Nepali Articles

Collection of Nepali Articles In Nepali Language

Dr. Govinda Raj Bhattarai – Timilai Nai Samjhi Rahechhu Dambari

May1

डा. गोविन्दराज भट्टराई – तिमीलाई नै सम्झिरहेछु, डम्बरी

लन्डनको मेरिडियन कलेजमा एउटा कार्यक्रम थियो नेपाली साहित्यमा उत्तरआधुनिकता विषयको। त्यसमा धेरै नेपाली सर्जक र साहित्यप्रेमीहरूलाई भेटेँ त्यसैमा भाग लिन आएकी एक नारीसित भेट भयो। ती थिइन् जया राई। अधबैँसे उमेर टेकेकी, होची, अलिकति पातली तर चिटिक्क सुहाउने जया हँसिली र गम्भीर दुवै थिइन्।

कार्यक्रम समाप्त भएर हिँड्ने बेलामा मात्रै मैले जया एक कथाकार पनि रहिछन् भन्ने थाहा पाएँ किनभने उनले मलाई आफ्नो कृति डम्बरी उपहार गरिन्।

डम्बरी जयाको कथासङ्ग्रह। कथाजस्ता अन्य केही सिर्जना पनि मिसिएको। निस्केको तीन वर्ष बितेछन्, तर मलाई थाहा पत्तो भएन नत्र अघि कहीँ यसको चर्चा गर्दो हुँ।

जयालाई भेट्ता मलाई विशेष प्रशन्नता भयो। त्यसको कारण के हो नेपालबाहिरका डायास्पोरिक समुदायमा बसेर कथा लेख्ने नारी अत्यन्तै कम छन्। कथाभित्र यस्ती जयाको अवस्थिति तीनतिर देखिन्छ― नेपाल, हङकङ र बेलायत। भाग्यको बजारमा हुने परिभ्रमणले हाम्रा सर्जकलाई छरेको छ, पात्रलाई पनि, तर जहाँ पुगे पनि हृदयको ठूलो खण्डमा तिनीहरू बाल्यकाल बोकेर हिँडेका छन्, जहाँ पुगे पनि अतीतको स्मरण बोकेर हिँडेका छन्। संस्कृतिको अमीट छाप र देशको माया भारी बोकेर कुधेका छन्।

एकपल्ट शीर्षकथामा प्रवेश गरेँ। त्यसले मलाई छोयो। त्यो पढेपछि मेरो मनमा चेवन राईको सधैँ सम्झिरहने छु अनुगुञ्जित भयो। यो एउटा शीर्षक, उनको मास्टरपिस कृतिको। मैले बिर्सन सकिनँ र त्यसैलाई अनुकुलित गरेर आज यो लेखिरहेछु। गर्दै लाँदा डम्बरीले मलाई निरन्तर निम्त्याइरह्यो। म जयाको लेखनशैलीबाट प्रभावित भएँ― त्यो सरलता र निख्खरता धेरैलाई सुरुमा आउँदैन तर उनमा आएको छ। त्यसैकारण गर्दा आज म अलिकति संस्मरणलाई उनेर समीक्षासँग मिलाउन चाहन्छु। यो विधा मिश्रणको खेल।

डम्बरीभित्र २२ वटा कथा छन्, तर आँसु, समय जस्ता केही रचना लघु आकारमा छन्, परदेशीलाई पत्र पत्रात्मक शैलीको एक रचना छ। डम्बरीका कतिपय कथा निबन्धात्मकतामा गएर टुङ्गिएका पनि छन्।

त्यसो भए पनि अधिकांश रचना कथाको परीक्षणमा सफल उत्रेका छन्। ती सफल मात्र नभै अत्यन्तै राम्रा र शक्तिशालि सिर्जना हुन्। जयाका कथा नारीले हेरेको जगत्प्रतिका दृष्टिकोण हुन्, उसले भोगेका यथार्थहरू― पहाडामा, मधेशमा, हङकङमा, बेलायतमा। एउटी शिक्षितले, अशिक्षितले, परम्परितले, नयाँले।

यी कथाले पाठकलाई नारीको अन्तर्जगतभित्र पुर्‍याउँछन्। पुरुषले देखेको नारीको जगत् बेग्लै हुन्छ, नारीले भोगेर लेखेका अर्कै। यी कथा त्यो सू73म जगत्का मिहिन चित्र हुन्। धेरै कथा नेपालको पहाडी पृष्ठभूमिमा अवस्थित छन्। पुरानो समाजमा, पुराना मान्यताले निर्मित पात्रका मानसिकता, संस्कृति र चरित्रले गर्दा जयाले ओझेल परिरहेको एक संस्कृतिमाथि कलात्मक चिन्तन गरेको देखिन्छ। केही कथामा पुरुष पात्र कल्पित छन्। जस्तै नजन्मिएको छोरो। कति शक्तिशाली छ यो कथा! पत्नीबाट एकपछि अर्की छोरी थपिँदै जाँदा छोराको सपना झन्झन् टाढा हुन्छ। घरमा सुत्केरी जिउ लिएर रमिला वर र पर गरिरहेकी होली शिवाकोटी सर गिलास रित्याइरहेको हुन्छ। यो समयले बदल्न नसकेको पुरुष मनोविज्ञान हो। प्रस्तुतीको कलात्मकताले कथालाई उत्कर्षता प्रदान गरेकेा छ।

धेरै कथा नारीवरिपरि छन्, उनैसित जोडिएका, उनीलाई हेर्ने पुरुषका, परिवारका र समाजका। खुला ढोका पनि पुरुष पात्रकै कथा हो― परस्त्री गमनमा बानी परेको पुरुषले एकदिन थाहा पाउँछ पत्नी गर्भवती भई। उ मनमनै बोल्छ― ए मेरी गाई प्राणी! तैँले मैजस्तो बदमास छोरो जन्माउँछस् कि तै जस्तै सुधी छोरी हँ। वास्तवमा एउटा कार्यालयमा एकाउन्टेन्ट बनेकेा त्यो पात्र अर्कै नारीसित धेरैदिनदेखि पल्केकेा छ। घरमा आफ्नी आमाको खटन छ, उनको सेवामा बुहारी छोडेर ऊ टाढा बसकेो छ। यसरी सासूहरू पनि आफ्ना बुहारीमा कुण्ठा रोप्न र छोरालाई निरङ्कुश छोड्न स्वतन्त्र छन्। उसले कहाँ त्यो सुनाउन पाउँछे र?

अनुभूतिमा संयुक्त परिवारप्रथा, मानिसले त्यहाँ देखेभोगेको बैभव, पुरुषको गर्जन र नारीको भित्रभित्रै दुखिरहने पीडा, कुलतमा लागेको छोरो र पारिवारिक विख48डन छ। यस्तोबेला अविवाहित छोरीको मनोभावनालाई अत्यन्तै सुन्दर शैलीमा उतारिएको छ। विघटित परिवारकी म पात्रले सारा बैभवबीचमा हुर्केर पनि त्यहाँका छोरीबुहारीले भोगेका रिक्तता देख्तछे। आफैँलाई अुनभव हुन्छ― के आजीवन कुमारी बस्छु भनेर प्रण गरेपनि भित्र मनमा यौन लालसा बाँकी के हुन्छ र? निद्रा र तन्द्राको अनुभूतिसँगै चियाको घुट्को पिउँदै छु।

कुनैकुनै कथामा अनेक तत्व मिसिएका पनि छन्। समाचार एउटा त्यस्तो कथा हो। नेपालका गाउँबाट उठेकी भाउजूले हङकङ पुगेर यान्त्रिक जीवनमा टेक्नु, यताको ग्रामीण परिवेशको निर्मलता र स्वच्छताको, कृषि समाजको दैनिकी, त्यसको जीवन्त सम्झनासँगै सङ्कटकाल भय र आतङ्क, द्वन्द्वले ध्वस्त भएका गाउँ, जर्जरता, रोग भोक, भय, अशङ्का र मृत्युहरूका समाचार उता पुर्‍याउनु। सुन्दर आदिम समाजको पृष्ठभूमिमा उठेका डरलाग्दा कुराहरू। सौन्दर्य र शान्तिलाई भय र विनाशलीलासँगै, स्वदेशलाई परदेशसँगै, चिरपरिचितलाई अपरिचितसँगै एउटै कथामा। कति सरल विम्बले कति सुन्दर भाषामा।

अर्को कथा छ― क्युरियो पसल। त्यसले पाठकलाई विश्वबजारमा पुर्‍याउँछ। त्यो स्वदेशको दुर्दशाचित्रमाथि व्यङ्ग्य हो। चिठी तिमीलाई बाँझोपनले अभिशाप खेप्नुपर्ने महिलाको कथा छ, नयाँ साथीमा एउटा अन्तर्राष्ट्रिय परिवेश छ जहाँ व्यभिचारमा लटपटिएको पुरुष छ, ठगिएकी लुटिएकी नारी। त्यो परिस्थिमाथि लेखकको विश्लेषण छ। सिमाना काटेर लगाएको माया कति क्षणिक! मायाको स्थिरताको लागि पनि आफ्नै परिवेश चाहिन्छ। यसमा एउटा नेपालीले फिलिपिनो केटीलाई अभर पारेर अदृश्य भएको कथा छ भने आशामा एउटी नेपाली कन्यालाई अभर पारेर फर्किने एक गोरो म्यानेजरको। डाक्टरहरूले बच्चामा एचआइभि पोजिटिभ् देखियो भनेका छन् तर अहिले ऊ उसैलाई पर्खेर बसेकी छे। उसलाई महिना दिनको सुत्केरी छोडेर लन्डन फर्किएको उसको लोग्ने न त फर्की आएको छ, न त चिठी फोन। यस्तै गरी सौतेनी आमादेखि लिएर घरको विपन्नता र अशिक्षाको परिणाम भोगिरहेकी धेरै पिपासुकी साझा धरती भएकी सुना कसैको छोरो पाएपछि परित्यक्त हुन्छे सहरको एक छीँडिमा कष्टको जीवन बाँच्ने बल गर्छे एउटा कथामा अतीतमा गुमेको कुनै प्रेमीको सम्झनामा पर्खिरहेकी अर्की पात्र आफ्नै अनुहारका चाउरी गन्छे र तर्छिन्छे समयमा, कामुक हाकिमलाई शरीर सुम्पिन अस्वीकार गर्दा सरुवाको चिठी पाउँछे स्वाभिमानमा, परदेशमा दुःखले जीवन धान्ने प्रयत्न गर्दागर्दै देशभर, सरकार र जनसरकारको दोहोर धरपकड सुनेर, एकले अर्काको ज्यान बेपत्ता पार्ने होडको खवर सुनेर विभ्रान्त अवस्थामा दिन र रात छुट्याउन नसकिने अवस्थामा पुगेकी पात्र छे वर्तमानमा. अनेक अन्तरविरोध र भिन्नताले घेरिएको संसारमा साझा यौनवजारमा पुगेकी एक पात्र सम्झिन्छे― कहाँको वार्षिक राँकेमेलाको पालम र धान–नाच, कहाँको दैनिक डिस्को र भीडभाड, त्यहीँ पुगेका छन् कान्छीमा र हर्कमान परिवर्तनमा त्यसैगरी पाश्चात्य परिवेशमा परेका, दोधारे संस्कृतिमा बिलीन भएका नेपाली पात्रका कथा छन् हिउँ परेको रात र लन्डन लाइफमा।

यसरी डम्बरीभित्र जयाका अनेक कल्पना र यथार्थहरू, स्वदेशका विदेशका र टाढाका विविधतायुक्त परिवेशहरू पाएँ। ती सबैको जरामा नारी छन्, नारीलाई गलत अर्थ्याउने पुरुष समाज छ। यी साराबाट मुक्तिको खोजी उनको अभिष्ट हो। जयाको लेखनी अत्यन्तै आकर्षक छ, छोटो अनेक इमेजले भरिएको, टिपिकल नेपाली संस्कृतिबाट टिपेको र विम्बचित्रले भरिएको, डाइरेक्ट, पत्यार नलाग्ने, मन तान्ने। एउटा सफल लेखकमा हुने सारा गुण कमाएकी जया अहिलेको फराक विश्वकी शक्तिशाली प्रतिनिधि सर्जक हुन्― एउटा इथ्निक समुदायकी, परदेशी जीवनकी, सङ्घर्षकी, नेपाली नारीको जीवनलाई विभिन्न कोणबाट हेर्न सक्ने, छुन सक्ने, पाठकलाई त्यो अनुभूति दिलाउन सक्ने। एक इमान्दार एवं शक्तिशाली लेखिका― वर्तमान परिवेशकी।

डम्बरी शीर्षकथा पढिसकेपछि म अत्यन्तै प्रभावित भएँ। त्यो धरान निवासी सिङ्गापुरेनीले मैलाई पर्खिरहेँझैँ लाग्यो। म विक्रम भएँ। अवोध र अज्ञात डम्बरीले छोराको नाम सोधेर मैलाई पर्खिरहेकी अन्धाकारमा। अन्धकारकै बीचमा एउटा ससानो इमेल लेखेर डम्बरीलाई छोड्न चाहन्छु।

प्रिय डम्बरी,

म तिम्रो विक्रम। यहाँ जीवनको झोडीमा लुकेर काम गर्दैछु। तिमीलाई सिङ्गापुरेनी भन्दा रहेछन्। म सिङ्गापुरमा छैन, हङकङ बेलायत कतै छैन। एउटा सिमेटि्रमा छु― माने चिहानघारीमा। जमीन खन्दाखन्दै भित्रै पुरिएको । धरानबाट आएर यहाँ भोक खनेँ, तिर्खा खनेँ, अनेक इच्छा खनेँ, सबै सकेर सपना खन्न थालेको मात्र थिएँ, गर्ल्याम्म डाँडै खस्यो। म भित्रै पुरिएँ। यो परदेशमा ऐया भन्न पाइनँ। एक घुट्की पानी पाइनँ। तिमीलाई मात्र सम्झिरहेँ।

यतिखेर यहीँ मरिरहेकै छु। केवल तिमीलाई सम्झिरहेको छु, डम्बरी। माया नमार्नू तर अब तिमीले त्यसरी अल्बम नपल्टाउनू। मेरो साइट खोलेर पस्नू त्यहाँ मरेको पनि कुदिरहेको, खेलिरहेको, हाँसिरहेको देख्नेछ्यौ। भ्रम लाग्ला ए विक्रम जिउँदै रहेछ भन्ने। हो म चाहन्छु तिमी त्यही भ्रममा बाँच्नू। एउटा परोक्ष यथार्थतामा। जति ठूलो भ्रान्ति त्यति नै ठूलो सहारा हुन्छ।

छोराको नाम पनि भ्रान्ति राखे हुन्छ, तर अबउप्रान्त त्यसरी चिठी लेखेर हुलाकीलाई नपठाउनू। यताका हुलाकी मरिसके। तिमीले इन्टरनेट खोल्नू इमेल गर्नू त्यहाँ च्याट गर्न आउने मैले भ्वाइस पनि रेकर्ड गरी छाडेको छु, अटोस्टप नहुन्जेल च्याट गरिबस्नू भिजुएल हेरिबस्नू। जीवन केवल प्रतीक्षा रहेछ तिमी मेरो प्रतीक्षा गर्नू, म मृत्युको प्रतीक्षा गरिरहेछु। यो ढिस्को मुनी पुरिएपछि अझै मरेको छुइनँ कि जस्तो पनि लाग्छ― यो मृत्यु पनि भर्चुअल हो कि? मृत्युको सिम्युलेसन पो हो कि जस्तो पनि लाग्छ।

तिमीलाई नै सम्झिरहेछु, डम्बरी !

You might also like to read the following poems:

    Fatal error: Call to undefined function related_posts_by_category() in /hermes/bosoraweb133/b2628/d5.sanjaalc/public_html/nepaliarticles/wp-content/themes/notepad-chaos/single.php on line 58