Lokendra Bista Magar – Nepal Krida Sthal Hoina
नेपाल क्रीडास्थल होइन – लोकेन्द्र विष्ट मगर
(Source: Gorkhapatra)
एउटा स्वाधीन, स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रले अर्को कुनै छिमेकी राष्ट्रबाट भएको ज्यादती र ठाडो हस्तक्षेपलाई कसरी सहन/स्वीकार्न सक्छ ? दक्षिण एसियामा भारतले आफ्ना छिमेकी राष्ट्रमा प्रदर्शन गर्दै आएको व्यवहारले यस्तो प्रश्न गर्न बाध्य पार्दै आएको छ । उसले किन यसो गरिरहेको छ ? कहाँ के के गरिरहेको छ ? नेपाली जनताले राम्ररी हेक्का र हिसाब राख्नैपर्ने बेला आएको छ ।
प्रधानमन्त्रीको चौथो चरणको चुनावकै समय र सिलसिलामा सार्वभौभसत्ता सम्पन्न र गरिमामय संविधानसभाका सदस्य तथा त्यो सभाको सबैभन्दा ठूलो पार्टीका केन्द्रीय समिति सदस्यलाई कूटनीतिक मर्यादा नाघेर राजदूतावासका कर्मचारीले गालीगलौज गर्ने, अपहरण गर्ने र ज्यान मार्ने धम्की दिनुको अर्थ के हो ? स्पष्ट छ, आफ्नो आदेश र आशीर्वाद अनुसार चल्न र गल्न नमानेपछि भारत त्यसखालको गैरजिम्मेवार र अमैत्रीपूर्ण व्यवहार गर्ने हदसम्म ओर्लिएको हो । पूर्व राजदूत श्यामशरण आएर मधेसी दलका सँगै अन्य कतिपय नेतालाई भेटेर फुक्र्याए, धम्क्याए र भाँड्ने खेल खेले तर उनी पूर्णतः असफल भए । भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेषदूत भएर आएका श्यामशरणको पनि कुनै जोरसिप चल्ने नदेखिएपछि हतासिएको मनस्थितिमा गैरकूटनीतिक र गैरराजनीतिक आचरण र अभिव्यक्तिमा ओर्लिए-उनका मान्छे । यहाँ प्रश्न काउन्सिलरको होइन, प्रश्न त सोझै भारतले नेपाललाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारको हो । दुवै देशका नागरिकले सोचौँ अनि व्यवहारमा उत्रौँ ।
भारत हाम्रो असल मित्र र छिमेकी राष्ट्र हो भने उसले हामीलाई स्पष्ट कूटनीतिक र राजनीतिक सल्लाह, सुझावबाट सहयोग गर्नसक्छ, नाङ्गो, विडम्बनायुक्त र लज्जास्पद हस्तक्षेप र अतिक्रमण गरेर होइन । हाम्रो आन्तरिक मामिलामा गलत ढङ्गले चासो राख्नु, तीखा आँखा र लामो हात गर्नु भारतको विस्तारवादी, हस्तक्षेपकारी र प्रभुत्ववादी चरित्र, नियत र विशेषताको सक्कली मुहार अनावरण हुनु नै हो । उसले हाम्रो देश र हामीप्रति घोर अन्याय र अत्याचार गरिरहेको छ । सीमा अतिक्रमण, लुटपाट, हत्या, आगजनी र बलात्कारका अनगन्ती घटना शृङ्खलामा झन् झन् बढिरहेको छ । हजारौँ हेक्टर नेपाली भूमि भारतले आˆनो बनाइसकेको छ तर हाम्रो सरकार चुपचाप छ, मानौँ ऊ बोल्नसक्दैन । पाँच दर्जनभन्दा बढी ठाउँमा सीमा मिचिएको छ । दशगजा र ‘पिलर’हरू रातारात उत्तरतिर सार्ने काम भइरहेको छ । कालापानी, सुस्ता र महेशपुर नराम्ररी दुखिरहेको छ, कोसी, लक्ष्मणपुर, खुर्दलोटन, गण्डकी र महाकाली रोइरहेका छन् तर त्यो रोदन-क्रन्दन सुन्ने, बुझ्ने कोही छैन ।
समय-समयमा अनधिकृतरूपमा नेपाली आकाशमाथि भारतीय लडाकु विमानहरू निर्धक्कसाथ उडाइन्छ । दुःखको कुरा त्यता हेर्ने र औँलो ठड्याएर प्रश्न उठाउने आँट हामी नेपालीमा पटक्कै पलाउँदैन । सीमा क्षेत्रमा हाम्रा मान्छे अपहरण र कब्जामा पर्छन्, कुटिन्छन्-पिटिन्छन्, बलात्कृत हुन्छन्, कोही मारिन्छन् भने कोही-कोहीमात्र मुस्किलले ज्यान जोगाएर र्फकन्छन्- यस्तो छ अवस्था ।्
भारतीय प्रधानसेनापति दीपक कपुरद्वारा नेपालका प्रधानसेनापति छत्रमानसिंह गुरुङ भारत भ्रमणमा रहेका बेला भनियो- “माओवादी सेना र नेपाली सेनाको समायोजन नगर, नेपालका सबै पार्टी माओवादीको दाँजोमा कमजोर छन्, तिनीहरू माओवादीसँग लड्न सक्तैनन् तसर्थ तिमीहरू -अर्थात् नेपाली सेना) नै माओवादीसँग लड्नुपर्छ, भौतिक-मानसिकरूपमा तयार भएर बस, जे सहयोग गर्नुपर्छ हामी गर्छौं ।”
राजनीतिक, कूटनीतिक, सैनिक र कथित सहयोगका माध्यमबाट नेपाललाई जसरी भए पनि आˆनो नियन्त्रणमा राख्ने ध्याउन्नमा भारत लागेको कुरा उनीहरूका अभिव्यक्ति र व्यवहारले नै पुष्टि गरिरहेका छन् । भारतीय राजदूतहरू पनि कूटनीतिकर्ता होइन सिधै राजनीतिक नेता तथा कार्यकर्ताको रूपमा निर्बाध नेपालका गाउँ-गाउँसम्म गएर उद्घाटन, भाषण, आश्वासन र शङ्कास्पद सम्बन्ध बढाउने गरेबाट पनि नेपाली जनमानस र राजनीतिक रङ्गमञ्चमा गम्भीर आशङ्का मडारिइरहेको छ ।
भारत हाम्रो असल छिमेकी र मित्र राष्ट्र हो कि, ठूल्दाइ वा ठूलो माछा हो ? के छिमेकी र मित्र राष्ट्रप्रतिको व्यवहार यस्तै हुन्छ ? ठूला र सम्पन्नहरू, सभ्य र शिक्षितहरू विनम्र, सहनशील र लोकतान्त्रिक बन्नुपर्छ कि पर्दैन ? ‘मत्स्यन्याय’का आधारमा चल्ने हो भने भारतभन्दा ठूला माछा पनि त होलान् । अनि ती ठूलामाछासँग भारत के गर्छ ? केही जवाफ छ ? यसरी ‘जो होचो, उसको मुखमा घोचो’ नगर्दा हुन्छ ।
बेलायतको उपनिवेश रहँदैदेखि नेपाल भारतको थिचोमिचो एवं ज्यादती भोग्न बाध्य छ । तत्कालीन अङ्ग्रेजशासित भारतसँगको सन् १८१६ को असमान सन्धि र सन् १९५० को कथित शान्ति तथा मैत्री सन्धिदेखि हामी -नेपाल र नेपाली) अत्याचार र दमनमा छौं । अरू त अरू नै छ, भारतीय सेनापति र मन्त्रीहरू आएर हाम्रो सैन्य मुख्यालय, शस्त्रागार सारा निरीक्षण गर्न भ्याउँछन् । हाम्राहरू भारत गएर के त्यसरी नै त्यही शान, मान र ओजमा सारा कुरा निरीक्षण गर्न पाउँछन्-पाएका छन् त ? पक्कै पनि छैनन् । लुरुक्क परेर उनीहरूले जहाँजहाँ भन्छन्, त्यहीँ त्यहीँ आमाबाबुसँग बच्चाले हातका औँला समाएर हिँडे-घुमेजस्तो भन्दा ज्यादा कसले गरेको छ वा कसले समान व्यवहार र हैसियत पाएको छ ? छैन ।
जति सानो र जति ठूलो भए पनि मित्र र छिमेकी भनेको समान मर्यादा र हैसियतको हुन्छ । कोही धुरीमा त कोही बलेँसीमा बस्ने हुँदैन । त्यति असमानता भए केको मित्र- केको छिमेकी ? आकार र वजनले मित्रतामा असमानता ल्याउनु भनेको ‘मत्स्य’ नीति, नियम र कानुन हो । त्यस्तो नीति, नियम, कानुन र न्याय मान्नु केही जरुरी छैन । मान्ने हो भने दुवैले र सरोकारवाला सबैले मान्नुपर्यो । इज्जत र मर्यादा भनेको सबैको बराबरै हुन्छ ।
नेपाल स्वाधीन, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र भौगोलिक अखण्डतायुक्त राष्ट्र हो । यसको आˆनो गौरवमय गाथा छ । नेपाल वीरता र धीरताको निशानी हो । ठूल्ठूला साम्राज्यहरूका सामु पनि यसले आˆनो शिर कहिल्यै झुकाएको छैन । भारतको कुरा गर्ने हो भने मुगल सम्राट र बेलायती साम्राज्यवादको औपनिवेशिक चङ्गुलमा सात सय वर्ष जकडिएर बसेकै त हो । कसलाई थाहा छैन तर नेपालीले कुमाउ-गढवाल, नालापानी, बुटवल र सिन्धुलीका किल्लाहरूमा वीरतापूर्वक लडेर साम्राज्यवादीहरूलाई लेखेटेको इतिहास ताजै छ । यो कहीँ कहिल्यै झुकेको र चुकेको छैन । अब पनि झुक्दैन-चुक्दैन । हामीलाई सन् १८१६ र सन् १९५० को कोण र नजरले नहेरियोस् । समय धेरै अघि गइसक्यो ।
नेपाल कसैको क्रीडास्थल होइन । यो कुनै निरीक्षण र परीक्षणशाला पनि होइन । यो कुनै अपराधी समूहको आश्रयस्थल पनि होइन । यो हाम्रो पवित्र वीरभूमि हो । हाम्रो आत्मा, धुकधुकी र जीवन हो । हामी यसमा स्वतन्त्रता र स्वाधीनताको ऊर्जा र जवानी भर्न चाहन्छौँ । हामी हाम्रो राष्ट्रको स्वाधीनता र स्वतन्त्रताका लागि अनन्त बलिवेदीमा होम्मिन तयार छौँ तर सम्झौता, आत्मसमर्पण र गद्दारी हामी अलिकति पनि सहन र गर्न चाहन्नौँ । नेपाल र नेपालीको पहिचान भनेको सत्य र न्यायका लागि इमानदारी, त्याग, वीरता र बलिदान हो । यसर्थ नेपाल कुनै बेवारिसे वस्तु होइन । कसैले पनि यसलाई क्रीडास्थल बनाउने धृष्टता नगरोस् ।
Fatal error: Call to undefined function related_posts_by_category() in /hermes/bosoraweb133/b2628/d5.sanjaalc/public_html/nepaliarticles/wp-content/themes/notepad-chaos/single.php on line 58