Yubaraj Ghimire – Shyam Sharan Yatra Le Janmayeko Khaila Baila
युवराज घिमिरे – श्यामसरण यात्राले जन्माएको खैलाबैला
(Source: WeeklyNepal)
नेपालमा जारी राजनीतिक अन्योलको यो चरणलाई छिमेकी भारतले थप चासो, चिन्ता र गंभीरताका साथ लिएको देखिन्छ।
संभवतः त्यसैले नै उसले १२ बूँदेको रचनाकार, तत्कालिन भूमिगत माओवादी र अन्य दलहरू बीचका मध्यस्थकर्ता तथा नेपालको मधेश आन्दोलनका समर्थकका रुपमा चिनिएका श्याम सरणलाई भारतीय प्रधानमंत्री मनमोहन सिंहका विशेष दूतका रुपमा यहाँ पठाइएको हो।
झण्डै ७२ घण्टाको नेपाल बसाई र विभिन्न दल र पक्षका उच्च नेतृत्वका साथै प्रधानमन्त्री माधव नेपालसँग एक पल्ट र राष्ट्रपति रामवरण यादवसंग दुई पल्टको भेटघाटपछि उनी दिल्ली फर्किए। उनको ‘मिशन’ या ‘वि्रफ’ के थियो, त्यस बारे नेपालमा अनुमान मात्र गर्न सकिन्छ। तर श्याम सरण संवादमा प्रधानमन्त्री छनौटको तेस्रो चरणमा उपेन्द्र यादवको नेतृत्वको मधेशी जनाधिकार फोरमका ११ सांसदहरूले पार्टी नीति विपरीत एमाओवादीका अध्यक्ष प्रचण्डको पक्षमा मतदान गरेपछि नेपाल हानिएका थिए, यति हतारमा कि आफूलाई विशेष दूत बनाएर पठाएको घोषणा समेत उनले स्वयं आगमन पश्चात् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेका थिए। आएकै दिन राष्ट्रपति, प्रधानमन्त्री र सूर्यबहादुर थापासँग भेटी उनले चार मधेश दलका शिर्ष नेतृत्वलाई रात्रिभोजमा आमन्त्रण गरेका थिए। त्यसले उनको भ्रमणको तात्कालिक एजेण्डा र महत्व बारे केही स्पष्टता दिएको छ।
श्याम सरण नेपालमा राजदूत छँदा देखि नै तराई बारे उनले नयाँ नीति निर्माणमा जोड दिंदै आएका थिए। पछि विदेश सचिव भई दिल्ली पुगेपछि उनले त्यसलाई सहजताका साथ राष्ट्रिय नीतिको आयाम दिन सके। मधेश क्षेत्रमा औद्योगिक उत्पादन सुचारु रहोस् भन्ने आडमा त्यस क्षेत्रलाई उनी माओवादी प्रभाव शून्य बनाउन चाहन्थे भने अर्कोतिर त्यहाँ क्षेत्रीयवादको राजनीतिलाई प्रोत्साहित गरी काठमाडौंको विरोध र दिल्लीमाथिको निर्भरता उनीहरूको नियति बनोस् भन्ने लक्ष पनि थियो त्यो कदमको। त्यसैले भारतको हित विपरीत जान नचाहने र नसक्ने नेपाली काँग्रेस तथा एमाले जस्ता दलहरूलाई टुक्र्याएर तराई मधेश लोकतान्त्रिक पार्टी जन्माउने कसरथ भएको हो, यद्यपि त्यसको प्रतिक्रिया तात्कालिकरुपमा पनि भारत विरुद्ध गएको थियो तराई मै। खासगरी कथित माथिल्लो जातिको वर्चस्व भएको तमलोपा विरुद्ध उपेन्द्र यादवको नेतृत्वमा मधेशी जनाधिकार फोरमको जन्म र त्यसले संविधानसभा निर्वाचनमा तुलनात्मकरुपमा पाएको सफलताले त्यो सन्देश दिएको थियो। यादवको पार्टीबाट प्रचण्डले यस पल्ट पाएको समर्थन र रणनीतिकरुपमै भएपनि एमाओवादीसंगको उनको निकटतालाई वेवास्ता गर्न भारतले सकेको छैन। संभवतः सरणले प्रोत्साहित गरेको नीतिकै कारण चीनले मधेश नेपाल भित्रको अर्काे ‘वफर’ का रुपमा देखा परेको मान्यताका साथ आफ्नो दक्ष्ािणमा प्रभुत्व र उपस्थिति बढाउन थालेको हो। खासगरी राजतन्त्र गुमेपछि दीर्घकालीन शक्ति केन्द्र समाप्त भएको आंकलनकासाथ चीनले आफ्नो नेपाल नीतिमा परिवर्तन ल्याएको छ र अब नेपालमा भारतभन्दा बढी नभए पनि ऊ सरह नै आफ्नो चासो, प्रभुत्व र उपस्थिति हुनुपर्ने नीति तथा व्यवहार उसले अपनाउँदै आएको छ। सरणको यात्रा र त्यसका परिणामलाई स्वाभाविक रुपमा चीनले थप चासोका साथ हेर्ने छ।
के गरे त शरणले?
प्रजातान्त्रिक शक्तिहरू बीच समन्वय ल्याउन सफल भएको दावी संभवतः उनले गर्ने छन्। प्रजातान्त्रिक शक्तिमा एमाओवादी पर्छ कि पर्दैन? यदि पर्दैन भने श्यामसरणकै अगुवाईमा हस्ताक्षर गरिएको १२ बूँदे सम्झौता अनि प्रजातन्त्र र शान्तिपूर्ण प्रक्रियाको ढाँचा भित्र अगाडिको राजनीति गर्ने माओवादी प्रतिवद्धतालाई उनले नै अस्वीकार गरेको ठहर्ने छ। माओवादीका लागि त्यसको के अर्थ लाग्छ, त्यो एउटा पक्ष हो। तर, सरणको असफलता मानिने छ त्यो अहिले ४ वर्षपछि आएर।
मधेशवादी दलहरूको पूर्ण र विश्वसनिय एकता तथा उनीहरूले रामचन्द्र पौडेललाई समर्थन गर्ने भरपर्दाे प्रतिवद्धता नभएसम्म माओवादीलाई पूर्णरुपमा वेवास्ता गरेर भारतले नेपालमा आफूलाई अझ अलोकप्रिय बनाउने छ। त्यस्तै शरणको आकस्मिक नेपाल आगमनले उनकै यँहाको दुतावासको क्षमता र कार्यदक्षता माथी पनि प्रश्न चिन्ह लाग्ने स्थिति पैदा गरेको छ।
उनको यात्रापछि भएको प्रधानमन्त्री निर्वाचनमा प्रचण्डको मत घटनुलाई माओवादीले भारतालाई गाली गर्ने नयाँ बहाना पाउन सक्छ। त्यस्तै प्रचण्ड तथा अन्य ५ वरिष्ठ नेताहरूसँगको सामूहिक भेटघाटपछि शरण र बाबुराम भट्टराईको छुट्टै भेटले बाबुराम(प्रचण्ड मतभेद तथा मतभेदलाई चुल्याउने छ। राजनीतिको विखण्डनको सिलसिलालाई त्यसले निरन्तरता दिने छ।
श्याम शरण ४ बर्ष पहिले जन आन्दोलन निर्णायक चरणमा छँदा प्रधानमन्त्रीका विशेष दूत डा. करण सिंहसँग काठमाण्डौ आएका थिए। भनिन्छ करण सिंहले राजा ज्ञानेन्द्रलाई दलहरूलाई सत्ता हस्तान्तरण तत्काल गरेमा संवैधानिक राजतन्त्रको सुरक्षा र निरन्तरताको ग्यारेन्टी गरेका थिए भारत सरकारका तर्फबाट। १२(बूँंदे समझदारीमा महत्वपूर्ण भूमिका खेलेका शरण नेपालमा ‘निरङकुश राजतन्त्र’ को अन्तका लागि प्रतिवद्ध हुनु अस्वभाविक थिएन। र त्यसपछि उनको माओवादी र मधेशमा प्रभाव बढ्नु स्वभाविक थियो नै। तर, कुटनीतिमा आश्वासन(लिखित या अलिखित पूरा अहुदा त्यसले त्यस्ता मुलुकप्रति विश्वसनियता गुमाउने गर्छ।
शरणको यो यात्रा त्यति सुखद र सफल नहुनुमा नेपाली राजनीतिक पात्रहरू( खास गरी नेपाली कांग्रेस, माओवादी र एमाले तथा मधेशवादी दलहरूले जनताका नजरमा गुमाएको छवि तथा प्रतिष्ठा पनि जिम्मेवार छ। कुनै न कुनै रुपमा उनीहरू भारतसँग दुखी छन्। कांग्रेस, एमाले मधेशमा आफूलाई टुत्र््कयाएकोमा। माओवादी सत्ताबाट विस्थापित हुनुमा भारतलाई दोष दिन्छ भने उपेन्द्र यादवलाई भारत अझै पनि पश्चिमी मुलुकबाट निर्देशित ठान्दछ। विजय गच्छेदारको थारु पुष्टभूमि र राजनीतिले उनलाई त्यस्तै अविश्वासको घेरामा राखेको छ।
भारतले नेपालको राजनीतिलाई प्रभावित गर्ने जिम्मा त्यहाँको कर्मचारीतन्त्रलाई दिने र उसँगका सम्बन्धलाई पूर्णरुपले ‘सुरक्षा अवधारणा’सँग मात्र जोडने गल्तीलाई निरन्तरता दिएमा नेपालसँगको सम्बन्धमा अन्य पक्ष र आयामलाई उसले गुमाउने छ। शरणको नेपाल नीति (१२(बूँंदेदेखि यो यात्रा सम्म) संभवतः त्यसैका कारण असफल भएको हो र त्यसको उदार तथा वस्तुनिष्ठ समिक्षा आवश्यक छ।