनै समयमा निस्केर आऊ तिमी
तिम्रो मृत्यु हुँदै भएन कहिल्यै झैँ मुस्कुराऊ तिमी

डुब्छिन् सुन्दर इन्द्रिनी पनि जहाँ पानी परी लेकमा
सल्लाको वन यो सुसाउँछ त्यहाँ एक्लै बसी शोकमा
सम्झी रुन्छु म जो हिजो भरखरै माया बसेका दिन
हामी छौँ त्यति नै अनित्य, जति नै छ यो जीवन

यौटा फुल सधैँ वसन्त श्रृतुको वैली यहाँ झर्छ रे
रोई आउँछ रे असार महिना आँसू यहाँ पर्छ रे
रो रो बादल हे ! डुलेर दुनियाँ एक्लै निरुद्देश्यमा
भोली जानुछ शुभ्र शान्त हलुका भै शून्यको देशमा !

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:8781
Tagged , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply