Nepali Articles

Collection of Nepali Articles In Nepali Language

Lok Narayan Subedi – Agadi Badhne Ki

May13

लोकनारायण सुवेदी – अगाडि बढ्ने कि (विचार/विवेचना)

अन्ततः राष्ट्रपतिसँग सहमतिका लागि भनेर बढाइमागेको समयावधिमा पनि संविधानसभाका दलहरूले साझा राष्ट्रिय दृष्टिकोण विकास गरेर राष्ट्रिय सहमतिको सरकार बनाउने कुनै ठोस निष्कर्शमा पुग्न सकेनन् । बहुमतका आधारमा नै सरकार बनाउने क्रम अहिले चलिरहेको छ तर, भावी प्रधानमन्त्री कुन दलको कुन नेता हुने भन्ने कुनै टुङ्गो लागेको छैन । यसरी राजनीतिक दलहरूको तीव्र कुर्सीमोहले गर्दा एकातिर राजनीतिक गतिरोध निरन्तर छ भने अर्कोरित देश अझै पनि अन्योल, अनिश्चितता र अराजकताकै स्थितिमा रहिरहेको छ । कुनै दलका कुनै नेताको नेतृत्वमा सरकार बनिहाल्यो नै भने पनि यो अन्योलको क्रम भने रहिरहने देखिएको छ । त्यसैले मुलुक र जनताले सकीनसकी व्यहोरिरहेका समस्या समाधान गर्दैजाने र यसरी देश एवं जनतालाई त्राण दिँदै अघि बढ्ने बाटोमा राजनीतिक नेतृत्व अब पनि अगाडि बढ्नसक्ने कुनै शुभ-सङ्केत देखिँदैन ।

दलहरूले आफनै सङ्कीर्ण दलीय र गुटगत स्वार्थबाट डोरिएर हिड्ने गलत राजनीतिक संस्कृतिको विकास गर्दै आएकाले आज यस्तो स्थिति सिर्जना भएको हो । यस्तो प्रबृत्ति कायम रहेसम्म यो भन्दा अर्को कुनै सकारात्मक परिणाम निस्कने अपेक्षा गर्न पनि सकिँदैन । जबसम्म जनता र राष्ट्रलाई अल्मल्याउने र अन्ततः धोका दिने चरित्रलाई पनि सामान्य रूपमा लिने राजनीतिक कार्य संस्कृतिले मुलुकलाई गाँजिरहन्छ तबसम्म नेपाली जनताले लामो र कठिन सङ्घर्ष गरेर ल्याएको अपूर्व परिवर्तनलाई आत्मसात गर्न र त्यसलाई संस्थागत तथा सुदृढ गर्न पटक्कै सकिने स्थिति बन्दैन । बरु यसलाई कमजोर पार्ने र गुमाउने बातावरणमात्र निर्माण हुन्छ । संविधानसभाको निर्वाचनपछिदेखि अहिलेसम्मका दलहरूका मति र गतिलाई हेर्दा यही एउटा निष्कर्ष निस्कन्छ ।

निश्चय पनि आफूलाई असली बामपन्थी, लोकतान्त्रिक तथा देश र जनताप्रति संवेदनशील र जिम्मेवार दाबी गर्ने दलहरूका यस्ता क्रियाकलापले आम नेपालीलाई होइन हिजोदेखि आजसम्म जनतालाई शोषण, अन्याय, थिचोमिचो गर्दै र हालहुकुम चलाउँदै आएका देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरूकै मनोबल बढाउँदछ र उनीहरूलाई फेरि पनि अधिकतम चलखेल गर्ने ठाउँ बनाइदिन्छ । अहिले विकसित स्थिति र गतिविधिले यही प्रदर्शन गरिरहेको छ । अझ भन्ने हो भने आज त यस्तो चलखेल तीव्र हुँदै आएको र यो धान्नै नसकिने सीमासम्म बढ्ने स्थिति देखापर्दै आएको छ । यस्तो स्थितिमा नेपाली जनता र राष्ट्रको सम्प्रभूता र सार्वभौमिक अखण्डता डरलाग्दो किसिमले धरापमा पर्ने, नेपाली जनताले ठूलो मूल्य चुकाउनु पर्ने भयावह स्थिति उत्पन्न हुनेछ । तर, पनि निणर्ायक र जिम्मेवार तहमा पुगेका राजनीतिक दललाई यसको कुनै चिन्ता र चासो रहेको पटक्कै देखिएको छैन ।

आज यो देशको समग्र रूपमा बिग्रँदो स्थितिलाई चिर्न र यसलाई सही दिशामा मोड्न तथा समस्या समाधान गर्दै जाने विश्वसनीय र भरोसायुक्त वातावरण सिर्जना गर्न फेरि पनि साझा राष्ट्रिय दृष्टिकोण निर्माण, साझा सहमति र सहकार्यभन्दा अर्को कुनै विकल्प छैन । वास्तवमा देश र जनतालाई एकजुट तुल्याएर अग्रगामी र उन्नत दिशामा निरन्तर अघि बढाउनकै लागि नेपालीले ६० वर्षदेखि विभिन्न उतारचढावका साथ अथक सङ्घर्ष गर्दै आएका हुन् र २०६२/६३ सालमा त्यो सङ्घर्ष केन्दि्रत भएर उत्कर्षमा पुगेको हो । तर, संविधानसभामा पुगेका दलहरू नेपाली जनताको त्यो असीम त्याग, बलिदान र सङ्घर्षलाई घोर उपेक्षा गरेर देशमा सुरु भएको गणतन्त्रात्मक अवस्थामा पनि पुरानै सामन्ती नवसामन्ती शासक वर्गले जस्तै लोकतन्त्रलाई आप\mनो बिर्ता सम्झने र मनपरीसँग त्यसको दुरूपयोग गर्ने सिद्धान्तहीन रााजनीतिमा लिप्त भएर चलेकाले गर्दा आजको असहृय र अपाच्य स्थिति उत्पन्न भएको हो ।

आफैँले बनाएको अन्तरिम संविधानले निर्दिष्ट गरेको दुई वर्षको समयमा पनि संविधानको आधारभूत रूपरेखा तयार गर्न नसक्नुका पछाडि यही प्रकृतिको प्रवृत्तिले काम गर्दै आएको प्रस्ट छ । त्यसले गर्दा जुन समस्या हल गर्न र मुलुकलाई सही दिशा दिन नेपालीले ऐतिहासिक तथा अपूर्व संयुक्त जनआन्दोलन चलाएका हुन् आज त्यसको मर्म र भावना अपहेलित र तिरष्कृत छ । वस्तुतः राजनीतिक दलहरूप्रतिको जनताको विश्वासमा धमिरा लाग्दै आएको छ । बहुदलीय व्यवस्थामा दलहरूप्रति जनताको मनमा अविश्वास र सन्देहको भाव जागृत हुने यस्तो स्थिति सिर्जना हुनुलाई कदापि सकारात्मक मान्न सकिँदैन । त्यसमा पनि आजको हाम्रो संविधान निर्माण गर्ने सङ्क्रमणकालीन संवेदनशील घडीमा राजनीतिक दलहरूप्रति जनतामा यस्तो भावना उत्पन्न हुनु/गराइनुलाई कदापि सुखद् र सकारात्मक मान्न सकिँदैन । राष्ट्रिय राजनीतिका परिचालक, त्यसमा पनि देश र जनताका लागि सङ्घर्ष गरेर आएका दलहरूप्रति यस्तो अमान्य स्थिति विकास हुनपुग्नु अत्यन्तै चिन्ताको कुरा हो । जिम्मेवार बन्नुपर्ने र प्रस्तुत हुनुपर्ने राजनीतिक दलहरू आप\mनै गलत चिन्तन र चरित्रले यस्तो अवस्थामा पुग्नु वास्तवमा कम चिन्ताजनक र पीडादायक अवस्था होइन । यस स्थितिबाट मुक्त हुने एउटा मात्र उपाय फेरि पनि आप\mना गम्भीर गल्ती कमजोरीहरूप्रति उत्तिकै गम्भीर र विश्वसनीय किसिमले आत्म-आलोचित हुँदै र तिनलाई सच्याउँदै तथा दोहोरिन नदिने दृढ अठोट र सङ्कल्प गर्दै राष्ट्रिय सहमतिको बाटोमा अग्रसर हुनु नै हो ।

वास्तवमा राष्ट्रिय समस्या समाधान गर्ने चिन्तन, चरित्र र चासो लिन तत्पर हुँदा र त्यसका लागि हरतरहले लागिपर्न तयार हुँदा मात्र फेरि पनि बिग्रँदै गएको स्थितिबाट मोडेर मुलुकलाई असफल हुनबाट जोगाउन सकिनेछ । आ-आफ्नै डम्फू बजाउँदै र वर्चस्व खोज्दै हिँड्न खोजेर कदापि सही दिशामा जान र सफल हुन सकिँदैन । विगतको हाम्रो देशको आप\mनै आन्दोलनको इतिहासले पनि यो सिद्ध गरिसकेको यथार्थ हो । न माओवादीको सशस्त्र सङ्घर्षको बाटोले समाधान दिएको हो न सात दलको मात्र शान्तिपूर्ण आन्दोलनले नै । बरु सशस्त्र र शान्तिपूर्ण आन्दोलन गरिरहेका सबै शक्ति साझा राष्ट्रिय दृष्टिकोणसाथ साझा सहमतिको कार्यक्रम अवलम्बन गर्ने र त्यसलाई प्राप्त गर्न संयुक्त जनआन्दोनलमा एकाकार भएर लाग्ने निष्कर्ष निकालेर सही दिशामा अघि बढेपछि नेपाली जनताले सम्पूर्ण रूपले त्यस महा-अभियानलाई साथ दिएका हुन् । अहिले पनि शान्ति प्रक्रियालाई सही टुङ्गोमा पुर्‍याउन र संविधान निर्माण गर्न एक भएर लाग्ने कुरामा राजनीतिक इमानदारी र निष्ठाका साथ राजनीतिक नेतृत्वले अग्रसरता देखाउनासाथ जनताले साथ दिन्छन् र यो आजको राष्ट्रिय आवश्यकतालाई सफल बनाइ छाड्छन् । तर, राजनीतिक नेतृत्व संयुक्त जनआन्दोलनको भावना अनुरूप साझा राष्ट्रिय दृष्टिकोण र त्यसको प्राप्तिको कार्यदिशा र कार्य योजना लिएर कुनै दायाँ बाँया नगरी त्यसमा दृढतापूर्वक चल्ने उच्च राजनीतिक इच्छाशक्तिबाट अनुप्राणित भएको विश्वास दिलाउन सक्नुपर्‍यो । आज खट्किरहेको विषय नै यही हो । केवल सरकार बनाउने बहुमतीय खेलमा मात्र मुलुकलाई अल्मल्याई राख्ने हो भने त्यसबाट अनन्त अनिश्चितताको अर्को अध्याय मात्र थपिनेछ ।

You might also like to read the following poems:

    Fatal error: Call to undefined function related_posts_by_category() in /hermes/bosoraweb133/b2628/d5.sanjaalc/public_html/nepaliarticles/wp-content/themes/notepad-chaos/single.php on line 58