Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 009 – Mera Rokiye Aanshu

मेरा रोकिये आँसु भल्भल त्यसै ए बग्दछौ के भनी
मैले रोइनँ आजसम्म अरुको यै मृत्यु सुन्दा पनि
मायाकी प्रतिमा ! तिमी हृदयमा मेरो गडेकी थियौ
पारी घायल चित्त, घाउ गहिरो, एक्कासि नै उप्कियौ

सम्झायो जति चित्त दुख्छ उति नै सम्झाइ के गर्दछौ
मेरो जो हुनु भैसक्यो अब दया देखाइ के गर्दछौ
केही भन्नु मलाइ मित्र ! छ भने आएर रोऊ बरु
लागेको दिलभित्र घाउ छ भने सम्झेर जाऊ बरु

छातीमा कुन दूर देशतिरको आई बिलौना बस्यो
क्यै गर्ने मन छैन, खालि रुनको धोको मलाई बस्यो
कोठाभित्र लुकेर बस्छु– उनको छाया परेथ्यो यहीँ
छातीभित्र ढुकेर बस्छु– उनको माया बसेथ्यो यहीँ

एकान्तस्थलमा बसीकन सखीलाई म बोलाउँछु
आत्मा बस्छ कता–कतातिर गई, पत्ता म त्यो लाउँछु
फर्काईकन ल्याउनेछु म उनीलाई यहाँ क्वै दिन
फर्कन्थिन् कि उनी, शरीर उनको मैले जलाएँ किन !

यो सानो घरबार चार दिनको यो भेट छोटो थियो
हामी दम्पतीको परन्तु यसमै माया बसेको थियो
जो छाया पहिले पस्यो नजरमा खुर्केर खुर्किन्न त्यो
जो माया पहिले बस्यो हृदयमा बिर्सेर बिर्सिन्न त्यो

मैले सम्झनु के छ– आज सँगमा छैनन् उनी भन्नु छ
मैले बिर्सिनु के छ– चार दिनमै अर्कै बनेँ भन्नु छ
उल्टो काँण बिभ्mयो मलाइ दिलमा कल्ले निकालिदिने
कल्लाई भन सम्झियूँ यदि तिमीलाई नसम्भूmँ भने

जानेलाइ छ सुख्ख, आज उसका लेखा यहाँ के छ र
बस्नेलाइ छ पीर, रातदिन नै छन् सम्झना निष्ठुर
केही औषधि भैदिए भुलिदिने, रोएर प्यूने थिएँ
जानेलाइ म बिर्सिएर सुखले हाँसेर ज्यूने थिएँ

मान्छे हो ! किन हाँस्तछौ हृदयमा आँसू लुकाईकन
खोज्दैमा सुख, आशमा विरहमा गैजान्छ यो जीवन
यो माया कसलाइ अर्पनु त्यसै साँचेर के हुन्छ हे
साँच्चै भन्दछु– मर्नुपर्दछ भने बाँचेर के हुन्छ हे

तिम्रो दुर्दिनमा बसेर सँगमा को पुछ्छ आँसू यहाँ
तिम्रो नाम जपी समाधिगृहमा को बाल्छ बत्ती यहाँ
पोल्टो थाप्तछ को महामरणले फ्याँक्ता महाशून्यमा
तारा बत्ति कुरेर बस्छ कुन हे, यत्रो महामौनमा

छैनन् आज उनी म रुन्छु, नहुँला भोली म, मेरा रुनन्
पृथ्वी मर्दछ पर्सि यो, पिलपिले ताराहरु ती रुनन्
सारा निष्ठुर नाशको पछि यहाँ आएर को रुन्छ हे
नाशैलाइ छ सिर्जना सब भने रोएर के हुन्छ हे

फर्की क्वै पनि आउँदैन र सधैँ पर्खन्न कोही पनि
कालो आदि र अन्त ! खालि बिचमा झिल्का लिने जीवनी
एक्लै क्वै दिन निस्किएँ म त भने कोही नखोजून् यहाँ
एक्लै अल्पिनु सृष्टिको चलन रे, कोही नरोऊन् यहाँ

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:7502
Tagged , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply