Mohan Bikram Singh – Dahal/Bhattarai Antarbirodh Ka Kaaran (Nepali Political Article)
मोहनविक्रम सिंह – दाहाल-भट्टराई अन्तर्विरोधका कारण
माओवादी नेतृत्वमा पुनः नयाँ प्रकारको अन्तरविरोध देखिएको छ । अन्तरविरोध प्रचण्डको ‘भारतले बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन दबाब दिइरहेको छ’ भन्ने अभिव्यक्तिबाट सुरु भएको
छ । भट्टराईले यसलाई चरित्र हत्या गर्ने प्रयत्न बताएका छन् । यदि प्रचण्ड र भट्टराईबीचको विवादको प्रकृति व्यक्तिगत वा दलीय मात्र भएको भए त्यसबारे चर्चा गर्नु आवश्यक थिएन । तर त्यो विवादको जरा जति बाहिर देखिन्छ, त्योभन्दा धेरै गहिरो र व्यापक छ । त्यसको मूलमा उनीहरूको नेतृत्वमा काम गरिरहेको अराजकतावादी चिन्तनले काम गरेको छ । त्यो चिन्तनले माओवादी समूहमा सामाजिक फाँसिवादी र सैनिकवादी प्रकारको प्रकृतिलाई समेत पैदा गरेको छ । परिणाम, देशको जनजीवन, राजनीति, नयाँ संविधानको निर्माण, गणतन्त्रको सुदृढीकरण, राष्ट्रियतालाई प्रभावित पार्ने खतरा देखापरेको छ । त्यसकारण प्रचण्ड र भट्टराईका बीचको विवाद उपरी प्रकारले हेर्दा व्यक्तिगत जस्तो देखिए पनि यो राष्ट्रिय चासोको विषय बनेको छ ।
व्यक्तिलाई प्रमुख स्थानमा राख्ने अराजकतावादको एउटा आधारभूत विशेषता हो । त्यस प्रकारको प्रवृत्ति प्रचण्डमा चरम रूपमा प्रकट भएको छ । उनीभित्र आत्मप्रदर्शनको भावना नांगो रूपमा देखापरेको छ, जो निश्चित रूपले गैरमाक्र्सवादी लेनिनवादी प्रवृत्ति हो । प्रथम, प्रचण्डले पार्टीभित्र चरम रूपमा व्यक्ति पूजालाई स्थापित गर्ने प्रयत्न गरे । द्वितीय, उनले पूरै पार्टीमा सामूहिक कार्यप्रणाली र जनवादलाई दबाएर तानाशाही कायम गर्ने प्रयत्न गरे । तृतीय, त्यही प्रवृत्तिका कारणले उनीहरूको कथित जनयुद्धको कालमा जनतामाथि दमनकारी कार्यहरू गरे । चौथो, त्यो प्रवृत्तिले देशको राजनीतिमा नकारात्मक रूपले असर पारेको छ ।
प्रचण्डको अराजकतावादी व्यक्तिवाद वा तिनको संगठनमा देखापरेको व्यक्तिपूजा वास्तवमा माक्र्सवादी-लेनिनवादी चिन्तनभन्दा बाहिरको कुरा हो । त्यसैले माओवादीका कतिपय भाइचारा पार्टीहरू, उदाहरणका लागि भारतको माओवादी ‘समूहले’ उनीहरूको संगठनमा देखापरेको व्यक्तिपूजालाई गैरमाक्र्सवादी-लेनिनवादी चिन्तन भन्दै आलोचना गरेको छ । उनको व्यक्तिपूजाको प्रवृत्तिलाई केन्द्रीय समितिमा निर्णय गराएर ठूलो मात्रामा उनका फोटाहरूको प्रचार र प्रदर्शन, केन्द्रीय तहका नेताहरूद्वारा उनको स्तुतिगान, नेतृत्वको चरम रूपमा केन्द्रीयकरण आदिद्वारा स्थापित गर्ने प्रयत्न गरियो र त्यही क्रममा ‘प्रचण्डपथ’ लाई अगाडि ल्याइयो । त्यस प्रकारको कार्य प्रणालीको असर उनीहरूको संगठनभित्र व्यापक रूपमा पर्यो । त्यहाँ भिन्न मत राख्नेलाई कुटपिट गर्ने, संगठन छाडेर भागेकालाई बाँधेर पिट्दै लैजाने, श्रम शिविरमा नजरबन्द राख्ने वा हत्यासम्म गर्ने गरियो । उनीहरूले रोल्पामा घरमा थुनेर आगो लगाएर करिब आधा दर्जनजति व्यक्तिलाई हत्या गर्न वा चितवनको माडीमा जनसाधारण चढेको गाडीमा विस्फोट गराएर सामूहिक नरसंहार गर्नेजस्ता जघन्य अपराधहरू गर्न पनि हिचकिचाएनन् । त्यस प्रकारका अपराधपूर्ण कारबाहीको लामो सूची छ । हामीले उनीहरूले त्यस प्रकारका मानव अधिकारको हननका अपराधमाथि छानबिन गरी सजायका लागि प्रतिबद्धता प्रकट नगर्दासम्म सरकारमा सामेल गर्न हुन्न भन्ने मत प्रकट गरेका थियौं । यसैको परिणति हो, तिनका सामाजिक, फाँसीवादी र सैन्यवादी प्रकारका कारबाहीहरू ब्ाारम्बार देखापर्दै गए र तिनमा नियन्त्रण हुन सकेनन् ।
प्रचण्डको अराजकतावादी व्यक्तिवादको सबैभन्दा ठूलो असर राजनीतिमा परेको छ । जुन बेला सारा देशको ध्यान संविधानसभाको चुनावतिर थियो, प्रचण्डले उनीहरूको स्वार्थ पूरा नहुने भएमा संविधानको चुनाव हुन नदिने कुरा गरे । अहिले सारा देशको ध्यान नयाँ संविधानको निर्माण, गणतन्त्रको सुदृढीकरणतिर छ । यो बेला उनीहरू आफ्ना सर्तहरू पूरा नभएमा संविधान निर्माण हुन नदिने भन्दैछन् । उनीहरूले राष्ट्रपतिसम्बन्धी संकल्प प्रस्ताव, नागरिक सर्वोच्चता वा राष्ट्रिय स्वाधीनताको कुराहरू उठाइरहेका छन् । तर ती सबैको सारतत्त्व हो ः प्रचण्डको नेतृत्वमा सरकार । अरू सबै गौण कुराहरू हुन् । प्रचण्डले सत्ताको व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्न देशको भविष्यसित खेलबाड गर्न खोज्दै छन् । बताइरहनुपर्ने आवश्यकता छैन, त्यस प्रकारको सामाजिक फाँसिवादी प्रवृत्तिको परिणाम अधिनायकवादी प्रकारको शासन हुन्छ ।
अराजकतावादी चिन्तनको अर्को प्रमुख विशेषता हो ः हद दर्जाको अस्थिरता । बाँदर सबैभन्दा चञ्चल र अस्थिर जनावर हो । उसले कुनबेला के गर्छ ? ठेगान हुन्न । त्यसैले अक्सर अराजकतावादी अस्थिर प्रवृत्तिलाई ‘बाँदर प्रवृत्ति’ भन्ने गरिन्छ । त्यो अराजकतावादी अस्थिर प्रवृत्ति सामान्यतः माओवादीमा र मुख्यतः प्रचण्डमा अति धेरै देखापर्ने गरेको छ ? त्यो लुकेको कुरा होइन । उनका विचार र व्यवहारमा हद दर्जाको अस्थिरता वा असन्तुलन देखापर्छ । उनले आफैं भनेका कुरालाई बारम्बार काट्ने वा बदल्ने गर्छन् । उनमा देखापर्ने त्यस प्रकारको अस्थिरता र असन्तुलनका कारणले उनी सबैभन्दा अविश्वसनीय नेता मानिन्छन् । उनको त्यस प्रकारको प्रवृत्ति वास्तवमा उनीभित्र काम गरेको अराजकतावादी चिन्तनको परिणाम हो ।
केहीपहिले भारतको अंग्रेजी दैनिक, ‘द हिन्दू’ मा प्रकाशित अन्तर्वार्तामा प्रचण्डले सरकारमा जाने अवसर आएमा उनी समेत नेतृत्व तहका प्रमुख व्यक्तिहरू सरकारमा सामेल नहुने, राष्ट्रपति, प्रधानमन्त्री आदि नबन्ने र ‘गान्धी’ बन्ने कुरा गरेका थिए । तर पछि उनले आफूलाई गणतन्त्र नेपालको ‘प्रथम राष्ट्रपति’ का रूपमा प्रस्तुत गरे । देशभरका भित्ताहरू त्यही नाराले रंगिए । त्यो बेला उनले यो कुराको कल्पनासम्म गर्न सकेनन् कि त्यसरी उनले स्वयं आफ्नो पहिलेका अभिव्यक्तिको हाँसो उडाइरहेका थिए । संविधानसभाको चुनावपछि प्रचण्ड प्रधानमन्त्री भए र नेतृत्व तहका अन्य व्यक्तिहरू पनि क्याबिनेट मन्त्रीहरू बने । प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रचण्डले क्रान्ति सफल नहुँदासम्म आफू पुनः प्रधानमन्त्री नबन्ने घोषणा गरे । त्यसपछि भट्टराईको वैकल्पिक प्रधानमन्त्रीका रूपमा व्यापक प्रचार भयो । तर जब उनीहरूको नेतृत्वमा सरकार बन्नुपर्छ भनेर आन्दोलन गर्न थाले, प्रचण्डले पुनः आफैँै प्रधानमन्त्री बन्ने कुरा गर्न थालेका छन् । उनीहरूको केन्द्रीय समितिले त्यसबारे औपचारिक निर्णयसमेत गरिसकेको छ । उनका त्यस प्रकारका विचार र व्यवहारले एकैसाथ, प्रथम उनमा चरम रूपमा विद्यमान अराजकतावादी अस्थिर प्रवृत्ति र, द्वितीय हद दर्जाको अराजकतावादी व्यक्तिवादी र पदलोलुप प्रवृत्ति उजागर गरेको छ । त्यस प्रकारको प्रवृत्तिको उनको सम्पूर्ण संगठन सिकार भएको छ, कम्युनिस्ट आन्दोलनलाई अत्यन्त धेरै नोक्सान पुर्याएको छ र देशमा गम्भीर दुष्परिणामका सम्भावना देखा पर्दै छन् । जसमा संविधान नबन्ने, गणतन्त्रको सुदृढीकरणमा बाधा पुग्ने, देशमा जातीय र क्षेत्रीय द्वन्द्व बढ्ने, राष्ट्रिय विखण्डन हुने कुराहरू आउँछन् ।
पहिले भट्टराईले प्रचण्डको त्यसप्रकारको अराजकतावादी र व्यक्तिपूजाको विरोध गर्ने प्रयत्न गरेका थिए । तर उनी सफल भएनन् वा सायद प्रचण्डका हातमा सैन्यशक्ति केन्दि्रत भएकाले भट्टराईले त्यो प्रवृत्तिसित सम्झौता गर्नुपरेको थियो । जे होस्, अहिले उनीहरूको संगठनमा हावी भएका अराजकतावादी चिन्तन वा त्यसले पैदा गरेको वैचारिक, राजनीतिक वा संगठनात्मक विकृतिहरूका विरुद्ध संघर्ष गर्ने कुनै पक्ष देखिन्न । त्यो अवस्थामा त्यो संगठनभित्र हावी भएको त्यस प्रकारको अराजकतावादी चिन्तनले त्यो संगठनलाई कति नोक्सान पुर्याउने हो ? प्रश्न गम्भीर छ । त्यसलाई रोक्न खालि दुईवटा उपाय जनदबाबको सिर्जना गरेर उनीहरूलाई सुधार्नु र तिनका गलत नीति र कार्यहरूको सशक्त संघर्ष गर्नु हुनेछ ।
विवाद वास्तवमा प्रचण्डमा अत्यधिक रूपमा रहेको अराजकतावादी, व्यक्तिवादी प्रवृत्ति र पदलोलुपताको परिणाम हो । उनले पुनः प्रधानमन्त्री बन्ने सम्भावना नदेखेका बेलामा आफू प्रधानमन्त्री नबन्ने कुरा गरे । तर उनले त्यसको सम्भावना देखेपछि भट्टराई प्रधानमन्त्री बन्ने कुरा उनका लागि असह्य भयो । त्यो कारणले उनीभित्रको कुण्ठा भारतले भट्टराईलाई प्रधानमन्त्री बनाउन ‘दबाब’ दिँदै छ भन्ने अभिव्यक्तिका रूपमा विस्फोट भयो । उनको त्यो अभिव्यक्तिले माक्र्सवादी-लेनिनवादी संगठनात्मक दृष्टिले उनको स्तर अत्यन्त निम्न भएको देखाउँछ । कम्युनिस्ट पार्टीको संगठनात्मक प्रणालीबारे क, ख को ज्ञान भएको व्यक्तिलाई थाहा भएको कुरा हो कि आफ्नो पार्टीको कुनै सदस्य वा केन्द्रीय नेताबारे कुनै आलोचना भए त्यसलाई संगठनभित्र र सम्बन्धित समितिमा राख्नुपर्छ । तर आफ्नै संगठनका उपाध्यक्षबारे उनले प्रकट गरेको अभिव्यक्तिले उनलाई एउटा सामान्य सेलको सदस्यलाई जति पनि अनुशासनको ज्ञान नभएको कुरालाई बताउँछ । त्यस प्रकारको अभिव्यक्तिद्वारा प्रचण्डले भट्टराईको खालि चरित्र हत्या मात्र होइन, राजनीतिक हत्या नै गर्न खोजेको बुझ्न गाह्रो पर्दैन । त्यसरी उनले यो बताउन खोजेका छन् कि भट्टराईले भारतको एजेन्ट भएर काम गरिरहेका छन् । यदि उनको त्यसप्रकारको धारणा भए त्यसबारे उनले आफ्नो संगठनभित्र छलफल चलाएर जनताका बीचमा राख्नुपर्छ । तर उनले त्यसो पनि गर्दैनन् । त्यो समूहभित्र भारत वा दरबारको एजेन्ट छ वा छैन ? बिना कुनै आधार केही भन्न सक्दैनौं । तर त्यहाँ दरबार वा भारत प्रवृत्तिहरू रहने गरेका छन् र विभिन्न प्रसंगहरूमा हामीले त्यस प्रकारका प्रवृत्तिको आलोचना गर्ने गरेका छौं ।
अहिले प्रचण्डले भारतको विरोध वा राष्ट्रिय स्वाधीनताको जुन चर्चा गरिरहेका छन्, त्यसका पछाडि वास्तविक रूपमा भारतीय विस्तारवादप्रतिको विरोध वा राष्ट्रिय स्वाधीनताको भावनाद्वारा प्रेरित भएर होइन, सरकार बनाउनका लागि भारतको अनुग्रह प्राप्त गर्न दबाब दिन भारतको समर्थन प्राप्त नभएको कारणले आक्रोशित भएको कुरा प्रस्ट छ । भारतले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्नुको सट्टा भट्टाराईलाई प्रधानमन्त्री बनाउन खोजेको त होइन ? सत्य वा असत्य जे भए पनि त्यो आशंकाले पनि प्रचण्डले भारतप्रति आक्रोश प्रकट गरेको वा भट्टराईको चरित्र हत्या गर्ने वा राजनीतिक रूपले उनलाई सखाप गर्ने प्रयत्न गरेको त होइन ? प्रश्न उठाउने ठाउँ छ । तर यदि भोलि भारतले प्रचण्डलाई प्रधानमन्त्री बनाउने इसारा दिएमा अहिले देखापरेको भारतप्रतिको आक्रोश पुनः भारतपरस्त सोचाइमा बदलिने कुरामा कुनै शंका छैन । बताइरहनुपर्ने आवश्यकता छैन, त्यस प्रकारको नेतृत्वद्वारा भारतीय विस्तारवादका विरुद्ध तथा राष्ट्रिय स्वाधीनताका पक्षमा दृढ र सम्झौताहीन संघर्षको कुनै सम्भावना छैन ।
लेखक नेकपा मसालका महामन्त्री हुन् ।
Fatal error: Call to undefined function related_posts_by_category() in /hermes/bosoraweb133/b2628/d5.sanjaalc/public_html/nepaliarticles/wp-content/themes/notepad-chaos/single.php on line 58