Nepali Articles

Collection of Nepali Articles In Nepali Language

Sudha Tripathi – Saksham Netritwa Ko Abhav

April29

सुधा त्रिपाठी – सक्षम नेतृत्वको अभाव
(Source: Gorhkhapatra)

अन्योल नै अन्योलमा दुई वर्ष अगाडि गणतन्त्र घोषणा भएको हो भन्ने मलाई लाग्छ । गणतन्त्रको चाहना सबै दलमा प्रारम्भमा भएको देखिएन । पछि सबै गणतन्त्रवादी भएको अवस्था हामीले बिर्सन मिल्दैन । गणतन्त्रकै लागि नेपालमा पहिलोपटक संविधानसभा पनि गठन भयो, त्यो ऐतिहासिक कार्य थियो । इतिहासमा संविधानसभा र गणतन्त्रको कुरा उठे पनि त्यसबेलाको चाहनाभन्दा पृथक भएर गणतन्त्र आएको छ । विश्वको बदलिँदो छाप हाम्रो गणतन्त्रमा पनि देखापरेको छ ।

गणतन्त्रको घोषणा त भयो सँगसँगै बाधा देखा परे । अहिलेको परिस्थितिलाई हेर्ने हो भने हाम्रो सार्वभौमसत्ता नै सङ्कटग्रस्त देखिन्छ । नेपाल वा नेपालीको बलमा मात्र सरकार बन्ने र परिवर्तन हुने भइरहेको छैन । यो दशकौँदेखिको इतिहास हो । यो देशका स्वतन्त्र नेपाली नागरिक भन्ने अवस्था पनि छैन । यो भनेको कुनै पनि सार्वभौम भनिने देशको लागि ठूलो सङ्कट हो । नेपालले कहिले पनि गतिलो नेतृत्व पाएन । यो नेता गतिलो, यो नेता अगतिलो भन्ने अवस्थामा पनि हामी छैनौँ ।

गिरिजाप्रसाद कोइरालाको नाम लिइन्छ तर उहाँमा पनि केही भइदिएको भए सायद २०६२/०६३ को आन्दोलन नै पो गर्नुपर्दैनथ्यो कि । सायद एउटा समूह जङ्गल जाँदैन्थ्यो कि । यी समस्या कहाँबाट उब्जिए, कसले शासन सम्हालेका बेला भयो ? त्यतातर्फ पनि हेर्नुपर्छ भन्ने लाग्छ ।

हाम्रो मानसिकता कस्तो छ भने सामन्ती संस्कारबाट अहिले पनि हामी मुक्त हुन सकिरहेका छैनौँ । परिवर्तन त भयो तर हामीले शासन गर्ने शैलीमा खासै परिवर्तन ल्याउन सकेनौँ । जनताले प्रजातन्त्रकै महसुस गर्न पाएनन् । प्रजातन्त्र जनतासम्म पुग्दै पुगेन ।

अहिले गणतन्त्र आइसकेको छ । राष्ट्रपतिको सवारी भन्छन्, हिजो राजाको सवारी भन्थे । राष्ट्रपति हिँड्दा जनतालाई दुःख दिनेगरी घण्टौँसम्म सडक जाम गर्नु आवश्यक छ र Û खाली राजनीतिक परिवर्तन त भयो तर हाम्रो संस्कार र व्यवहारमा परिवर्तन हुन सकेन । अनि कसरी गणतन्त्र संस्थागत हुने ?

राजनीतिक परिवर्तनसँग सांस्कृतिक, सामाजिक, आर्थिक परिवर्तनको चासो कसैले लिएन, लिइनु पर्दथ्यो भन्ने मलाई लाग्छ । सांस्कृतिक परिवर्तनतर्फ हामी सबैको ध्यान गएन भने गणतन्त्र संस्थागत गर्न सकिँदैन । राजनीतिक परिवर्तन जनतासम्म पुर्‍याउन यी कुरा चाहिन्छन् नै ।

आर्थिक रूपान्तरका कुरा गरिन्छ । कसरी होला, पञ्चायत कालमा भन्दा भ्रष्टाचार मौलाएको अवस्था छ ।

अन्त्यमा म के भन्छु भने राजा वा राजसंस्था नरहनुले मात्र गणतन्त्रको बोध हुन सक्दैन । आमुल परिवर्तन जरुरी छ ।

नन्दकृष्ण जोशी, लोक गायक

गणतन्त्रका लागि भएको सङ्घर्ष र यसको घोषणाको कालखण्ड हाम्रो सन्दर्भमा अत्यन्तै ऐतिहासिक हो भन्ने मलाई लाग्छ । गणतन्त्रको चाहना भनेको २४० वर्षको राजसंस्थालाई समाप्त गरेर ‘जनता थियौँ अब हामी नागरिक बन्ने छौँ’ भन्ने प्रण थियो त्यो । सार्वभौम नागरिक भन्ने वास्तविक चाहना हो गणतन्त्र । हामी कसैको रैती होइनौंँ, यो मुुलुकलाई माया गर्ने आदिवासी हौँ भन्ने नेपाली जनताको युगौँदेखिको सर्वमान्य चाहना हो ।

वि.सं. २००७ सालदेखि २०३६ सालसम्मको परिदृश्यमा गणतन्त्र चेतनामूलक ढङ्गबाट अगाडि आएको देखिँदैन । एकतन्त्रीय शासनलाई हटाउनुपर्छ भन्ने आवाज भित्रभित्रै आइरहेको व्यवस्था थियो । बहुदलीय व्यवस्था स्थापना हुनुपर्छ भन्ने चाहन्ा देखिएको थियो ।

वि.सं. २०४२ सालको सत्याग्रह २०४६ सालको जन-आन्दोलन र २०६२/०६३ को जन-आन्दोलनको पृष्ठभूमिलाई हेर्ने हो भने नेपाली जनता परिवर्तनका पक्षमा छन् भन्ने पुष्टी हुन्छ । ‘देशमा परिवर्तन हुनुपर्छ, नेपालमा राजसंस्थालाई पालि राख्न सकिँदैन, यो हाम्रा लागि विकासको वाधक र बोझ’ भएको अनुभूति नेपालीलाई भयो । फलस्वरूप मुलुकमा गणतन्त्र अपरिहार्य बन्यो र आयो । पढेको होस् वा नपढेको मानिस, जोसुकै होस्, सबैले गणतन्त्रको चाह राखेर राजतन्त्रको समूल नष्ट गर्न सङ्घर्ष गरे र गणतन्त्र ल्याइछाडे । गणतन्त्र आयो ।

अरु देशमा पेटभरि खान पाउनु, स्वतन्त्रपूर्वक हिड्डुल गर्न पाउनु, काम गर्न पाउनु, बाँच्न पाउनु गणतन्त्र हो । हाम्रो देशको सन्दर्भमा पनि गणतन्त्रको चाहना भनेको ज्यादै ठूलो छैन । खान पाउनुपर्छ, शान्तिपूर्वक एक ठाउँबाट अर्को ठाउँमा जान पाउनुपर्छ, आफूले पाएको सम्पत्तिको सदुपयोग गर्न पाउनुपर्छ, डर. धाक धम्कीबाट त्रसित जीवन भोग्नु नपरोस्, चाहेको कुरा भन्न र बोल्न पाउनु नै नेपालीले चाहेको गणतन्त्र हो । अरुको सम्मान गर्नु राष्ट्र र राष्ट्रवासीको सम्मान गर्नु, माया गर्नु गणतन्त्र हो जस्तो लाग्छ मलाई ।

नेपाली जनता आज के हुने हो, कस्तो हुने हो भन्ने द्विविधाग्रस्त अवस्थामा छन् । मलाई यो बेला मैले गाउने गरेको गीतको याद आइरहेको छ । यो नेताको प्रवृत्तिप्रति हो ।

धान बिग्य्रा पलेँटो हुँदो हो

मानिस बिग्य्रा नेता ।

नेताका मन रै’छन् काला

लुगा मात्र सेता – २

अहिलेको परिस्थिति यस्तै देखिएको छ । गणतन्त्रलाई संस्थागत गर्न के के बाधक हुन् भन्ने कुराको खोजी जरुरी छ । एक अर्काप्रति सम्मान गर्ने, शङ्कालु दृष्टि नहेर्ने, इमान्दारी साथ अरूप्रति सम्मान देखाए मात्र गणतन्त्र स्वाभाविकरूपमा फस्टाउन सक्छ । नेपालमा आवश्यकताभन्दा बढी राजनीति भयो, मैले यो महसुस गरेको छु । राजनीति यति हाबी भयो कि थाम्नै नसक्ने भयो । सहजरूपमा आˆनो नाम लेख्न पनि नसक्ने विधायक पनि हाम्रो मुलुकमा देखापरे । परिणामस्वरूप ६०१ जनाको झुण्ड तयार भयो भन्ने मलाई लागिरहेको छ । सबैलाई मैले त्यसो भन्न खोजेको होइन ।

यही कारण नै हो समयमा हामीले संविधान निर्माण गर्न नसकेको छ । जातीय, क्षेत्रीय, लैङ्गकि कुरा आए । ती कुराले नलिनुपर्ने उग्र रूप लिए । अनि कसरी गणतन्त्र फष्टाउन सक्छ । भाइभाइबीच द्वेष बढ्यो, बोलचाल नै बन्द हुने अवस्था आयो ।

नेता नजन्मेका होइनन् नेता जन्मे, सहमति सहकार्य र एकताभन्दा भन्दै गिरिजाबाबु बित्नुभयो । उहाँकै कारण हामीले धेरै हाम्रो काम पनि हात पर्न सक्यौँ । उपलब्धि हो, धेरै पायौँ । गणतन्त्रको बाधक भनेको अशान्ति हो । नेताको आचरण र बानी राम्रो भएन, सुधार गर्नुपर्‍यो । युवालाई अघि बढाउनुपर्‍यो, नेतृत्व दिनुपर्‍यो ।

डा. गङ्गा थापा, राजनीतिशास्त्री

गणतन्त्र भनेको मेरो बुझाइमा ‘पार्ट अफ द पोलिटिकल सिस्टम’ -राजनीतिक पद्धतिको एउटा प्रकार) हो । यसका धेरै ‘पार्ट’ हुनसक्छन् । त्यसमध्ये एउटा यो हो । हामी नयाँ ‘पोलिटिकल सिस्टम’ विकास गर्न गइरहेका छौँ । यस्तो अवस्थामा धेरै किसिमका ‘च्यालेन्ज’ हुन सक्छन्, तिनलाई कसरी व्यवस्थित गर्दै लैजाने भन्ने महत्त्वपूर्ण कुरा हो । त्यसैले यसमा अचम्म लाग्नुपर्ने अथवा अनौठो व्यवस्था हो भन्ठान्नु हुँदैन । हामीले अभ्यास नगरेको हुनाले असहज भएको मात्र हो ।

सुरुमा कम्युनिस्ट पार्टीबाटै गणतन्त्रको कुरा उठाइएको हो । पुष्पलालले यसलाई अघि बढाएका थिए । कस्तो किसिमको गणतन्त्र चाहिने भन्ने छलफल भएन तर गणतन्त्र चाहिन्छ भन्ने नारा सबैमा आयो । झापा आन्दोलनताका पनि गणतन्त्रको कुरा नउठेको होइन । गणतन्त्र अस्ति भर्खरै मात्र आएको ‘इस्यु’ हुँदैहोइन । एक्कासी २०६२/०६३ सालको आन्दोलनमा मात्र उठेको होइन भन्ने मेरो धारणा हो ।

अहिले आएर कस्तो गणतन्त्र भन्ने निक्र्योल हामीले गरिसकेको अवस्था छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र । त्यसैले नेपालको बाटो अस्पष्ट छ जस्तो मलाई लाग्दैन । हामी अब यी विषयमा सम्झौता गर्दैनौँ, यो स्पष्ट भइसकेको कुरा हो । नेपालले यो दुई वर्षको अवधिमा निकै ठूलो, म त ‘रेनेसाँ’ नै भन्छु, परिवर्तन गरेको छ । निराश भई हाल्ने अवस्था मैले देखेको छैन । फेरि ‘पोलिटिकल साइन्स’मा के भन्छ भने- यो ‘लर्निङ्ग प्रोसेस’ हो, त्यसैले ‘इट इज हार्ड टु विन, डिफिकल्ट टु सस्टेन, इजी टु लुज ।’

समस्या के हो भने धेरैवटा आन्दोलन भए ठूला ठूला परिवर्तन पनि भए तर अवस्था उही नै रहृयो । यो भने समस्या नै हो । यो ‘फेक पोलिटिकल लिडरसिप’को कारणले भएको हो । उत्तरदायी नेतृत्व भएन । समस्या यही नै हो । प्रजातन्त्र आएको ६० वर्ष भन्दा बढी भइसक्दा पनि हामीले यसलाई संस्थागत गर्न लडिरहनु परेको अवस्था छ ।

उत्तरदायित्व बोध, विधिको शासन, इमानदारी, सहभागिता भए सबै समस्याको समाधान गर्न सकिन्छ । गणतन्त्र संस्थागत हुन्छ । गणतन्त्रलाई आर्थिक सामाजिक विकास र रूपान्तरणको विषय पनि सँगसँगै बनाउनुपर्‍यो । अनि जनताले गणतन्त्रलाई आत्मसात् गर्छन् । हाम्रो व्यवस्था हो भन्नका लागि त ऊ व्यवस्थाबाट पर्याप्त लाभान्वित हुनुपर्‍यो । यी कुरामा ध्यान दिए गणतन्त्रलाई संस्थागत गर्न सकिन्छ ।

घुमीफिरि मुख्य कुरा नेतृत्व कै हो । नेपालमा नेतै भएन । कोही ‘टावरिङ्ग’ थियो होला तर समस्या समाधान गर्न गम्भीर कोही पाइएन ।

वास्तवमा भन्ने हो भने सबै कुराको एउटा ‘वेस’ हुन्छ । ‘फाउन्डेसन’ हुन्छ । ‘फाउन्डेसन’ राम्रो नभई राम्रो प्रणाली स्थापित गर्न सकिन्न । कमजोरी के हुन्, तिनलाई विस्तारै हटाउँदै लैजाने, अनि राम्रा काम विस्तार गर्दै जाने । अभ्यासका क्रममा अभ्यासै मात्र गरिरहने कि राम्रो अभ्यास पनि गर्ने हो ?

अहिलेको अवस्थामा हाम्रो देशमा धेरै ठूलो परिवर्तन भयो । यो कुरा सबैले स्वीकार्नु पर्छ । अब यसलाई कसरी संस्थागत गर्ने भन्ने चिन्तन सबैले गर्नुपर्छ । यहाँ ‘लिडर’ले यो चिन्तामा आफूलाई ढाल्नुपर्‍यो । परिवर्तन गराउन नेताहरू सफल देखिए तर संस्थागत गर्न उनीहरूको आचरण र व्यवहार खासै प्रभावी देखिएन । नेता त्यति इमान्दार पनि देखिएनन् ।

किरण मानन्धर, कुलपति, ललित कला प्रज्ञा प्रतिष्ठान

नेपालकाको राजनीतिमा जसरी उथलपुथलको अवस्था छ, त्यस्तै ललितकला क्षेत्रमा पनि रहृयो । बल्ल बल्ल स्वायत्त प्रज्ञा प्रतिष्ठानको गठन भयो । जनताकै शासन व्यवस्थामा त्यत्रो समस्या । व्यवस्था संस्थागत हुन नसक्नुको कारण यही हो । हाम्रो स्रोत साधन प्रशस्त भएर पनि देश विकासको गति अघि बढ्न सकेन, सोचमा परिवर्तन आएन ।

‘साइन्स’ र ‘टेक्नोलोजी’ हाम्रो हात खुट्टा हो भने कला, भाषा, साहित्य र सङ्गीत हाम्रो आँखा हो । यो कुरा बुझ्न नसके जतिसुकै गणतन्त्रको कुरा गरे पनि केही हुनेवाला छैन । त्यसैले यो महत्वलाई कसरी बुझाएर लैजाने, अनि गणतन्त्रलाई कसरी संस्थागत गर्ने ? महत्त्वपूर्ण विषय भनेको यही नै हो जस्तो लाग्छ ।

जबसम्म निष्पक्ष हेर्न सक्ने एउटा राम्रो नेता जन्मन सक्दैन तबसम्म हाम्रा सबै चाहना पूरा हुन सक्दैनन् । अहिले जुन अन्योल र अनिश्चयको अवस्था छ, यो सबै राम्रो नेता नहुनुको उपज हो । गणतन्त्र स्थापना त भयो तर यसलाई हाक्ने राम्रो नेता खोई ? यदि राम्रो नेताले राम्रोसँग चलाउन नसक्ने हो भने त डुब्न पनि सक्छ । राम्रो नेतृत्व नभई गणतन्त्र राम्रोसँग अगाडि जान सक्दैन । एउटा नाउँ त हामीले बनायौँ तर राम्रोसँग चलाउने चालक त चाहियो नि होइन र Û

यो कुनै नेता वा एउटा पार्टीले मात्र ल्याएको गणतन्त्र होइन, सारा नेपालीले मिलेर ल्याएको हो । गणतन्त्र सिद्धिएला भन्ने चाहिँ मेरो भनाई होइन । यसलाई राम्रोसँग सञ्चालन गर्नुपर्‍यो भन्ने मेरो जोड हो । स्व. गिरिजाबाबु मात्र भइदिएको भए पनि आजको जस्तो अनिश्चयको अवस्था नआउने । त्यसैले मैले बारम्बार ‘लिडरसिप’मा जोड दिएको हुँ । अहिलेको समयमा सबै नेता मिलेर हिँड्नुपर्‍यो । जनताका लागि अघि बढ्नुपर्‍यो ।

केशव भट्टराई, शिक्षक नेता

गणतन्त्रलाई मैले बुझ्दा जन्मजात विशेषाधिकार नपाउने अवस्था हो, सबै समान । मान्छेले आˆनो योग्यता, क्षमताले पाएका अवसर उपभोग गर्न पाउने अवस्था भनेर हामीले गणतन्त्र बुझ्यौँ । प्रजातन्त्रको एउटा उन्नत अवस्था गणतन्त्र हो । शान्तिको सर्तमा जे पनि मान्ने, स्वीकार्ने अवस्थामा हाम्रो गणतन्त्र आयो । मान्छेलाई त बाँच्नुपर्‍यो नि, शान्ति हुन्छ भने जे पनि गर्न तयार भए मान्छे । मान्छेले सबै परिवर्तनलाई सजिलैसँग लिए । सबैभन्दा ठूलो गणतन्त्रवादी चाहिँ मलाई राजा ज्ञानेन्द्र नै लाग्यो । राजा ज्ञानेन्द्रले जुन ढङ्गले गणतन्त्रलाई स्वीकारे, मैले सम्मान गरेँ- जति सहजतापूर्वक त्यसलाई स्वीकारेर मुलुकलाई निकास दिन तयार भए ।

गणतन्त्र घोषणाको पद्दतिले चाहिँ गणतन्त्रप्रति नै सम्मान गरेन भन्छु म । आज हामीले देखिरहेका छौँ, जन्मजात कसैको केही हुँदैन भन्ने बुझेका हामीले फेरि जातीय अधिकारको कुरा गरिरहेका छौँ । मैले जन्मको कारणले शासन गर्न पाउनुपर्छ, जातीय हिसावले हामीलाई छुट्टै राज्य चाहिन्छ, प्रान्त चाहिन्छ भन्नु यो गणतन्त्रको आदर्श हुँदैहोइन । यो फेरि अर्को राजा बन्ने कसरतमात्रै हो । एउटा शाह वा ठकुरीको अन्त्य त भयो फेरि जात-जाति वा भाषाभाषीको नाममा अर्को राजा स्थापित गर्ने कुरा हो । फेरि जाति, जनजातिहरूलाई राजा बनाउने कुरा हो यो । कुलीन वर्ग चलाउने, शासन चलाउने सोच फेरि हामीले ल्याएका छौँ । गणतन्त्रको सिद्धान्त यो हुँदै होइन ।

गणतन्त्रलाई संस्थागत गर्न विधि वा विधान नै मुख्य कुरा हो । हामीले संसद् र संविधानसभालाई अति नै बोझ दियौँ । कतिपय कुरा त दुई वर्षपछि पनि त गर्न सकिन्थ्यो । विधानका मुख्य मुद्दा यथावत् छन् । संविधानसभा अर्थहीन हुने अवस्था आइसक्यो । एकजनाको सपथ ग्रहणका लागि पनि संविधान फेर्नुपर्ने । हामीले प्रजातन्त्रले नपुगेर गणतन्त्र खोजेका हौँ । प्रजातन्त्रले दिन नसकेको कुरा गणतन्त्रले दिन्छ कि भनेर गणतन्त्र आएको हो । तर, गणतन्त्रको जुन स्वरूप आउँदैछ यसले गणतन्त्रलाई संस्थागत गर्छ जस्तो मलाई लाग्दैन । यसले अराजकता, अव्यवस्थालाई नै संस्थागत गर्ने स्वरूपमा हामी गइरहेका छौँ । यसलाई संस्थागत गर्ने हो भने अशान्ति, अराजकता हट्नुपर्‍यो । निरङ्कुशता पूर्णरूपमा हट्नुपर्‍यो, हिंसाको अन्त्य हुनुपर्‍यो । हिजोकोभन्दा धेरै ठूलो निरङ्कुशता र भयावह अवस्था आउँछ कि जस्तो लाग्छ, त्यो आउन दिनुहुँदैन ।

हिजो अन्यत्रबाट मानिस खेदिँदा नेपालले शरण दियो । भोलि जातीय द्वेश फैलेर हामी नेपाली खेदियौँ भने कहाँ जाने ? हामीलाई कसले शरण दिने होला भन्ने चिन्ता मलाई सुरु भएको छ । जातीय राज्य खोज्ने सवालमा के के होला के नहोला । जातीय द्वेश बढेमा कहाँ भाग्ने होला ? यो चिन्तालाई सम्बोधन नगरेसम्म गणतन्त्र कसरी फस्टाउला ?

राजनीतिक व्यवस्था भनेको विकास गर्ने व्यवस्था हो । हामीले वर्षौँदेखि प्रजातन्त्रका लागि सङ्घर्ष गर्दै आयौँ तर व्यवस्थित गर्ने केाशिस गरेनौँ । सामाजिक, राजनीतिक, आर्थिक प्रणालीको उपज हो कुनै पनि देशको राजनीति तर यहाँ राजनीतिले ती प्रणाली निर्माण गर्न खोजियो । राजनीतिले समाज बनाउने राजनीतिले संस्कृति बनाउने, राजनीतिले कलाकार बनाउने अनि विकृतिमात्र बढ्यो । कारण यो हो जुन स्पष्ट छ । गणतन्त्रलाई अˆठ्यारोसँग बुझ्ने अनि यो आफैँ उत्तम हुने व्यवस्था होइन । सडकले ल्याएको परिवर्तनलाई गाउँ गाउँ, घर घरसम्म पुर्‍याउने, बुझाउने, भिजाउने कोशिसै भएन ।

जहाँसम्म नेतृत्वको कुरा छ, त्यो पनि यही समाजले नै जन्माउने हो । फुत्त आकाशबाट आउने वा जन्मने होइन । ‘इम्पोज लिडरसिप’ले त कहिल्यै पनि राम्रो ‘रिजल्ट’ दिँदैन । त्यसैले यही समाजले ‘लिडरसिप ग्रो’ गर्नुपर्छ । गर्नसकेकोे छैन, मुख्य कठिनाई हो यो । ५० औँ वर्षमा एउटै पनि राम्रो नेतृत्व तयार नहुनु भनेको त विडम्वना नै हो । हाम्रो समाज कस्तो समाज रहेछ त ?




Nepali Articles By Authors