Nepali Articles

Collection of Nepali Articles In Nepali Language

Shankar Lamichhane – Cat Maane Biraalo

May13

शंकर लामिछाने – क्याट माने बिरालो

एक अमेरिकन मित्र काठमाडौँबाट प्रस्थान गर्दै थिए । हामीसँग निकै हेमचेम थियो । उनले सायभिज-सङ्कर बिरालो पालेका थिए । अब त्यसलाई उचित वासको टुङ्गो लगाउने समस्या पर्‍यो तिनलाई । हाम्रो सहायता मागे ।

एक प्रकारले म कुकुर, बिरालोप्रेमी हुँ । ती दुवै जनावरको केही अंश सायद ममा अवस्थित छ । जे होस्, मैले बिरालो स्याहार्ने जिम्मा लिएँ । हुन त बिरालो नदेखेको वा बिरालोउपर प्रबन्ध नलेखेको पनि होइन स्कुली जीवनमा, तथापि बिरालोको केही गुण, अवगुण रहेछन्, जो मलाई थाहा थिएन ।

जस्तै, त्यो बिरालो थियो । बाथरुममा हग्ने । उसको निमित्त काठको बाकस बनाएर त्यसमा बालुवा राखिदिनुपर्ने । ऊ बिहानै बाथरुम जाने र त्यसमै हग्ने । बिरालो आफ्नो गुहु लुकाउँछ भन्छन्, लोकोक्ति हो, बिरालो बाघको फुपू रे, सारा भदालाई सिकाएर उसले एउटै कुरा सिकाएन रे, रूख चढ्ने । त्यसमा रिसाएर बाघले झोँकमा भन्यो रे, ‘ तँ मूलाको गुहु पनि बाँकी राख्दिनँ ।’ – र त्यस बेलादेखि बिरालाले गुहु लुकाउन थालेको रे !

त, त्यो अमेरिकन – सायभिज-सङ्कर बिरालो झन्डै छ महिनाजति बस्यो होला हामीकहाँ ।
त्यसको आगमनपछि, अनि पो मैले बिरालोबारे अध्ययन गर्न पाएँ । खासमा बिरालो सारै सुग्घरी हुँदो रहेछ । बिहान उठेपछि उसले मुख धुने, ज्यू चाटी सफा गर्ने गर्छ । आङ उसको सदा चिल्लो र चिप्लो हुन्छ ।

त्यो बिरालो हामीकहाँ आउँदा गर्भावस्थामा थिई । केही महिनापछि उसले बच्चा पाई । सानो बेलामा बिरालाले गुँड सार्छ भन्ने उखान त्यस बेला स्पष्‍ट भयो । मुखले बच्चा समातेर उसले जताततै पुर्‍याएर – लाग्दथ्यो, जङ्गलको प्रवृत्ति अझै उसमा समाप्‍त भएको थिएन, मानौँ एकै ठाउँमा बच्चा राख्दा अरूले त्यसको सुइँको पाउँछन् ।

अनि आउँछ उसले बच्चालाई तालिम दिने काल । उफ्रिने, झम्टिने, प्रहार गर्ने पन्जाले, रिसाउने, खुसाउने । सब सिकाउँछ उसले तथापि सारै दु:खदायी क्षण त सिकार गर्न सिकाएको अवस्था हुँदो रहेछ ।

एक दिन एउटा ठूलो मुसा मारेर ल्याउँछे । कतै घाउ चोट छैन उसको जीउमा । ल्याएर पलङमुनि उसले राख्दछे र बच्चाहरूलाई त्यहाँ पुर्‍याउँछे । उनीहरू नौलो जन्तु देखेर तर्सिन्छन् । आमा स्वयम् मुसालाई खेलौना जस्तो गरेर खेल्छे, मानौँ भनिरहेकी होओस्, यस निर्जीव वस्तुबाट केको भय ? यसबाट बच्चाहरू खेल्न थाल्छन् । एउटाले एकातिर तान्छ अर्कोले अर्कोतिर । घण्टौँको यस खेलबहाडमा समेत त्यो वस्तु खाने सामग्री हो भन्ने ती जान्दैनन् । अनि, आमाचाहिँ आएर मुर्दा मुसामा घाउ बनाइदिन्छे । त्यसबाट रगत चाटेपछि त्यस नयाँ स्वादबाट बच्चाहरूमा हिंसाको प्रवृत्ति स्वत: ब्यूझेर आउँदो रहेछ, र अनि ती यो पनि जान्दछन्- मुसा खेलौनाको साथसाथै भोज्य पदार्थ पनि रहेछ, आपसमा स्पर्धा र ङारङुर सुरु हुन्छ तिनमा ।

सिकारको यो उनीहरूको प्रतम अभ्यासपछि, दोस्रो कदमका रूपमा आमाले जीवित सानो मुसा पकडेर ल्याउँछे । कोठामा छाडिदिन्छे तथा ढोकाको छेउमा आफू बसेर त्यसलाई भाग्ने बाटो पनि बन्द गरिदिन्छे । बच्चाहरू त्रसित मुसालाई देखेर सुरुमा अचम्भित हुन्छन्, अनि बिस्तारै त्यसलाई लखेट्न थाल्छन् । आमाचाहिँ बीचबीचमा एक-दुई झप्पु दिएर मुसाको शक्ति क्षीण बनाइदिन्छे । भाग्ने प्रयास सकभर मुसाले गर्छ, तर चारैतिरबाट निराशा मात्र पाउँछ उसले । अनि, हुँदाहुँदा निराशाको यस्तो चरम सीमामा पुग्छ ऊ हतासिएर त्यसै लम्पसार पर्छ । निर्यातसमक्ष असहाय भएर पल्टेको मुसाको त्यो अवस्था देख्दा मेरी सानी छोरीले भनेकी थिई, “बुबा, त्यो मुसालाई बगैँचामा लुकाइदिऊँ ।”

मैले भनेको थिएँ, “छोरी, यो प्रकृतिको नियम हो, बिरालाले मुसा खाएको स्वभावजन्य अधिकारलाई छेक्ने हाम्रो हक छैन । मुसा खाएन बने बिराला बाँच्छ कसरी ? फेरि, सधैँ हामी बिरालाको चियो पनि त गर्न सक्दैनौँ ।”

आज मलाई लाग्दैछ, त्यत्रो दार्शनिक व्याख्या छोरीले बुझी वा बुझिन, तथापि ऊ चुप लागी । हामी हाम्रो समक्ष संहारको प्रक्रिया हेर्दे गर्‍यौँ ।

बच्चाको विकाससाथसाथै मुसाको आकार पनि बढाउँदै लैजान्छे आमाचाहिँ । पछिपछि हुँदाहुँदा त पूरा विकसित मुसालाई जिउँदै अघाइने रूपमा ऊ ल्याउँछे र छाडिदिन्छे कोठामा । आफू उफ्रेर, जिस्केर, प्रहार गरेर ऊ सारा युद्धशास्त्र बच्चालाई सिकाउँछे ।

यी सारा क्रिया गरून्जेल ऊ माया गर्छे बच्चालाई । अनि बच्चा पारङ्गत के बन्छ एक पटक, उसको माया स्पर्धामा बदलिन्छ । पहिले आफू नखाएर पनि बच्चालाई खान दिने आमा अब खाने बेलामा ती बच्चाप्रति ङुर्रसमेत गर्ने हुन्छे ।

यो अवस्था मानौँ सक्षमताको बाधक हो । मानौँ अब जीवनयापनको समस्या सामूहिक नभएर पूरा रूपले व्यक्तिगत बन्न गएको छ । त्यस बेला लाग्छ, जनावरमा समेत आफ्नो व्यक्तित्वको विकासको आकाङ्क्षा हुँदो रहेछ वा भनौँ आफूसमान अरूलाई हुन नदिने स्वार्थको जुन भन्को छ, त्यो सभ्यताको देन मात्र होइन रहेछ ।

अर्को कुरा जो मैले थाहा पाएँ, त्यो थियो सहवासको आवश्यकताले प्राकृतिक शत्रुता पनि सेलाउँदो रहेछ । जस्तै चलन छ भन्ने, कुकुर-बिरालो झगडा । तथापि, साथसाथ बस्ने अवस्था पर्न जाँदा ती दुई जनावरमा एक-अर्काप्रति बेवास्ताको भावना बढ्दै जाँदो रहेछ । पछिपछि त ती छेउछेमै ढक्केर घाम ताप्नेसम्म पनि हुँदा रहेछन् ।

सारा कुरा विचार गर्दा, हाम्रा जीवनमा हाम्रै आँखासामु अनेकन् घटना घटिरहेका हुन्छन्, हामीले हेरि मात्र दिन सक्नुपर्छ, बुझि मात्र दिन सक्नुपर्छ । बाल्यावस्थामा जुन प्रबन्ध लेख्‍न सिकाइन्छ, जसको आरम्भ नै’बिरालो एउटा चारखुट्टे जनावर हो’ वा ‘गाई एउटा चारखुट्टे जनावर हो’ – त्यो कति गलत तरिका रहेछ शिक्षापद्धतिको, त्यो आज अनुभव हुँदैछ । बिरालाले आफ्नो ज्ञान जुन प्रकारले प्रदर्शनपद्धतिद्वारा आफ्ना बच्चालाई सिकाउँछ, त्यो मानिसले भर्खरभर्खर शिक्षापद्धतिमा अपनाउने प्रयोग आरम्भ गर्न थालेको छ। त्यो पनि सभ्यताको विकास दस हजार वर्षपछि ।

आज अनुभव हुन्छ जीवन पुन: आरम्भ गर्न पाए अनेक कुरा जो जान्नुपर्ने थियो र जो छुटिरहेको छ वा ढिला रूपमा मात्र पछिपछि जानियो, तिनलाई आरम्भमै जान्न सकिने थियो । ती कुरा अघि बुझ्न पाएको भए तिनले जीवनको प्रवाहलाई सायद नयाँ मोड दिन्थे कि ? जेजति गल्ती गरियो, हुन सक्छ, त्यसको मात्रा सायद कम पो बन्थ्यो कि ? केही नभए पनि सामान्य जीवनमा दार्शनिक दृष्‍टिकोणको बढी प्रभाव हुने थियो ।

हाम्रो ज्ञान सी ए टी क्याट, क्याट माने बिरालाको सतहबाट निश्‍चय पनि माथि उठ्ने थियो ।

साभार: शङ्कर लामिछानेका निबन्ध (२०५९), साझा प्रकाशन, ललितपुर ।
सम्पादक: शिव रेग्मी ।

posted under Shankar Lamichhane
You might also like to read the following poems:

    Fatal error: Call to undefined function related_posts_by_category() in /hermes/bosoraweb133/b2628/d5.sanjaalc/public_html/nepaliarticles/wp-content/themes/notepad-chaos/single.php on line 58