Nepali Articles

Collection of Nepali Articles In Nepali Language

Amar Tyagi – Mahanagar Ra Ma

May13

अमर त्यागी – महानगर र म
(मधुपर्क जेठ, २०६७)

महानगर हिउँझै चिसो छ । चिसा छन् मनहरू । भावना र विचारहरू चिसा छन् । चिसा छन् चुल्हाहरू । चिसा छन् जीवनहरू पनि । धेरै दिनदेखि चिसोले कठ्याङ्गि्रएर आहतआहत बाँचिरहेको छु म ।

महानगर आगोझैँ तातो छ । ताता छन् मस्तिष्कहरू । चेतना र चिन्तनहरू ताता छन् । सुख्खा छन् आँतहरू । रापिला छन् मुहारहरू पनि । धेरै दिनदेखि तापले रापिएर सन्तप्त-सन्तप्त बाँचिरहेको छु म ।

महानगर मायानगर हो । यो अत्यन्त सुन्दर पनि छ, औधि कुरूप पनि छ । असाध्यै सुसंस्कृत पनि छ, अचाक्ली विकृत पनि छ । विनाशको शृङ्खला छ, सिर्जनाको संस्कार पनि छ । असभ्यताको तुच्छता छ, सभ्यताको उच्चता पनि छ । अवैधताको निकृष्टता छ, वैधताको उत्कृष्टता पनि छ । घोर आध्यात्मिकता छ, अघोर भौतिकता पनि छ । शिष्ट नैतिकता छ, अशिष्ट अनैतिकता पनि छ । अनादि परम्परा छ, अनन्त आधुनिकता पनि छ । प्राचीनता र अर्वाचीनताको चेपमा निस्सासिरहेको छु म ।

यहाँ जसले जे गरे पनि हुने ! मन्दिरबाट मूर्ति पुक्लुक्क उखेलेर सुटुक्क डलरसँग साटे पनि हुने, सडकको मान्छेलाई बेवास्ता गरेर टाउकोमाथि फोहोर फाले पनि हुने, अरूको समयको ख्यालै नगरेर सडक जाम गरिदिए पनि हुने अरूको खल्तीमा हात हालेर लुसुक्क एकातिर भागे पनि हुने, हिँड्दाहिँड्दै कसैकी छोरीचेलीलाई च्याप्पै समाते पनि हुने, कसैमाथि रिस उठे छ्याक्कै छप्काए पनि हुने ! धन, धक्कु र ठाउँमा आफ्नो मान्छे हुनेहरूको सामु निरीह हुनुको पीडा भोगिरहेँछु म ।

इतिहासको केन्द्रस्थल र राजनीतिको क्रीडाभूमि यो महानगरमा विश्व छ । अमेरिका र चीन छ, भारत र पाकिस्तान पनि छ । इराक र अफगानिस्तान छ, भुटान र श्रीलङ्का पनि छ, यहीँ छन् बुस र लादेन । यहीँ छन् लिट्टे र मुसर्रफ पनि । यहीँ छन् जिम्मेसिग्मे र लेण्डुपदोर्जे पनि । हो, त नि माधवको महिमा पनि यहीँ छ, प्रचण्डको पुरुषार्थ पनि यहीँ छ । न्यायको बाग्डोर यहीँ छ, नीतिको लगाम पनि यहीँ छ । यहीँ छ विधिविधानको तानाबाना, यहीँ छ निषेधाज्ञाको बहाना । हो, यहीँ छ अहं, ईष्र्या र प्रतिशोधको खजाना पनि । यस छलछकानको पर्यावरणमा छट्पटाइरहेको छु म ।

मक्कामदिना र जेरुसेलम यहीँ छ, काशी र बोधगया पनि यहीँ छ । यहीँ छन् मन्दिर, गुम्बा, चर्च र मस्जिद, यहीँ छन् वेद, त्रिपिटक, बाइबल र कुरान पनि । हो, यहीँ छन् पण्डित, लामा, फादर र मौलवी, यहीँ छन् विष्णु, बुद्ध, क्राइष्ट र महमद पनि । वेद, विभेद र वितण्डा यहीँ छ, यही छ प्रेम, सद्भाव र सहभाव पनि । घृणा, तिरस्कार र वितृष्णा यहीँ छ, यहीँ छ श्रद्धा, निष्ठा र भक्ति पनि । यही जीवनको स्वत्व र अस्तित्वको खोजीमा छु म ।

सडकदेखि संसद्सम्म विरोधको शृङ्खला छ, समर्थनको सिलसिला पनि छ । नाराजुलुस र तोडफोड छ, एकता र निर्माण पनि छ । फुट र विद्रोह छ, मेल र शान्ति पनि छ । भित्रभित्रै विरोधाभास छ र पनि बाहिर शान्त छ । बाहिर हलचल छ र पनि भित्र निश्चित छ । बुझ्नै नसकिने विचित्रता विन्यास देखेर टोलाइरहेको छु म ।

कमिसन कुम्ल्याउनेदेखि ढुकुटी रित्याउने योजना हुन्छ यहीँ । मन नपरेकालाई फसाउने र बदनाम गराउनेदेखि मन परेकालाई पुरस्कृत र सम्मानित गराउने कार्य गरिन्छ यहीँ । विकास निर्माणको खाका कोरिन्छन् कागजमा, बन्छन् कागजमै र बजेट निकासा भएर सकिन्छ कागजमै । कहिल्यै पूरा नहुने र बोक्नै नसक्ने आश्वासन बोकाएर पढाइन्छ यहाँबाट बाहिरतिर । त्यसैत्यसै मन एकतमासको भएको छ मेरो ।

यहाँ ठूलाठूला खेल हुन्छ । देशलाई बन्धकी राखेर होस् वा स्वाभिमानलाई लिलामी गरेर होस्, आफू सर्वशक्तिमान भइरहन ठूलाठूला झेल हुन्छ । अराष्ट्रियतासँग मेल हुन्छ । सत्ताको लागि पेलमपेल हुन्छ । भत्ताको लागि ठेलमठेल हुन्छ । यहाँ हरेक थोक हुन्छ । त्यसैले त सन्त्रस्तसन्त्रस्त छु म ।

छुट्टै प्रकृति छ, महानगरको छुट्टै प्रवृत्ति छ । सङ्गतिको नाममा विसङ्गति छ । संस्कृतिको नाममा विकृति छ । राजनीतिको नाममा अराजनीति छ । कर्मण्यताको दुष्कर्मण्यता छ । कोमलताको नाममा कठोरता छ । हार्दताको नाममा क्रूरता छ । सेवासहयोग रत्ति पनि छैन, छ त मानवहीनताको पराकाष्ठा छ । संवेदनहीनताको चरमावस्था छ । सदिच्छासत्वृत्ति छँदै छैन, छ त अनन्त छलप्रपञ्च छ । असीम मदमात्सर्य छ । आफैँमा अवाक्अवाक् बनिरहेको छु म ।

वैधता नै अवैध भइदिएपछि के नै वैध रहँदोरहेछ र ! सोचाइ अवैध छ, संस्कार अवैध छ, क्रियाकलाप अवैध छ । नैतिकता नै अनैतिक बनिदिएपछि नैतिकता नै कहाँ रहँदोरहेछ र ! होटेलहरूमा दिउँसै अनैतिक कृत्यहरू हुन्छन् । बगैँचाहरूमा गर्नै नहुने क्रियाहरू गरिन्छन् । बसहरूमा त्यस्तै छाडा प्रवृत्ति छ । छाडापनले गाँजेको यो महानगरमा जुन कार्य पनि छाडा छ । बोलाइ छाडा ! हिँडाइ छाडा ! लवाइ छाडा ! हेराइ छाडा ! पचाउनै गाह्रो छाडा संस्कृति हुर्केको देखेर स्तब्धस्तब्ध भइरहेको छु म ।

यहाँ मनभन्दा धन ठूलो छ । जीवनभन्दा यौवन ठूलो छ । आत्मीयताभन्दा मतलब ठूलो छ । संस्कारभन्दा प्रदर्शन ठूलो छ । अरूभन्दा आफै ठूला छन् । सबै अहम्मान्यताले ग्रस्त छन् । अरूले उछिन्ने आशङ्काले त्रस्त छन् । यस्तो संवेदनाहीनताले उदासउदास छु म ।

यहाँ सबथोक महँगो छ । मान्छे मात्र सस्तो छ । बरु सडेगलेको बस्तु बिक्री हुन्छ हाताहात तर मान्छे सस्तोमा पनि नबिकेर असरल्ल देखेर सडक, चोक र फुटपाथहरूमा चिन्तामग्न छु म ।

काला अनुहारहरू छन् । गोरा अनुहारहरू छन् । चेप्टानेप्टा अनुहारहरू छन् । लाम्चाचुच्चा अनुहारहरू छन्, जताततै अनुहारै अनुहार ! कहाँकहाँबाट थुपि्रएका हुन् खै, यति धेरै अनुहारहरू ! महानगरले कसरी पाल्ने हो ! अन्न-सागपात उमि्रने जमिनमा उमि्रएका छन् रातारात सिमेन्टीका अनन्त घनाजङ्गलहरू । जताततै सिमेन्टीको जङ्गलैजङ्गल ! कसरी थेग्ने हो महानगरले खै ! कतै थेग्नै नसकेर यो भासिने त होइन ! आशङ्काले मुटु पोलिरहेको छ मेरो ।

यहाँ असजिलो झर्को लाग्दो छ । समस्या झन् चर्को छ । अभाव झन् अचाक्ली छ । झुट र बेइमानी झन् भन्नै नहुने छ । छलछाम र लुटपाट झन् भनी साध्य छैन । पद, प्रतिष्ठा र पहुँच हुनेको कुरै छोडौँ, नहुनेहरूको जीवन साह्रै निरीह छ । बाँच्नेहरू पनि पलपल मरेर विवश बाँचिरहेछन् ।

हाँस्नेहरू पनि भित्रभित्र रोएर बाहिर फिस्स हाँसिरहेछन् । यो असङ्गत परिस्थितिमा विदीर्ण छ मनस्थिति मेरो ।

यहाँ परिपूर्णतै परिपूर्णता छ, अपूर्णतैअपूर्णता पनि छ । अपचको झुसिलो डकार छ, भोकको हाहाकार चीत्कार पनि छ । तरल हार्दिकता छ, कठोर निष्ठुरता पनि छन् । शिष्टता अखण्ड छ, अशिष्ट पाखण्ड पनि छ ।

प्रतिदिन तिक्त अनुभूत गरिरहेको छु म । यहाँ अरूलाई दुखाएर सन्चो मान्नेहरू छन्, अरूलाई रुवाएर हाँस्नेहरू पनि छन् । अरूलाई मारेर बाँच्नेहरू छन्, अरूलाई खिज्याएर नाच्नेहरू पनि छन् । बोली काँढाजस्तै छ । हृदय ढुङ्गाजस्तै छ । आत्मीयता हिउँजस्तै छ । भावना सिमेन्टजस्तै जमेको छ । यो कठोर यथार्थले पग्लेर तरलतरल बनेको छु म ।

यहाँ मान्छेहरू साह्रै बाउन्ने हुँदारहेछन् भावनामा, बाउँडो हुँदारहेछन् चेतनामा, ख्याउटे हुँदारहेछन् विचारमा । सुदूरबाट नियाल्दा मैले महानगरलाई सुखसुविधा सम्पन्न देखेथेँ । सभ्य, शिष्ट र सुगम लाग्थ्यो यो । आज आफैँले भोग्दा पो थाहा पाएँ, यहाँ त दुखैःदुख, अभावैअभाव रहेछ । यो त असभ्य, अशिष्ट र दुर्गम रहेछ । आफैँमा व्यथितव्यथित छु म ।

यहाँ त सप्ठेरो आफैँ अप्ठेरो बन्दोरहेछ । सहज आफैँ असहज हुँदोरहेछ । जति भए पनि पुग्दोरहेनछ । कहिल्यै पुग्दैपुग्दो रहेनछ । यतिविघ्न दरिद्रता मैले अझसम्म अन्त कहीँ देखेको छैन । न त यतिघिवघ्न असुविधा नै भोगेको छु अन्त कतै । भित्रभित्र द्रवीभूतद्रवीभूत बनिरहेको छु म ।

सम्पन्नता पनि यतिबिघ्न विपन्न हुन्छ भन्ने मलाई थाहा थिएन । नहुनुको पीडा यतिबिघ्न सम्पन्न हुन्छ भन्ने कुरा पनि मलाई थाहा थिएन । उँभो लागेपछि उँधो हेर्नै नपर्ने, उँधो लागेपछि उँभो लाग्नै नसक्ने विचित्रको आरोहअवरोह हुँदोरहेछ यहाँ । परिस्थिति र परिबन्दभित्र पीडितपीडित छु म ।

अजब अस्तव्यस्तता छ यहाँ, भोगाइको गजब अलमस्तता पनि छ । अटुट शृङ्खला छ समयको अनन्त विशृङ्खलता पनि छ । आदर्श परम्परा छ, परिस्थितिको उन्मुक्त उच्छृङ्खला पनि छ । प्राचीनता र अर्वाचीनताको अपूर्व सङ्गमस्थल यो महानगरको अनौठोपनमा चकितचकित छु म ।

यहाँ कलाकारिताको उत्कृष्ट नमुना छ । इतिहासको अजीव कथा छ । संस्कृतिको सजीव प्रथा छ । त्यसैले त यो सिर्जनशीलताको पौरखभूमि पनि हो ।

ऐतिहासिकताको गौरवभूमि पनि हो । सांस्कृतिकताको सौरभभूमि पनि हो । त्यसैले यो महानगरको महत्ताबोधले उद्बोधितउद्बोधित छु म आफूभरि ! संवेदितसंवेदित छु म भावनाभरि !!

You might also like to read the following poems:

    Fatal error: Call to undefined function related_posts_by_category() in /hermes/bosoraweb133/b2628/d5.sanjaalc/public_html/nepaliarticles/wp-content/themes/notepad-chaos/single.php on line 58