Yagya Kumar Pradhan – Dolakhama Kumari Bhairab Jatra
यज्ञकुमार प्रधान – दोलखामा कुमारी भैरव जात्रा
(Source: शनिवार)
सत्ता कुर्सीको लागि वाक युद्ध, ध्वंसात्मकयुद्ध अहिले मात्र होइन पौराणिक कालमा पनि बराबर हुने गर्दथ्यो भन्ने कुरा हिन्दु ग्रन्थ पुराणहरूबाट थाहा पाइन्छ । देवगण र असुरगणको युद्ध वर्णन ग्रन्थको आधारमा हाम्रो धर्म, संस्कृति र जात्रा पर्व चलिरहेको छ । दोलखामा यही गन्थको आधारमा केही जात्रा पर्व वाषिर्क रूपमा सञ्चालन भइरहेको छ त्यसमध्ये एक हो कुमारी भैरव जात्रा । यो जात्रा भाद्र कृष्ण पक्ष द्वितीयादेखि षष्टिसम्म ५ रात चल्दछ । यस वर्ष यो जात्रा भदौ १० गते सुरु भई १४ गतेसम्म हुँदैछ ।
देवगण र असुरगणबीचको युद्ध सकिएपछि विष्णु भगवान आरामका लागि सुत्नुभयो । सुतेको दिनलाई हरिशयनी एकादशी र उठेको दिनलाई हरिबोधनी एकादशी भनिन्छ । जब हरि विष्णु भगवान सुत्नुभयो । असुरगणहरू फेरि सल्बलाउन थाले । देवी भगवतीले घण्टाकर्ण राक्षसलाई मार्नुभयो । यही सम्झना स्वरूप उपत्यकामा र दोलखामा पनि घण्टाकर्ण जात्रा मनाउँदै आएको छ । दोलखामा राजकुलेश्वर तलेजु भवानी मन्दिर अगाडि घण्टाकर्णको स्वरूप बनाइन्छ र बाजा बजाई देवी भगवतीलाई वली पूजा गरी घण्टाकर्णलाई पनि देवी भगवतीको प्रसाद चढाई दही चिउरा खुवाई खुकुरीले प्रहार गरी मारी दोलखा सहर भन्दा केही पश्चिमस्थित खोल्सामा बाजा बजाउँदै लगी फालिन्छ ।
देवी भगवतीले घण्टाकर्ण राक्षसलाई मारेपछि असुरगणहरू झन् चम्किन थाले । देवगणहरूमा फेरि युद्ध गर्ने निश्चय हुन्छ । यसका लागि महामाया कालिञ्चोक देवी भगवतीको शक्ति प्राप्त नगरी असुरगणलाई जित्न असम्भव मान्छन् र देवी भगवतीको पूजा प्रार्थना गर्दछन् । स्व. योगी नरहरिनाथले आˆनो पुस्तक ‘देश दर्शन’ मा सप्तसती चण्डीमा वर्णन गरेअनुसारको देवी भगवती र शुम्भ निशुम्भ बीचको युद्ध दोलखाको कालिञ्चोक मन्दिरको तल भिरालो मैदानमा भएको भन्ने उल्लेख गर्नुभएको छ ।
यही युद्धलाई सम्झना गर्दै अभिनय गर्न दोलखाका सम्बन्धित गुठीयार ढापा खलक रक्षा बन्धन पूर्णेको अघिल्लो दिन बाजाका साथ कालिञ्चोक मन्दिरमा जान्छन् र पूर्णेको दिन बिहानै देवी भगवतीलाई पूजा गरी शैन्य शक्ति प्रदान गरेको स्वरूप सल्लाका सुरिला साना साना ८।९ वटा रुखहरू लिएर आउँछन् । जसलाई सैन्यको निशान मानिन्छ । यो निशानस्वरूप रुख इन्द्रजात्राको दिन दोलखाको मुख्य मुख्य ८ टोल ठाउँमा उभ्याइन्छ । यस रुखको टुप्पोमा इन्द्रलाई राखिएको हुन्छ ।
कालिञ्चोकबाट फर्केर आई दोलखा ुहरका देव मन्दिरहरू सबै परिक्रमा गरी प्रसाद दिन्छन् । कालिञ्चोकबाट फर्केपछि राती तीनधारा अगाडिको नारायण मन्दिर अगाडि उपकर्ण यज्ञ गरी रहेका बेला असुररूपी ठूलो लाखे आई यज्ञ विध्वंश गर्न खोज्दछ । तल्लो टोलस्थित रानी पोखरीमा गंगालाई पूजा गरीपानीमा लुकेको राक्षस खोज्ने अभिनयमा पौडी खेलाइन्छ । ठूलो लाखे हुनेलाई र पौडी खेल्नेलाई रांगाको आधा टाउको पुरस्कार दिने चलन छ ।
साँझ परेपछि विष्णु भगवान् र राजा इन्द्रले भष्मासुरलाई मारेको अभिनय नाच भइरहेको बेला लाखे नाच पनि नाचिन्छ तर विष्णु भगवान् आउनेबित्तिकै लाखेहरू भाग्दछन् । रात परेपछि कृष्ण र राधिकाको रासलिला नाच हुने गर्दछ । यसमा केटाहरूले कृष्ण र राधिका भई नाच्ने गर्दछन् ।
यसरी देवासुर सङ्ग्रामको अभिनय पर्व जात्रा भइरहेको बेला अर्को घटना आई पर्दछ । किम्वदन्तिअनुसार सहर बजारमा ठूला साना बच्चा धमाधम मर्न थाले । त्यसैबेला एउटी घर्तिनी बुढीले अनेक बक्न थाल्दछे । पिट्ने कुट्ने गर्न थाले र लातले हान्न थाले । खुट्टाले हान्न थालेपछि बुढीले फेरि ‘म बोक्सी होइन मैले तिमीहरूका बच्चा मारेको छैन, मलाई नै अन्यायमा पारी तान्त्रिक गुभाजुले खाल्डोमा हालेको छ मलाई निकाल्ने काम गर भनिन् । कसरी कस्तो खाल्डोमा हाल्यो तिमी को हौ भनि सोधनी गर्दा भन्न थालिन् । कुनै समयमा दिदी त्रिपुरासन्दरी र म तामाकोसीको तिरमा बसिरहेका थियौ । त्यसबेला एकजना तान्त्रिकले हामीलाई देख्यो र हामीलाई दोलखा सहर बजारमा बस्न आग्रह गरे । हामीले पनि तामाकोशी देखिने ठाउँमा बस्छौ भन्यौ र दिदी त्रिपुरासुन्दरीलाई भव्य मन्दिर बनाई इज्जतका साथ दोलखा सहरको पूर्वतर्फ राखे मलाई दक्षिणतर्फ राखे । म रातो पहिरन भएको चञ्चले स्वभावको भएकोले तान्त्रिकले मलाई झुक्याई खाल्डोमा हाले र आफैँ निस्के’ भनिन् । तान्त्रिकहरूले पनि ध्यान दृष्टिले हेर्दा कुरा ठिक देखियो । त्यसपछि रातो पहिरन भएकी चञ्चले बालकुमरीलाई वर्षको ५ दिन मात्र निस्कन पाउछौ तर सधैँको लागि निस्कन तामाकोशीको ढुङ्गा आँप बन्दा भङ्गेराले पाइला चाल्दा र भुटेको भटमास टुसाई उमे्रको बेलामात्र निस्कन पाउछौ भन्ने शर्त राखे ।
देशमा असुरहरूले अशान्ति मचाई रहेकोले बेला कुमारीले केही सहयोग गर्लीन् भन्ने विचारले भाद्र कृष्णपक्ष द्वितीयादखि षष्टिसम्म ५ राती निक्लन पाउने भयो । पुरानै रूपमा यो अर्को रूपमा क-कसलाई सहभागी गराउने भन्ने सम्बन्धमा निकै छलफल सल्लाह भयो तर टुङ्गो लाग्न सकेन । राती त्यही बोक्सी भनिएको घर्ती बुढीलाई यो यो रूपमा यस्तो तरिकाले यति जना निस्कने भन्ने सारा विधि विधान रूपसमेत सपनामा बताएअनुसार द्वितीयादेखि कुमारी निकाल्ने भयो । तर कुमारी मात्र निकाल्दा फेरिउपद्रो गर्न सक्ने र एक्लो निस्कदा अशोभनीय भएकोले कुमारीको नियन्त्रणका लागि पनि पतिको रूपमा कालो अनुहार कालो वस्त्र लगाएको कालभैरव, सेतो वस्त्र लगाएका तरवार भिरेको घोडामा सवार भएका राजा र राजाको सहायकमा एकजना खुकुरी बोकेको, उपद्रो मचाउनेलाई जालमा फसाउन जाल फालेको अभिनय गर्ने एकजना र रातो पहिरन भएको रातो बाक्लो अनुहार मुकुण्डो लगाई दिई कुमारीको रूप दिए । प्रत्येकको एक एक जनापछि लाग्ने सहायक समेत गरी सुरु दिनमा १२ जनाको समूह बनाई कसाई कुस्लेको बाजा बजाई रातो कुमारी र भैरवलाई निकाले ।
पहिलो दिन कुमारी भैरव जात्रा रातको ९।१० बजेदेखि निकाली सहर बजारमा बाजाका साथ नचाउँदै जाँदा भूत पे्रतहरू पनि ठाउँ ठाउँमा बसी हेरिरहेको र भूतपे्रतदेखि हेर्न आउने मानिसहरू डरले भाग्न लागे । मानिसहरूले कुमारीलाई पूजा गर्न भ्याए तर भैरवलाई कसैले पूजा गर्न पाएनन् । यसले गर्दा भैरवलाई रिस उठेको रहेछ ।
भोलिपल्टदेखि तान्त्रिक गुभाजुको व्यवस्था गरी गुभाजुले पजा तथा नैवद्य सामान खर्पनमा बोकाई अघि लाग्दै गए र जहाँ जे भेटिन्छ सबैलाई पन्छाउँदै गए । यसरी जात्रामा सामेल हुने १४ जना भए । प्रत्येक घरबाट कुमारी कमारी भैरवलाई पूजा गर्न थाले । तर भैरवलाई भने हिजो कसैले वास्ता नगरेको र आज मात्र पूजा गर्न लागेको देखि रिसले आˆनो उन्मत्त लिङ्ग देखाइदिए र लौ यसमा पूजा गर भन्ने आशय रहेको भन्ने भनाइ पनि छ ।
कुमारीले विध्वंश मचाउलीन् भनि भैरवले आफूभन्दा अगाडि जान नदिई पनि पछि लगाई राखे । यस किसिमले द्वितीयादेखि षष्टि ५ रातसम्म दोलखा सहर बजारमा रातको ९/१० बजेदेखि बिहानसम्म कुमारी भैरवको जात्रा नाच हुने गर्दछ । बिहानभित्र पस्ने बेलामा कर्णपि्रय बाजा बजिरहेको हुन्छ । बिहान भैरवभित्र पसिसकेको हुन्छ तर कुमारी भने भित्र जाँदै बाहिर आउँदै पति भैरवलाई खोजेको अभिनय गर्दछिन् । २ पटकभित्र बाहिर गर्दै तेस्रो पटक बल्लभित्र पस्दछिन् । यस नाचमा एक कसाही र १२ कुस्ले ढोलक, सहनाई झ्याम्टा बाजा बजाउने गर्दछन् । कर्णपि्रय बाजा र रोमान्चित नृत्यले गर्दा रातभर नृत्य हेर्न कैयाँै मानिसको भिड लाग्ने गर्दछ ।
यो कमारी भैरव जात्रा टसिया टोलको मन्दिर घर र पिंगल टोलको मन्दिर घरबाट हुने गर्दछ । तीन वर्ष टसिया टोलबाट र तीन वर्ष पिंगल टोलबाट हुने गरेकोमा पिंगलको मन्दिर घर जीर्ण भइसकेको र टसिया टोलको घर नयाँ पक्की बनाइएबाट पिंगल टोलबाट जात्रा ननिकालेको धेरै वर्ष भयो । यी जात्रामा सहभागी हुनेहरू सबै शिवभक्ति परिवारका हुन् र पुजारी गुठीयार पिंगल टोलको श्रेष्ठ परिवारका हुन् । यी जात्रामा सहभागी हुनेहरूलई १० पाथी धानको बिउ जाने खेत र केही वारी मात्र छन् । कुमारी जात्रा सञ्चालनको लागि गुठीको आयस्ताबाट नपुग्ने भएकोले पुरान्छे टोल घर भई हाल थापाथलीमा बसोबास गरी रहनु भएका लक्ष्मण श्रेष्ठले वर्षेनी आर्थिक सहयोग गरिरहनु भएको छ । टसिया टोलको नयाँ घर पनि उहाँलेनै निर्माण गर्नुभएको हो । श्रेष्ठले भैरव कुमारीलाई चाँदीको तोरण -किकिपा) घाङ्गलको साथै जात्रामा सहभागी हुने सबैलाई कालो रातो, सेतो पदअनसारको पोसाक पनि दिनुभएको छ । यस कुमारी भैरवको जात्रा भर आˆना पति, छोरा छोरी सन्तानको आयु वृद्धि सुख समृद्धिको लागि महिलाहरु व्रत बस्ने गर्दछन् । पञ्चमीको दिन ब्रत बस्ने धेरै हुन्छन् ।
यो कुमारी भैरव जात्रा कहिलेदेखि चलेको हो यकिन गरी भन्न सकिने आधार प्रमाण भने भेटिएको छैन । सयौ वर्ष पहिलेदेखि चल्दै आएको अनुमान छ । भैरवले लगाउने चाँदीको लामो सिक्री माला चाँदीकै कमलको फल जोडिएको छ र यो माला ने.सं. ९१२ वि.सं. १८४८ मा काठमाडौँ नघल बहाल बस्ने चित्र नरसिंह र सुपुत्र भोजमान सिंह हेमलक्ष्मीले चढाएको भन्ने देखिन्छ । त्यस्तै रातो कुमारीले लगाउने गरेको चाँदीको माला र जोडिएको कमलको फूल पनि छ । यो माला वि.सं. १८९८ सालमा दोलखा टसिचा टोल बस्ने विद्यानन्दले चाँदी तोला १६ को माला र करिब ५ पाथीको खेत चढाएको भन्ने यसै मालामा लेखिएकोबाट देखिन्छ ।
यो जात्रा सञ्चालनमा सहभागी हुने शिवभक्तिहरुमा कोही निसन्तान एको कोही युवा बाहिर बसोबास गरेको र कोही पढेलेखेको युवाहरु सहभागी हुन नचाहने भएकोले अब केही वर्षपछि जात्रा सञ्चालन सङ्कटमा पर्ने प्रवल सम्भावना देखिँदैछ । परम्परागत यस जात्रालाई कसरी निरन्तरता दिने भन्ने सम्बन्धमा कसैको ध्यान गएको जस्तो लाग्दैन ।