Nepali Articles

Collection of Nepali Articles In Nepali Language

Dr. Govinda Raj Bhattarai – Bayantari Ma Ek Sunaulo Sanjh

May16

डा. गोविन्दराज भट्टराई – बायाँटारीमा एक सुनौलो साँझ

वालिङ नाघेर हामी अघि बढयौँ । पहाडका थुम्काहरू, डाँडाहरू, छिनछिनमा आउने घुम्ती र कुइनेटाहरू । एउटा दृश्य हेरौँ भन्दाभन्दै अर्कोले छोप्तछ । तल गहिरोमा आँधीखोला बगिरहेको छ । कतै बगरहरू छोडेर कतै पहाडहरूमा ठोकिँदै । निकैबेरपछि एउटा ससानो बजार आयो- बायाँटारी । कति अनौठो लाग्यो यो नाम । अलि अघि हामीले काटेर गएका थियौँ मायाटारी । ध्वन्यात्मक साम्यताले उत्पन्न श्रुतिमधुरता ।

बायाँटारी बजार, ससानो केही घर बाटैको डिलमा, धेरै तलदेखि उठेर त्यहाँ अनुहारमात्र देखाइरहेका । ससानो बजारमा चियापसल, खिर्चीमिर्ची, सलाई साबुन । बजारका बीचबाट ओरालो झर्ने एउटा गोरेटाका मुखैमा उभिएर हेरेँ- पाखामा पनि केही घर उभिएका छन्, सिधै तल पुगेर पाखो टुङ्िगन्छ अनि एउटा खेत सुरु हुन्छ- सम्म छ खोलाखेत । त्यसैको डिलमा फेरि आँधिखोला बगिरहेको छ । बीचैमा झोलुङ्गे साँघु वारि र पारिका ससाना गाउँहरू अनि सेतो बगर । त्यही गोरेटो पक्रेर पाखैपाखा ढुङ्गे सिँढी टेक्तै हामी ओरालियौँ । अलि तल्तिर पुगेपछि अघि लागेका लेखनाथ टक्क अडिए र उनको दाहिनेतिर डिलैमा उम्रेर ठूलो उभिएको एउटा बोट देखाउँदै भने ‘यो मेरी आमाले रोपेको पारिजातको बोट ।’ मैले हेरेँ- माघको महिनामा पारिजातका आधि पात फुस्रिन थालेका छन्, आधिमात्र हरिया । यो फुलेको बेला यसका ससाना थुँगा यही ढुङ्गे सिँढीमा खस्ता हुन्, मैले कल्पना गरेँ । ससाना पहेँलो टीका गरेको फूली रातभरि फुल्छ, मगमगाउँछ अनि बिहान हर्ेदा सबै झरिसकेको हुन्छ । तर पारिजात फुल्ने समय आउन अझै कति बाँकी थियो । ‘मेरी आमाले रोपेको पारिजातको बोट’ । त्यता औल्याउँदै उनी भावुक भए- ‘यहीँ मेरी आमाको निधन भयो, यहीँ मेरा बुवाको पनि । यही घडेरीमा । आज यहाँ घर छैन तर त्यसबेला हाम्रो घर यहीँ थियो । म अलिअलि सम्झन्छु मेरी आमाका अन्तिम दिनहरू, बुवाका अन्तिम दिनहरू ।त्यहाँ एउटा घडेरी मात्र थियो, एउटा घर र आँगनलाई पुग्ने बाँझो ठाउँ, बुढो भएर ढल्किएको पारिजात । दन्त्यकथाजस्तो लाग्ने कुरा । एउटा धूमिल अतीतलाई मनमा उतार्न खोज्दै लेखनाथ मेरा छेउमा उभिएका थिए । उनका आँखा रसिला थिए । उनले भने, ‘सरले पनि यो सानामा खेलेको मेरो सम्झनाको आँगनमा पाइला राखिदिनु हुन्छ कि-’ म रोकिन सकिनँ र घडेरीमा चढेँ, एकसर्को घुमेँ । आँगनभरि मर्न लागेको झार मात्र थियो । यो एउटा पोल्ने र झस्काउने अतीत थियो । लेखनाथ रातोदिन त्यही घडेरीमा पुग्दा हुन् । बर्षवर्षत्यहाँदेखि हजारौँ कोश टाढा बसे, पढे लेखे र आज यो राष्ट्रलाई योगदान दिन सक्ने भए तर उनले फेरि सुनाए- मेरो मन यो घडेरीभन्दा टाढा कतै पुग्न सकेको छैन, एकदिन म यहीँ एउटा घर उभ्याउने छु । म सानै थिएँ, ती दिन अलिअलि सम्झिन्छु । तर धमिलो छायाँ जस्तो मात्र ।

त्यो घडेरी काटेर हामी बिस्तारै ओरालो झर्यौँ; सम्ममा पुगेर एउटा विचित्रको ठाउँमा रोकियौँ । यता खेत छ, उता पनि खेत छ । बीचमा दस-बाह्रवटा पक्की घर छन् । बाटो छ फराकिलो आँगन जस्तो, त्यसका दुवैतिर घर छन् । तर त्यो आँगनजस्तो बाटो कहीँ पुग्दैन । पुरानो बजारको लाइन जस्तो आँगनको दुवैतिर घरका पेटी अनि शटर अथवा ढोकाहरू । एउटा ससानो सभ्यता केन्द्रजस्तो अनौठो ठाउँ ।

गोरेटोले हामीलाई त्यो आँगनको एक छेउमा पुर्यायो । हाम्रा सामू ससाना नानीहरूका लागि बनेका होचा डेस्क-बेन्च थिए, सेटसेटै जोडिएका फलामको फ्रेममा काठ ठोकिएका । तिनै बेन्चीहरूमा एक हूल मानिस बसिरहेका थिए । ती हाम्रै प्रतीक्षामा थिए । कोही ता आँगनमा उभिएका पनि थिए- तिनीहरूका हातमा बगमबेली र हरिया पातका मालाहरू थिए थालीमा ससाना गुच्छाहरू । यसो माथि आँखा उठाएर हेरेँ- ‘भूपू सैनिक शान्तिप्रिय एकेडेमी’ लेखिएको थियो । भित्री गाउँमा पनि आफ्ना नानीहरूलाई एकेडेमीमा पढाउने तीब्र इच्छा लिएर सगौरब उभिएका थिए । एकेडेमीमा पढ्ने नानीहरू हरिया ड्रेसमा वरिपरि जिज्ञासाले उभिएका थिए । ती घरका भुइँतला जति सबै कक्षाकोठा थिए, माथ्लो तलामा घरवालाकै आवास ! कस्तो संस्कृति बढिरहेछ, कसरी एकेडेमी प्रेम बढिरहेछ !

बगमबेलीका मालासँग खादा ओढेर हामी प्लास्टिकका कुर्सिमा बस्यौँ । हाम्रो सामूमा एउटा राम्रो, होचो टेबल थियो । बुट्टे जालि ओढेको टेबलमाथि पुष्प गुच्छा र पानीहरू थिए । यसो म हेर्छु नरनारीहरू घरघरका पेटीमा छन्, बीच आँगन बाटामा होचा बेन्चीहरूमा छन् । एक दुई घरका पक्की छतमा दाउराका कुनिऊ लागेका थिए । काला पानी टयाङ्की थिए । तिनका बरन्डाहरूमा धेरैजसो नारीहरू थिए- कति ता मखमली चोली र रङ्गीचङ्गी कोठे पछयौरा ओढेका । यिनीहरू बेलायतका अथवा हङकङका लाहुरेनीहरू हुनर्ुपर्छ । यस्ता पछयौरा अरूले ओढ्दैनन् । यी पछयौरा दामी होलान् जस्तो लाग्छ ।

आँधीखोला किनारमा आज एउटा साहित्यिक कार्यक्रम थियो । साँस्कृतिक पनि । हामीसँगै ‘आँधीखोला साहित्य सदन’का प्रेमराज लुइँटेल र रामजी लम्साल थिए । डा. बालमुकुन्द भण्डारी, लेखनाथशर्मा पाठक र अरु स्थानीय साहित्यकार थिए । वालिङदेखिका साहित्यकारहरू यो ससानो बायाँटारीमा एउटा ऐतिहासिक कार्यक्रम मनाउन भेला भएका थिए । कस्तो अनौठो र विचित्रताको अनुभूति भयो । धेरै माथि एउटा नाङ्गो भीर थियो, आँधीखोला पारिपट्ट एउटा बस्तीमा टाँसिएर पहाड उभिएको । हामी बसेको आँगनबाट कतै केही देखिँदैन । तर एउटा माइक थियो, भिडियो खिच्ने र तस्वीरवाला थिए । घाम ढल्केर ओझेल पर्ने बेलामा ससाना नानी च्यापेका आमाहरू, खेतबाट आएका पुरुषहरू, बजारबाट झरेका अरूहरू । त्यो उपस्थितिमा साहित्यक कार्यक्रम सुरु भएको कुरा गरे अर्जुन गैरेले । ‘गर्नु गर्यौ बलराम भैँसी पालेर’ का रचनाकार गैरे । सुन्दर खाइलाग्दा युवक देख्न पाइयो । एक जना भूतपूर्व सैनिकजस्ता चिटिक्क परेका कृष्णबहादुर थापा सभापति भएर बसे ।

सायद यो बायाँटारीमा पहिलो र महत्वपूर्ण कार्यक्रम आयोजित थियो । यो लेखनाथजीको लामो सपना थियो- आफ्नो ठाउँमा हामीलाई पुर्याउने र एउटा कार्यक्रम जुराउने । उनले आफ्नो जन्मभूमिमा गँह्रौँ सामुदायिक केन्द्र खोल्ने सपना हर्ुकाइरहेका थिए जुन केन्द्रको एउटा भवन होस्, चारपाँच तला हउन्, सूचना प्रविधिको सम्पूर्ण सुविधा उपलब्ध होस्, एक तलामा इमेल, इन्र्टर्नेट, फ्याक्स, फोटोकपी, अर्कोमा भव्य पुस्तकालय, अर्कोमा सभाभवन अर्कोमा अतिथिगृह । कस्ता सपनाहरू, कस्तो विकासको मोडल । शहरमा होस् या दर्ुगम गाउँमा, विकटमा होस् या पातलो बस्तीमा मानिसले सोचेको विकासको मोडेल उस्तै छ, शिक्षाको स्वरूप उस्तै छ । मानिस पूर्णरूपले नवीन हुन खोज्दैछ, विश्वसँगै जोडिन खोज्दैछ, प्रविधिलाई अघि लगाएर पछिपछि दौडँदैछ । सूचना र ज्ञानले निर्मित नवीन समयको खोजीमा छ । आज बायाँटारी पुग्दा मलाई त्यस्तो बोध भएको छ । अब क्यामेरा घुम्न थाले, हाते माइक बज्न थाले । एउटा आदिम लाग्ने परिवेशमा अत्याधुनिक संस्कृति छचल्कियो । ससाना नानीहरूले हरियो पोशाकमा उभिएर एउटा गीत गाए-

हाम्रो निम्तो स्वीकारेर आउनेहरूलाई स्वागतम्
आतिथ्यमा आँधीखोला धाउनेलाई स्वागतम्
अञ्जुलिभरिको हृदयदेखिको स्वागतम्

काठमाण्डौ सहरमा तीन दशक बिते- हामीलाई यसरी स्वागत गर्ने कोही आएन । आज मेरो मन आनन्द र हर्षे उचालियो । यो स्वच्छता, यो ग्राम्य सौर्न्दर्य, कौतूहल, यी अबोध नानीहरूको श्रद्धापूर्ण नमन र कम्पित स्वर- मेरो हृदय थामी नसक्नु भएर आयो । बरन्डामा गमला फुलिरहेका छन्, नानी बोकेका नबोकेका आमाहरू झयालबाट, बरण्डाबाट, छतबाट, पेटीमा बसेर शायद पहिलोपल्ट यति भव्य कार्यक्रम हेरिरहेछन् निर्निमेष । साहित्यिक कार्यक्रममा केही प्रवचन भए, केही मन्तव्य र कविता वाचन, गायन र नृत्य पनि । खगेश्वर पाण्डेले लोक लयमा एउटा गीति-कविता सुनाए ।

रूख रोपौँ नाङ्गा पाखामा
उजाड देख्दा रुन्छ मन सारै
बग्छ आँसु दुवै आँखामा ।

मैले हेरेँ दाहिनेतिरको अल्गो पाखा उजाड थियो, रूखहरू सिलिङबिलिङ, डाँडाको बीचैबाट चिरेर सेतो पटुकाजस्तो बाटो कुनै गाउँतिर उकालिन्थ्यो । त्यो मोटर ट्रयाक धुलाम्मे देखिन्थ्यो, प्रकृतिमाथि मानिसको यस्तो आक्रमण देखेर उनीहरूको मन शायद ‘प्रकृति बचाउ’ तिर थियो । यो स्वतस्फुर्त आवाजमा पर्यावरणीय सचेतना थियो । नेपाली साहित्यले आफैँ यो मानवेतर लेखनको दिशा पक्रेको थियो, मानिस प्रकृति लेखनतिर फर्किन थालेका थिए । त्यसपछि गायत्री लम्साल, सागर खनाल, पिपला गैरे, लीलाबल्लभ पाठक, अग्निकुमार पल्लव आदिले रचनाहरू सुनाए । गायत्रीको रचना शक्तिशाली थियो ।

यसैबीचमा एउटा नृत्य प्रस्तुत भयो- सालैज्यू भाकाको गीतमा । दौरा सुरुवाल, इष्टकोट र टोपी लगाएका तीन छात्र र मखमली बुट्टेसारी, पहेँला पटुकामा सजिएका छात्राहरू । ती नानीहरूका वस्त्र र पहिरनमा अनेक विशेषता थिए, ती टिपिकल लाग्दथे । क्यासेटमा गीत बज्न थालेपछि तिनीहरू नाच्न थाले । ती गतिमा, घुमाइमा, पदचापमा, हेराइमा, सारा क्रियाकलापमा हजार वर्षो संस्कृति आइरहेको थियो । मैले प्रत्यक्ष कहिल्यै नदेखेको सालैज्यू एउटा मुग्धकारी प्रस्तुति र संस्कृतिको जीवन्त पाना थियो । ती छड्के ओढ्ने, पटुकामा सिउरेका झुम्का, पछिल्तिरको फेर- प्रत्येक वस्तुमा, रङ्गमा, लम्बाइमा बेग्लै अर्थ थियो होला तर अघि कहिल्यै नपढेको त्यो पुस्तकका अक्षर चिन्न सकिनँ । यद्यपि नेपाली संस्कृतिको एउटा जीवन्त प्रस्तुतिसँग एकाकार भएर म हराएँ । गीत सकियो, नाच टुङ्गियो तर त्यो फेरि बजे हुन्थ्यो जस्तो भइरहृयो मन, फेरि एकसर्को दोहोरिए हुन्थ्यो त्यो नाच जस्तो भइरहृयो यो मन ।

यो जिन्दगी कहिल्यै नटुङि्गने लामो भइदिए म हजार बायाँटारी डुल्दो हुँ; हजार बायाँटारी पुग्दो हुँ । नेपाली संस्कृतिका अमर पाना वरिपरि घुमेर नयाँनयाँ कथा लेख्तो हुँ तर साँझ परिसकेको थियो । उता भर्खर खुलेको आँधीखोला रेडियो पुग्नु पर्ने समय आइसकेको थियो । त्यसैले कार्यक्रम अन्त्य गर्यौँ र माथिको राजमार्ग ताकेर पाखैपाखा उकालियौँ । ढल्केको पारिजातको बोट र झार पलाएको घडेरीमा पुगेपछि मलाई अग्निकुमार पल्लवले गाएको दुइ हरफको सम्झना भयो ।

इश्वरको भन्दा ठूलो मान तिम्रो जिन्दगी हो
संसारको र्सवश्रेष्ठ शान तिम्रो जिन्दगी हो ।

You might also like to read the following poems:

    Fatal error: Call to undefined function related_posts_by_category() in /hermes/bosoraweb133/b2628/d5.sanjaalc/public_html/nepaliarticles/wp-content/themes/notepad-chaos/single.php on line 58