Raid In Nepalgunj Hotels – 20 Couples Involved In Illegal Sexual Activity Arrested
Filed under: Nepal - Sex Prostitution and Social Issues
२० जोडी पक्राउ, १६ बिरुद्ध मुद्दा
(Source: Kantipur/20100803)
नेपालगन्ज , श्रावण १८ – प्रहरीले बिभिन्न होटलहरुमा छापा मारेर यौन क्रियाकलापमा संलग्न २० जोडीलाई पक्राउ गरेको छ ।
अपराधिक र बेश्यावृतिका घटनाहरु रोक्न जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जका होटलहरुमा परिचयपत्रको व्यवस्था लागू गरेको छ । अव होटल व्यवसायीहरुले सेवाग्राहीहरुको स्पष्ट परिचय खुल्ने परिचयपत्र आफैसँग
राख्नुपर्ने छ । यसअघि बिभिन्न समयमा परिचयपत्रको व्यस्था लागू गरिएपनि कार्यान्वयन भएको थिएन । यस्तो व्यवस्था उल्लंघन गर्ने व्यवसायीहरु माथि कारवाही गरिने प्रहरीले जनाएको छ ।
साउन ७ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले परिचयपत्र लागू गर्ने निर्णय गरेपछि प्रहरीले होटलहरुमा छापा मार्न शुरु गरेको हो । प्रहरीले नेपालगन्जका होटलमा छापा मारेर यौन क्रियाकलापमा संलग्न भएको अभियोगमा ४० जना युवा-युवतीलाई नियन्त्रणमा लिएको थियो । न्युरोड, बसपार्क, बिपिचोक, धम्बोजी लगायतका क्षेत्रका बिभिन्न होटलहरुबाट उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेमा सेनाका चारजना जवान समेत छन ।
नगरका शिव गेष्ट हाउस, मनकामना, भरिपुर्ण, साईनो, स्वस्तिक, रोयललगायतका होटलहरुबाट उनीहरुलाई पक्राउ गरेको हो । अबैध यौनजन्य क्रियाकलापमा संलग्न पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुमध्ये नौ जना १८ बर्ष मुनिका छन् । पक्राउ पर्ने पुरुषहरुमा बैंकका कर्मचारीहरु, व्यापारीहरु र विद्यार्थी छन् । केही युवतीहरु काठमाडौबाट समेत यौन व्यवसायका लागि नेपालगन्ज आएको भेटिएको प्रहरीले बताएको छ । होटलहरुमा यौन व्यवसाय हुने गरेको खबर पाएपछि छापा मारिएको प्रहरी उपरीक्षक महेश बिक्रम शाहले बताए । यौन व्यवसाय गराउने होटल संचालकलाई पनि कारबाही गरिने उनको दाबी छ ।
प्रहरी निरीक्षक खेमबहादुर केसीका अनुसार, बिभिन्न चरणको अनुसन्धान पछि केहिलाई सम्झाएर अभिभावकको जिम्मा लगाईएको छ । १६ जनालाई सार्बजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाईएको छ । ‘ब्यवसायिक रुपमा संलग्न र पटक पटक पक्राउ परेकाहरु माथि कानुनी कारवाही सुरु गरिएको छ ।’ निरीक्षक केसीले भने ।
प्रहरीले अनुमानका भरमा निर्दोष व्यक्तिहरुलाई नियन्त्रणमा लिएको भन्दै केही होटल व्यवसायीहरुले गुनासो गरेका छन् ।
नेपालगन्जका होटल व्यवसायीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर प्रहरीले परिचयपत्रको व्यवस्थाका बारेमा जानकारी गराएका थिए । प्रहरीले उक्त व्यवस्था लागू गर्न अटेरी गरे व्यवसायीहरु माथि कारवाही गरिने जनाएको छ । होटलमा लुटपाट, हत्या र आत्महत्याका घटनाहरु बढिरहेकाले स्पष्ट रुपमा परिचय खुल्ने प्रमाण राख्न ब्यवसायीहरुलाई अनुरोध गरिएको प्रहरीले जनाएको छ ।
परिचयपत्र थप नराख्दा अपराधी सजिलै उम्कने गरेको प्रहरीको भनाई छ । व्यवसायीहरुले भने परिचयपत्रको व्यवस्था लागू गर्ने निर्णय सकारात्मक भएको बताएपनि तत्काल लागू गर्न नसकिने दावी गरेका छन् । होटल अर्गनाईजेशन बाँकेका अध्यक्ष भाष्कर काफ्लेले तत्काल परिचयपत्रको व्यवस्था लागू हुन नसक्ने बताए । ‘हामीहरु पनि यस्तो व्यवस्था लागू गर्न चाहान्छौं तर केही समय लाग्छ’-उनले भने ।
Originally posted 2010-08-03 20:10:23.

