Nepali Articles

Collection of Nepali Articles In Nepali Language

Bikram Subba – Badhyatabad

May11

विक्रम सुब्बा – बाध्यतावाद
(Sent to Sanjaal Corps via email)

मैले पनि एउटा साहित्यिक आन्दोलन प्रतिपादन गर्नु पर्‍यो, नयाँ सिद्धान्त नाकल्नु पर्‍यो भन्ने सोचेँ । सोचेपछि निस्किँदो रहेछ । मेरो दिमागबाट सिद्धान्त निस्कियो जसको नाम राखेँ “बाध्यतावाद” । जसरी पीएचडी गर्नेले पहिले आफ्नै दिमागमा निचोड सोचिसकेको हुन्छ र त्यसपछि प्रोफेसरले दिएको निश्चित फरम्याट अनुसार चाहिने अनुसन्धानको मुख्य ‘समस्या’ लेख्छ र पुष्टि गर्न तथ्याङ्क खोज्दछ । अर्थात, पीएचडी पहिले दिमागमा गर्ने अनि त्यसैलाई पुष्टि गर्न तथ्यांक खोज्ने । यो दुनिया तथ्यांहरूको त भण्डारै हो । जसलाई जे पुष्टी गर्न पनि चाहिएको तथ्यांक यहाँ भेटिन्छ । त्यसैले जसले पनि पीएचडी पाइरहेकाछन् । मैले पनि “बाध्यतावाद” भन्ने सिद्धान्त पहिले निकालेँ र अब त्यसको पुष्टि गर्ने कुराहरु खोज्नु पर्ने भयो । खोज्दा नै भेटिन्छ । मैले पनि “बाध्यतावाद”लाई पुष्टि गर्ने थुप्रै कुराहरू भेटेँ । हेर्दैलाँदा, दुनियामा जसले पनि बाध्य भएर मात्र केही गरेको रहेछ । म कवि मान्छे, फर्केर हेर्दा मैले पनि आजसम्म जे जति कविता वा गीत रचेँ त्यो सबै बाध्य भएर मात्र गरेको रहेछु । । जस्तै:

मैले सबैभन्दा पहिले मायालुको नाममा कविता लेखेँ । किन? किनभने मायालु प्रतिको माया यति शक्तीसाली भएर म भित्र पस्यो कि म दिन रात रन्थनिएँ । जतिबेला पनि मायालु भेट्न मन लाग्ने । सपनामा उसैलाई देख्ने । कतै हिँडिरहेको बेला उसैको यादले दिमाग गाँज्ने । तर मायालु भने कहिले काहीँ झल्याक्झुलुक मात्र भेट हुने । बडो धर्मसंकट । त्यसपछि बौलाहाजस्तो हुन थालेँ । के गर्ने र कसो गर्ने हुन थाल्यो । तब मैले उपाय निकालेँ – ‘मायालुको नाममा कविता लेख्ने…’ र बहुलाउँनबाट बच्ने । त्यसपछि कापी कलम लिएर मैले फटाफट मयालुको मायाको महानतामा कविता लेख्न थालेँ । मेरो मन सिमलको भुवाझैँ हलुँगो हुन थाल्यो । म भित्रको उकुसमुकुस बाढीपछिको बगरजस्तै शान्त देखियो । राती अनिकालको ढिकीझैँ मस्त निदाउँन सक्ने भएँ । मायालुको याद आए – झिक्यो र पढ्यो त्यही कविता अनि केही शान्त भयो । सब ठीकठाक भयो । अहिले सम्झन्छु, मायालुको कविता त बाध्य भएर पो लेखेको रहेछु । मेरा कविताहरू बध्यतावादले जन्माएका कविता पो रहेछन् । अधिकांश कविहरूले जीवनमा पहिलो कविता माया गर्न थालेपछि जब मायाले बेस्सरी सताउँन थाल्यो त्यसपछि आफ्ना मायालुलाई नै विषय बनाएर लेखेका छन् । यो “बध्यतावाद” पुष्टि गर्ने पहिलो तथ्यांक हो ।

जवानीमा जव मेरो शरिर भरी कम्युनिष्ट विचार पस्यो त्यसपछि मैले मजदुर, किसान, ज्यामी, गरिब, महिला, दलित, जनजाती, बालबालिका जस्ता अधिकारबाट बञ्चितीमा पारिएकाहरूको बिचल्लीका कारण बुझ्न थालेँ । काम गर्ने ज्यामी भोकै पर्ने र काम नगर्ने मालिक धनी हुने ? रगत पसिना गरेर हलो जोत्ने किसान भोकै तर सामन्त सम्पतीवाला ? घरमा दिन रात काम गरेर घर धान्ने महिला अपहेलित र पुरुष घर मालिक?, आदिजस्ता अमिल्दा सामजिक रीति रिवाज र चालचलन देखेँ । यो त सरासर अन्याय हो भन्ने कुरा द्वन्दात्मक भौतिकवाद मार्फत बुझेँ र यो अन्यायी प्रचलनका बिरुद्ध म भित्रको रगत उम्लिन थाल्यो । त्यसैले म बाध्य भएर जागरण गीत लेख्न र गाउँन बाध्य भएँ । मेरो विश्वास – “अत्याचार र शोषणमा पिस्सिएकाहरू नै जाग्नु पर्छ, संघर्षमा जुझ्नु पर्छ र मात्र मुक्ती हासिल हुन्छ ।” त्यसैले मैले जागरण गीत लेखेँ । सोद्धै खोज्दै जाने हो भने कुनै पनि लेखक कुनै न कुनै किसिमले बाध्य भएर लेखिरहेको हुन्छ । जस्तै: कोही कमाउँने चाहनाले बाध्यभएर लेख्छन् । कोही दुइचार पैसा आम्दानी बढाउँन बाध्य भएर लेख्छन् । कोही कलाको सौखिन भएकोले त्यही ‘सौख’ नामक स्वर्थ पुरा गर्न बाध्य भएर लेख्छन् । कोही मन सारै दु:खी भएपछि बह पोख्न बाध्य भएर लेख्छन् । यी सबैले “बध्यतावाद” जीवनको अभिन्न पक्ष हो भनेर नै पुष्टी गर्दछन् ।

मैले किराती सामाजिक नीति शास्त्र “मुन्धुम” पढेँ । यो संसार कसरी बन्यो? जगत, बनस्पती, किट-पतंग, डाँडा-काँडा, फुल-पात, रुख-बुट्यान, झरना-खोला, बादल-वर्षा, जलचर-थलचर बनिसकेपछि पनि मानिसबिना त सृष्टी सुहाएन । किसिम किसिमका धातुबाट मानिस बनाउँदा पनि नबोलेपछि निङवाफुमाङ छक्क परे । दिक्क वाक्क पनि लाग्यो । विचारमन्थन गरेर अंतिम प्रयासका रुपमा खरानी र कुखुराको सुली मुछेर निङ्वाफुमाङले मानिस बनाए । हु हु हा हा गर्न लाउँदा त्यसले हु हु हा हा गरेर त्यो बोल्यो । निङ्वाफुमाङलाई सारै झ्वाँक चल्यो । सुन, चाँदीजस्तो अमुल्य धातुहरूको मानिस बनाउँदा नबोल्ने । नाथे खरानी र कुखुराको सुलीको बनाएपछि बोल्ने? थुइ::क्क तँ मरिजा ! भनेर सरापेछन् । मानिस खुत्रुक्कै मरि हालेछ । बल्लबल्ल बनाएको मानिसलाई निङवाफुमाङले आफैले मारेपछि त ठुलो फसाद पर्‍यो । त्यसपछि निङवाफुमाङले फेरि झार-फुक, तन्त्र-मन्त्र, जडि-बुटी, ओखती-मुलो गरेर मानिसलाई ब्युँताउँन बाध्य भए । यसरी यहाँ पनि सर्वब्यापी “बाध्यतावाद” बाट मानव सृष्टी सुरु भएको देखा परेकोछ ।

मैले रामायण सुने-पढेकोछु । यो काव्य पनि कुनै कविले बध्य भएर लेखे । तर यसमा रहेको धर्मान्धता र राजाको गुणगान यति शसक्त भइदियो कि हरेक राजा-रजौटाले यसलाई आफ्नो अस्त्रका रुपमा जताततै प्रचार गरे । कमजोर नागरिकले रामायणको (राजा) राम लगायत सबै पात्रलाई दैवको लीला नै ठान्न बध्य भए । कथामा राम्ररी हेर्ने हो भने ‘पिताको वचन नकाट्ने साँस्कृतिक मुल्य-मान्यता’को बाध्यताले गर्दा राम बनतिर लागेको देखिन्छ । त्यसैले राम पनि बध्यतावादी हुन् । जोगीको वचन उलंघन गर्न नहुने सिष्टताको बध्यताले लक्ष्मण रेखा नाँघेपछि सीताको हरण भयो । यसरी सीता पनि बाध्यतावादको सिकार भएकी देखिन्छिन् । त्यसो त हेर्दै लाने हो भने रामायण सिङ्गै बाध्यतावादका उदाहरणहरूको पोथो जस्तो लाग्छ । तपाइँ आफैँ राम्ररी हेर्नुस् त ! दशरथ, कौसल्या, भरत, हनुमान, सुग्रिव, लछुमन, रावण आदिले रामायणको नौटंकीमा जेजे गरेका छन् ती सबै बाध्य भएर गरेका छन् ।

मैले महाभारत पनि सुने-पढे-हेरेकोछु । कृष्णले बनाएका युद्धको नियमले बाँधिएकोले नै अर्जुनले आफ्नै मानिसहरुलाई पटापट वाण ठोकेर भकाभक ढाल्न बध्य भएका छन् । आमाको वचनले बाध्य भएर सबै दाजु-भाइ मिलेर एउटै द्रौपदीले गुजारा गर्न बाध्य भएको कुरा पनि यही महाभारतमा सुन्न-पढ्न पाइन्छ । जुवाडे बानीले बाध्य भएर जुवाको खालमा आफ्नो श्रीमती नै हारेको यहीँ देखिन्छ । र जुवामा जितिएकी एउटी नारीले नांगिनु पर्ने बध्यता पनि यहीँ पढ्न पाइन्छ । तपाइँ आफैँ हेर्नुस् ! गान्धारीको बाध्यता कस्तो छ? अन्धो राजाको बाध्यता कस्तो छ? एक सत्यवादीको बाध्यता कस्तो छ? चक्रब्युहमा पस्न सक्ने तर निस्कन नसक्नेको बाध्यता कस्तो छ? यसका बारेमा योभन्दा धेरै के बोलौँ? अब म सिरिफ ‘विज्ञसु किमयाधिकम् इत्यालम्’ अर्थात ‘तपाइँ विज्ञहरूलाई योभन्दा बढी म के भनौँ?’ मात्र भन्न बाध्य छु ।

मैले वुद्धलाई पढेँ । वुद्धको जीवनमा पनि जतासुकै बध्यतावादहरू भेटिन्छन् । वुद्धले किन राजदरवार त्यागे? किन आफ्नो जवान श्रीमती र नावालक बच्चा छोडेर हिँडे? किनभने वुद्धले दुनियामा दु:ख देखे, अशान्ति देखे र तीनको कारण खोज्ने, शान्तिको मार्ग प्रसस्त गर्ने निश्चय गरेपछि सो कुरा राजदरवारमा र श्रीमतीको अँगालोमा नपाइने भएकोले वुद्धले कि त आफ्नो उद्देश्य त्याग्नु पर्‍यो कि त राजदरवार र श्रीमती त्याग्नु पर्ने खण्ड आयो । उनले आफ्नो उद्देश्य त्याग्न सकेनन् जसले गर्दा बाध्य भएर उनले राजदरवार, श्रीमाती तथा घरगृहस्ती त्यागे । यहाँ झन बडो ठूलो बध्यातावाद को उदाहरण पाइन्छ । तथापी, बुद्ध बाध्य भएर यसरी नहिँडेको भए संसारले एउटा शान्ति दूत पाउँने थिएन । बुद्ध बाध्य भएर यसरी नहिँडेको भए संसारलाई कति धेरै घाटा लाग्नेथियो?

मैले जिजशख्राइष्टवाला बाइबल पनि पढेकोछु । उनकी आमाले कुमारी छँदै गर्भ धारण गरेको घटनामा एक युवतीको जवानीले सृजना गरेको बध्यता छैन भनेर कस्ले भन्छ? जन्मे बढे हुर्केपछि जिजशले समाजिक काम गर्न थाले । रोगी, कोढी, दु:खी, अछुत, अपहेलित महिलाहरुको सेवा गर्न थाले । मैले देख्दा उनी तात्कालिन एक ठूलो समाज सेवी हुन् तर उनले रोगी, कोढी, दु:खी, अछुत, अपहेलित महिलालाई गरेको सेवा यति अमुल्य हुन पुग्यो कि रोगी, कोढी, दु:खी, अछुत, अपहेलित महिलाहरु उनलाई परमेश्वर नै ठान्न बाध्य भए । हुँदा-हुँदा रोमका राजाहरू ख्रिश्चियन धर्मलाई नै राज्यधर्म भनि मान्न बाध्य भए । बाइबल र अंग्रेजी भाषा लिएर निस्केका फिरंगीहरूको अधिनमा कैयौँ मुलुक उपनिवेश हुन बाध्य भए । यही उपनिवेशवादी तथा साम्राज्यवादीहरूको विरुद्धमा संसार जाग्यो तर साम्राज्यवादीहरूले संसारलाई दबाएरै राख्न चाहे जसले गर्दा मान सभ्यता ठुलाठुला विश्वयुद्धहरुबाट गुज्रिनु पर्‍यो । आज तिनै उपनिवेशवादी तथा साम्राज्यवादीहरू भूमण्डलीकरण, मानव अधिकार, सामाजिक समावेशीकरणजस्ता नयाँ अवधारणाको अस्त्रले दुनियाभरका दिमागमा आक्रमण गर्ने र कब्जा गर्ने गरिरहेछन् । विश्वको ठुलो भाग तिनै बाइबल र अंग्रेजीवालाको संख्याले ढाकेकोछ र अझ फैलँदोछ । नेपालमा पनि हिन्दु धर्मबाट तिरस्कृत केही दलित र केही जनजाती त्यही बाइबललाई आफ्नो साँस्कृतिक तथा आत्मिक पथप्रदर्शक मान्न बाध्य हुँदै गएको देख्छु । तिनै साम्राज्यवादीले चलाएको दिमाग भुट्ने ‘मानव अधिकार’, ‘सामाजिक समावेशीकरण’को खेती गरेर नेपाली साम्राज्यवाद बिरोधी कम्निष्ट हुँ भन्नेले पनि गुजारा गर्न बाध्य भएको देख्छु । सँस्कृतमा आचार्य पास गरेका पण्डितले अंग्रेजीमा एमए गर्न बाध्य भएको देख्छु । यसरी ‘खाँट्टी हिन्दु’ले पनि तिनै साम्राज्यवादीहरूको ‘अंग्रेजी’लाई पुजेको देख्छु । तिनै ख्रिश्चियन तथा साम्राज्यवादीहरूको ‘अमेरिका’, ‘बेलायत’जस्ता मुलुकलाई स्वर्ग ठानेर उतै बसैँसर्न बाध्य हुँदै गएको सबैले देखेकैछौं । योभन्दा पेचिलो र भयानक बाध्यतावादको उदाहरण कतै पाइन्छ?

मैले कुरानमा मोहम्मदलाई पनि पढेँ । उनि पनि तात्कालिन समाजका एक उदाहरणीय सामाजिक अगुवा वा कल्याणकारी नेता हुन् । तर तात्कालिन सम्राट र वादशाहहरूले उनलाई पैगम्बर ठानिदिएपछि विरुद्धमा कोही पनि नबोल्न मुस्लिम समुदाय बाध्य भयो । यही बाध्यताले गर्दा समाजसेवी मोहम्मद अल्लाहका दूत पैगम्बर हुन बाध्य भए ।

मैले कन्फ्यूसियस पढेँ । कुनै पनि घटनाको असर दीर्घकालिन हुन्छ । तसर्थ कुनै पनि घटनाले पारेको असरबारे तात्कालै निचोडमा पुग्नि हुन्न भन्न कन्फ्यूसियस किन बाध्य भए ? किनभने मानिसलाई संझाएरै अपराधीबिहीन समाज सृजना गरेपनि तात्कालिन चिनीया सम्राटहरुले षडयन्त्र गरेर कन्फयूसियसलाई कुर्सी छोड्न बाध्य पारेपछि कन्फ्यूसियस यस्तो दार्शनिक निचोड निकाल्न बाध्य भए । यहाँ झन गज्जबको गहिरो बाध्यतावाद व्याप्त छ ।

सोफोक्लीजको भयानक नाटकमा आफ्नै बहादुरीले गर्दा ‘ईडीपस’ आफ्नै आमा हो भन्ने थाहै नपाई जोकाष्टासँग विवाह गरी सन्तान जन्माउँन (राजा ईडीपसमा) बाध्य भएको देखाइएकोछ । त्यसपछि आफ्नै आमालाई श्रीमती बनाएको कुरा ईडीपसले र आफ्नै छोराको श्रीमती हुन पुगेको कुरा जोकाष्टाले चाल पाएपछि जोकाष्टा झुण्डिएर मर्न बाध्य भइन् भने यो मैले के देख्नु पर्‍यो? भनेर ईडीपस आफ्नै नङ्ग्राले आफ्ना आँखा चिथोरेर निकाल्न बाध्यछन् । यहाँ झन डरलाग्दो बाध्यात्मक घटनाहरू नाटकमा शसक्त किसिमले बुनिएका छन् ।

दार्शनिक सोक्रेटस आफ्नो सिद्धान्तमा दृढ थिए । उनैले राजाहरूको अन्याय-अत्याचार देखेपछि कम्युनिज्मको परिकल्पना गर्न बाध्य भए । जहाँ हरेक शोषित पिडीत जनताको लागि समानता हुनेछ भनि उनले कल्पना गरेका थिए । उनको यो विचारले गर्दा तात्कालिन शासकहरुको मुटु हल्लियो । जसले गर्दा राजाहरूले उनलाई क्षमा माग्न वा मर्न तैयार हुन भने । तर सोक्रेटस आफ्नो सिद्धान्तमा अडिग भएकोले बरू हाँसीहाँसी मृत्यूदण्ड स्वीकार्न बाध्य भए । यो पनि बाध्यतावादको एक शसक्त नमुना हो ।

दार्शनिक सोक्रेटसका चेला एरिष्टोटल विलासमा हुर्केका र बढेका थिए । नोकर चाकरबिना उनी केही गर्न नसक्ने भएपछि ‘दाश प्रथा’ को समर्थन गर्न र प्रजातान्त्रिक व्यवस्था(व्यक्तीको स्वतन्त्रको पक्षधर)को सिद्धान्त निकालेर आफ्नो स्वर्थ अनुसार चल्ने वातावरन तेयार गर्न बाध्य भए । उनले राजाले वा शासकले आफ्नो शासनलाई के के गरेर बचाउँनु पर्छ? भन्ने कुराको उपाय समेत सुझाउँन बाध्य भए । जस्तै:
1)आफ्नो सरकार विरुद्धमा लागेकालाई सबैभन्दा पहिले जागिर वा पुरस्कार दिएर फसाउँनु पर्छ,
2)त्यसपछि पनि त्यो व्यक्ती आफ्नो हुन नसके त्यसलाई जेल हाल्नु पर्छ
3)जेलबाटै पनि विद्रोहको नेतृत्व गरे उसलाई मार्नु पर्छ, आदि

अब्राहम लिंकन लज्जालु स्वाभावका थिए । थोरै बोल्थे । प्रजातन्त्र भनेको के हो ? भन्ने कुराको जवाफ पनि उनले लजाउँदै दिए ‘‍जनताले, जनताद्वारा, जनताको निम्ती’ । त्यतिखेर यो भनाई बडो आधुनिक कविताहरू ‘आमाको सपना’, ‘फर्सिको जरा’, मातेको मान्छेको भाषण..’ जस्तै “न्यु टेष्ट ईन टाउन” भइदियो । अहिले दुनियाँ संसार लिंकन के हो? प्रजातन्त्र के हो ? भनि सोधे – ‘‍जनताले, जनताद्वारा, जनता(जजज)को निम्ती’ भन्न बाध्य भएकोछ । यो आकर्षक नाराले ‘जनता’ भनिरहँदा त्यहाँ ‘धनी र गरीब’, ‘किसान र सामन्त’, ‘सोषक र शोषित’, ‘महिला र पुरुष’, ‘मालिक र मजदुर’लाई होलसेलमा कुरा गरेर छोपिएकोछ । जसले गर्दा थुप्रै मानिस अलमलिन बाध्य भएकाछन् । यी दुइ भिन्न वर्गका समस्या छुट्टै छन्, चाहना र मुक्तीका बाटा छुट्टै छन् भन्ने तथ्यलाई जजजले मज्जाले छोप्ने कसरत गरेकोछ । किनभने यसो हुन सके मात्र ‘धनी, शोषक, मालिक र पुरुष’हरूको वर्चश्व रहिरहने हुनाले उनीहरू जजजलाई मन्त्रझैँ घोक्न बाध्य छन् ।

कार्ल मार्क्सले समाजको रुपान्तरण प्रकृयामा द्वन्दात्मक भौतिकवाद र पुँजीको भूमिकालाई यति गहिरोसँग बुझे कि “पुँजी” लेख्न बाध्य भए । त्यसपछि, रणनैतिक रुपमा कसरी समाज परिवर्तन गर्ने प्रकृयालाई दुनियामा सँस्थागत गर्ने त? भन्ने ठूलो सवाल सामुन्ने आयो । जसले गर्दा कार्लमार्क्सले ऐँगेल्सँग मिलेर कम्युनिष्ट मेनुफेष्टो लेख्न बाध्य भए । त्यसैको आधारमा स्थापित कम्युनिष्ट पार्टीहरु मार्फत दुनियामा स्रमजिवी (गरीब, मजदुर, किसान, शोषित तथा महिला)को हक अधिकारको झण्डा युग युग उठाई जजजको भ्रमलाई तोड्ने कार्यमा जुट्न निम्न बर्ग र सक्कली कम्यनिष्ट पार्टीहरु बाध्य छन् ।

अहिले दुनियामा ख्रिस्चियन, हिन्दु, बुद्धिष्ट धर्मावलम्बी नभएका थुप्रै मुलुक भेटिन्छन् तर कम्युनिष्ट नभएको देश र समाज भेटिन्न । यो गती झन् झन् बढदो छ । कम्युनिष्टहरूको यही प्रभावको गतीलाई रोक्न वार्षिक अरबौँ डलर खर्च गरेर जिम्मी कार्टरको पालादेखि कम्युनिष्ट बिरोधी बुद्धिजिवीहरू किनेर ‘मानव अधिकार’, ‘विश्वव्यापीकरण’, ‘वातावरण’, ‘लैङ्गिक विभेद’, ‘समावेशिकरण’, र हाल आएर ‘जलवायु परिवर्तन’ जस्ता नयाँ सिद्धान्तहरु निकालेर कम्युनिष्टहरूलाई वा कम्निष्टमा लाग्ने संभावित मानिसलाई अलमल्याउँन पुँजवादी मुलुकहरू वाध्य छन् । यो ब्रह्माण्ड स्तरकै बाध्यता हो । पुँजीवादीहरूले यसरी ब्रम्हाण्ड स्तरको भ्रमले प्रहार गरेपछि कम्युनिष्टहरू चाहीँ सासानो कुराहरुमा विबाद निकाल्दै पार्टीलाई टुक्र्याउँदै ‘पुन: मुसिको भव’ हुन बाध्य छन् ।

गान्धी त्यतिबेला दक्षिण अफ्रिकामा वकालत गर्ने गर्थे । एक दिन अदालतमा गोरो न्यायधीशकासामु दरो तर्क दिन नसकेर रुन बाध्य भए । उनी रुँदै भारत फर्के र त्यही ‘रोदन’लाई भारतमा ‘सत्याग्रह’को नयाव रुपमा विकसित गेरर बृटिसहरु बिरुद्ध जीवनभर लाग्न उनी बाध्य भए । मुस्लिमहरूको आकांक्षालाई संबोधन गर्न नसक्दा ‘भारत’बाट ‘पाकिस्तान’लाई जिन्हाले चुँडाएर लगेको टुलुटुलु हेरेर बस्न पनि गान्धी बाध्य भएकै हुन् । आफ्नै मुलुकको एक चोक्टा कसैले चुँडालेर लगेको बसेर चुपचाप हेर्नु पर्ने यहाँ कस्तो पीडादायी बाध्यतवाद लुकेको छ । तर त्यही गान्धीलाई नेहरुले भनेपछि सारा भारतबासी ‘बापु’ भन्दै ढोग गर्न बाध्य छ ।

रसियाको परिस्थिती बेग्लै थियो । मार्क्सवादी सिद्धान्तलाई रसियाको परिस्थिती अनुसार सृजनात्मक रुपले ढालेर लागु गर्न लेनिन बाध्य भए । लेनिनले बाध्यतावादको सहारा नलिएको भए असफलता मात्र हात लाग्ने थियो । लेनिनको मुलुकमा ‘पेरेस्त्रोइका’ र ‘ग्लास्नोस्त’ भन्दै आफ्नै किसिमको पुँजीवाद हुल्न पनि गोर्वाचोभ बध्य भए । जसले गर्दा अचेल रसिया अमेरिकाको पुच्छरको छायाँजस्तो हुन बाध्य देखिन्छ ।

माओत्सेतुङले चीनको वर्ग सँघर्षलाई कसरी चर्काउँदै लगेर सामन्तहरुलाई तह लगाउँने? भनि मार्क्सवाद-लेनिनवाद अध्ययन गरेपछि चीनको जस्तो तात्कालिन सामन्ती समाजबाट सिधै पुँजीवाद र समाजवादतिर समाज रुपान्तरित हुन सक्दैन भन्ने थेशिस निकाले जसलाई ‘नौलोजनवाद’ भन्न उनी बाध्य भए । अब नौलो जनवाद ल्याउँन कोमिन्ताङको बिरुद्ध मिल्न सक्ने राष्ट्रवादी शक्तीहरुसँग मिलेर जान पनि बध्य भए । जितेपछि ‘सबैले मिलेर जानु पर्छ भन्न पनि बाध्य भए । तर भित्र भित्र चाहीँ कम्युनिष्ट पार्टीलाई नै नेतृत्वमा राख्ने ट्याक्टिस गर्न पनि बाध्य भए ।’ चीन आफ्नो ठूलो जनसंख्यालाई पाल्न बेस्सरी काम गर्न बाध्य भयो । यसरी बाध्य भएर नै चीनले कत्रो उन्नती गरिदियो । जसले गर्दा हिजोआज अमेरिका, बेलायत, क्यानाडाजस्ता मुलुकहरु पनि चिनमा बनेको समान उपयोग गर्न बाध्य सन् ।

दरबार, हमेरिका र भारतको गोप्य निर्देशनमा ४० सुत्रिय माँग देउबा सरकारले नमानिदिएकोले नेपालमा जनयुद्ध थाल्न माओवादी बध्य भएकै हो । बम र बन्दुकले मात्र छिनोफानो नहुने देखेपछि माओवादी शान्ति प्रकृयाका निम्ती वार्तामा आउँन बाध्य भएकै हो । माओवादी, कांग्रेस र एमालेले दिल्लीमा सम्झौता गरे । दिल्लीमा सम्झौता गरेपछि यो सबै भारतको इसारमा भयो भन्ने कुरा आउँने नै भयो । यसरी नेपाली इतिहासले फेरि एउटा कालो अनुहारमा बाध्यतावस पोतेकै हो । नेपाली कांग्रेस र एमाले जस्ता राजाको आशिर्वादमा पाएर प्रधानमन्त्री र मन्त्री खाएका राप्रपाभन्दा धुर्त शैलीका राजावादी पार्टीहरू अब पनि गणतन्त्र समविधानसभाको कुरा नगरे राजनितिक पत्ता साफ हुने परिस्थिती आएपछि बाध्य भएर मात्र “गणतन्त्र” र “संबिधानसभा मार्फत समविधान” जस्ता माओवादी एजेण्डा आफ्नो घोषणा पत्रमा मन नलागी नलागी भएपनि लेख्न पुगेकै हो । तर विचरा नेपालि कामग्रेस र एमालेको मनमस्तिष्कमा गडेर बसेका राजा कहाँ छुट्थ्यो र ? त्यसैले बाद्य भएर ‘बेबी किङ’को बिकल्प अघि सार्न उनीहरू बाध्य भएकै हुन् । सिंगै जनताले सो कुरा ठाडै नमानेपछि उनिहरू बाध्य भएर मात्र चुप लागेर बस्न उनीहरू बाद्य बएके हुन् । बाध्य भएर नै पुस्तौँ पुस्ताको शानसौकत त्यागेर ज्ञानेन्द्रले नारायणहिटी छोडेकै हुन् ।

श्रीमान् श्रीमतीहरू आजिवन संगै बाँच्ने-मर्ने भनेर कसम खाँदै सिन्दुर टीका र माला औँठी गर्छन् । तर कैयौँको मन नमिले पछि, सँगै गुजारा नै नहुने वातावरण भएपछि पारपाचुके गर्न बाध्य भएका देखिन्छन् ।

विदेशीहरुसँग माँगेर वार्षिक बजेट बनाउँन बाध्यता भएको मुलुकको प्रधानमन्त्री विदेशीहरुको ईसारामा नाच्न बाध्य हुने नै भयो । खाने मुख ठूलो भएकाहरू सरकारी कार्यालयमा पसेका छन् र उनीहरु जति पनि खान बाध्य छन् । अमेरिकाले इराक र अफगानिस्तानको तेल र ग्यास कब्जमा लिन आक्रमण गरेर आफ्नो कठपुतली सरकार बनाउँने नाटक गर्न बाध्य भएको देखिएकै छ ।

यसरी सुक्ष्म ढंगले हेर्ने हो भने बाध्य नभइ मानिसले केही गर्दैन । उसले सबथोक बाध्य भएर मात्र गर्छ । उपन्यासकारले कुनै घटना नलेखिनसक्ने भएपछि बाध्य भएर मात्र उपन्यास लेख्छ । कविले छातीभित्रको उकुसमुकुस खपिनसक्नु भएर बाध्यताले कविता लेख्छ । सम्झेर ल्याउँदा, मैले पनि बाध्य भएर मात्र कविता लेखेँ । त्यसैले मेरा सबै कविताहरू “बाध्यतावादी कविता आन्दोलन”का फुल-काँडा हुन् । हिजोआज पनि जबरजस्ती म लेख्न सक्दिन । तर जब नलेखिनसक्ने गरी बाध्य हुन्छु अनि लेख्छु र मात्र मन शान्त हुन्छ । त्यसैले म एक बाध्यतावादी कवि । तपाइँ पनि कुनै न कुनै फाँटको वा क्षेत्रको बाध्यतावादी नै हो । हो कि होइन? सोचि हेर्नोस् – ‘हो’ भन्न तपाइँ पनि बाध्य हुनुहुन्छ ।

म तपाइँलाई सम्झना दिलाउँ? ज्ञानेन्द्रको निरंकुशताका विरुद्ध तपाइँ हामी सबै जुट्न बाध्य नभएकोभए नेपालमा गणतन्त्र सुरु हुन्थ्यो? माओवादी पार्टीलाई ६० सिट दिएर एमालेले चुनावमा मिलाएर लगेको भए माओवादी पार्टी कस्सिएर चुनावमा लाग्न बाध्य हुन्थ्यो? ईक्खिएर र कस्सिएर लागेको भएर न माओवादी सबैभन्दा धेरै सिट जित्यो सबै पार्टीहरू माओवादीलाई ‘सबैभन्दा ठूलो पार्टी’ भन्न बाध्य भए । तर सो कुरा मन नपराउँने पार्टीहरू मिलेर उसलाई अनेक गरेर माओवादीलाई पाखा लगाउँन बाध्य भए । यहाँ रसजनैतिक बाध्यताहरूको कुरा प्रष्ट छन् ।

परिवर्तन जहिले पनि राजनीतिबाट सुरुहुन्छ र आर्थिक क्षेत्रलाई बदल्दै त्यसपछि साँस्कृतिक परिवर्तन गर्दै अघि बढ्न बाध्य हुन्छ । नेपालमा अहिले राजनैतिक परिवर्तन पनि सुनिश्चित भइसकेको छैन । आर्थिक परिवर्तनको खाका कांग्रेस र एमालेको थाहा भएके हो तर माओवादिले पनि दिन नसकेपछि आर्थिक परिवर्तनको कुरा अलमलमा पर्न बाध्य छ । साँस्कृतिक परिवर्तनको त कुरै चलेको छैन ।

अहिले हरेक पार्टीका मानिसहरु आफुलाई सिरिपेच पहिरिन लायक युवराज ठान्छन् भने कसरी गणतन्त्र आइसक्यो भन्ने? आर्थिक सम्बन्धहरूको परिवर्तन र मनमस्तिष्कभित्रको सोचाइका तहमा साँस्कृतिक परिवर्तन नभइ पुरानो जमाना निथर नाथर भएर मैझारु हुँदैन । त्यसैले म र मजस्ता साथीहरू अहिले पनि गणतन्त्रको पक्षमा धेरै काम बाँकी नै छ भन्न बाध्य भएका छौँ । र हामीजस्ता साहित्य तथा साँस्कृतिक कर्मीहरू गणतन्त्र कविता आन्दोलन मार्फत अझै काम गरिरहन बाध्य छौँ । म त्यही बाध्यतावदी मानिसहरुको झुण्डमा एक बाध्यतावादी कविता आन्दोलन मार्फत सर्वव्यापी बाध्यतावाद – जिन्दावाद ! भन्न बाध्य छु ।

(जेष्ठ ११, २०६७। मे २५, ०१०, काठमाण्डौँ)

posted under Bikram Subba
You might also like to read the following poems:

    Fatal error: Call to undefined function related_posts_by_category() in /hermes/bosoraweb133/b2628/d5.sanjaalc/public_html/nepaliarticles/wp-content/themes/notepad-chaos/single.php on line 58