Nepal – Places Of Interests – Maula Kalika [Gaindakot, Nawalparasi]

April 27, 2011 by · Leave a Comment
Filed under: Nepal - Places Of Interest 

पवित्र धार्मिक स्थल देवघाट धामको परिसरमा अवस्थित नवलपरासी जिल्लाको गैंडाकोट गा.वि.स. वडा नं. १ मा रहेको, मौला कालिका मन्दिर, धार्मिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले अति नै महत्वपूर्ण स्थानकाे रुपमा सुप्रसिद्घ छ । समुद्र सतह देखि ५६१ मिटरको उचाई र समथल भूमि बाघखोरबाट २ कि.मि. माथि अवस्थित यस मौलाकालिका मन्दिर प्राकृतिक सौर्न्दर्यले भरिपूर्ण पहाडी वनको धूरीमा रहेको छ । नारायणगढबाट नारायणी नदीको पुल पार गर्ने बित्तिकै दाहिनेतिर दुइ किलोमिटर भित्र जुनकुनै पनि सवारी साधनबाट मन्दिर प्रवेशद्वारमा पुगिन्छ । प्रवेशद्वारदेखि दुइर्मिटर चौडाइको पैदल हिँड्ने उकाली-ओराली बाटोमा छपनी ढुङ्गा बिछाइएको मार्ग छ । बाटोमा सिद्धि विनायक गणेश , श्रीकृष्ण भगवान तथा देउराली देवीको पूजा-अर्चना र दर्शन गरी आत्म सन्तुष्टि लिन सकिन्छ । मौलाकाली सामुदायिक वन र मौला कालिका धार्मिक वनभित्र निकै रमणीय हरियाली वातावरण भएकोले उकालो चढ्दा पनि कठिनताको महसुस हुदैन । भन्ज्याङ्ग चौतारीहरुमा विश्रामगरी चिसो पानी पिउँदै, सुन्दर प्राकृतिक दृश्यावलोकन गर्दै करिब एकघण्टामा मौलाकालिका मन्दिरमा पुग्न सकिन्छ ।

मान्छेले दृढ इच्छा शक्ति देखायो भने के गर्न सकिंदैन भन्ने उदाहरण बनेको छ गैंडाकोट स्थित मौला कालिकाको मन्दिर । जव डाँडाको टुप्पामा अर्थात मौलाकालिकाको मन्दिरमा पुगिन्छ तव रमणीय पर्यटकीय छटाले मोहनी लगाउँछ । मौला कालिका मन्दिर देश-विदेशका धार्मिक पर्यटकहरुको लागि महत्वपूर्ण अवलोकनीय स्थल समेत बनेको छ । दक्षिणतर्फ नजिकै देखिने नारायणगढ बजारका साथै त्रिशूली र कालीको संगम देवघाटधाम पछि नारायणी नामबाट बग्ने नदीले त्यहाँ पुग्ने हरेक व्यक्तिको मन लोभ्याउनु स्वाभाविक नै हो । यहाँबाट नवलपरासी , चितवन, तनहुँ एवं गोर्खा जिल्लामा पर्ने अग्ला अग्ला पहाड, डाँडा, भञ्ज्याङ्ग, भीरपाखा र हिम-श्रृंखलाहरुको साथै सुप्रसिद्ध तिर्थस्थल देवघाटधाम, चितवनको समथर भूमि र राष्ट्रिय निकुञ्जको जंगल अवलोकन गर्न सकिन्छ । बि.सं. २०३८ सालदेखि सँस्थागत पूजा-अर्चनाको साथै जनसहभागितामा विकास निर्माण कार्यहरु गरिंदै आएको र बि।स २०५३ सालमा प्यागोडा शैलीमा ठूलो मन्दिर निर्माण भएपछि धार्मिक तथा अन्य पर्यटकहरुको संख्या उल्लेखनीय रुपमा बढेको छ । भगवतीको दर्शन र चरणमा गरेको भाक्कलहरुबाट मनोकांक्षा पूरा हुन्छ भन्ने भक्तजनहरुको विश्वास छ । स्थानीयवासीको सक्रियतामा संरक्षित सामुदायिक वन अहिले यति हराभरा भएको छ कि तर्राई तथा पहाडमा पाइने चराचुरुङ्गी तथा जंगली जनावरले यस घना जंगललाई आफ्नो वासस्थान बनाएका छन् ।

४५० बर्षपहिला सेन राज्यको पतनसँगै ओझेलमा पर्न गएको मौलाकालिकाको मन्दिरतर्फकसैको ध्यान जान सकेको थिएन । डाँडाको टुप्पामा एउटा सानो मन्दिर थियो, कहिलेकाँही स्थानीय आदिवासीहरु पूजा- अर्चना गर्थे । सेनवंशी राज्यकाल पछि शक्ति स्वरुपा मौलाकालिका भगवतीको पूजापाठ यसै गा।वि।सका बोटे, दर्राई, चेपाङ्ग, मगर, कुमाल, गुरुङ्गजस्ता आदिवासीहरुबाट पालोपालो गरी हुँदै आएको थियो । विक्रम सम्वत १९९० साल सम्म त्यहाँ ठूलो सालको रुख थियो भन्ने सुन्न पाइन्छ । रुख ओरिपरि दुङ्गाको पर्खाल थियो । खिया लागेर भष्म भैसकेका खुँद आकारका फलामका हतियारहरू थिए । धमिराले खाएको काठको मौलो र कालिका भगवतीको शिलारपत्थर थिए । आज पनि तिनीहरु भक्तजनहरुबाट पूजित हुँदै आएका छन् ।

वर्तमान मन्दिर भएकै ठाउँमा बि।सं। २०३२ सालमा यसै गा.वि.स. को काशिनाथ पौडेल र कुमान सिंह गुरुङ्ग मिलेर सानो मन्दिर निर्माण गर्नुभएको थियो । बि।सं। २०४३ साल बैशाख सम्म वडा दशैं र चैत्र दशैंमा पूजापाठ र पंचवली चढाउने व्यवस्था थियो । बि।सं। २०४४ साल चैत्रदेखि भने दैनिक विहान-बेलुका पूजापाठ हुँदै आएको छ ।

मौलाकालिकाको मन्दिर परिसरलाई सुव्यवस्थित वनाउने उद्देश्यले बि.सं.२०३७ साल आश्विन २५ गतेका दिन श्री धार्मिक सेवा समिति गठन भई बि.सं. २०३८ सालमा मौला कालिका मन्दिरमा आबद्ध भएको हो । सो समिति १५ जनाको थियो । सोहि सालदेखि नै त्यहाँ पूजारीको पनि व्यवस्था गरिएको छ । साथै देनिक कार्य संचालन, विकास निर्माण एवं अभिलेखलाई अध्यावधिक गर्न बि.सं. २०४९ असोज २२ गते धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको कार्यालय स्थापना गरिएको छ ।

मन्दिर सञ्चालन भएको धेरैबर्षसम्म विभिन्न कारणले सम्बन्धित निकायमा दर्ता हुन सकेको थिएन । बि।सं। २०५४ साल श्रावण ८ गते धार्मिक सेवा समिति, मौलाकालिका मन्दिर, गैडाकोट-१, को विधान बि।सं। २०५४ सालमा जिल्ला प्रशासन कार्यालय नवलपरासीमा दर्ता भइ यसले वैधानिकता पाएको हो ।

मन्दिर परिसरमा महाकाली, महालक्ष्मी, महासरस्वती, शिव र गणेशका सुन्दर मूर्र्तिका साथै तुलसीमठ, शिवलिङ्गमठहरु बनाइएका छन् । व्यवस्थित पक्की भान्छा घर, भजन किर्तन एवं अतिथि भवन, परेवाको लागि पक्की घर, प्राङ्गणमा टायल बिच्छाइएको, स्वागतद्वार, सत्कार गृह, आदि मौला कालिकाका विशेषता हुन् । यति मात्रै नभएर पानी र बिजुली बत्तिको समेत राम्रो व्यवस्था भएको सो क्षेत्रमा चौतारीहरु र हेलीप्याडको समेत निर्माण भएको छ ।

मौला कालिका मन्दिरमा जानका लागि सिंढीमार्गको निर्माण भएको छ जसमा मन्दिर सम्म पुग्न १ हजार ८ सय ८२ वटा सिंढी पार गर्नु पर्छ । मौला कालिका मन्दिर र आसपासको क्षेत्रलाई व्यवस्थित बनाउने, भौतिक संरचनाहरुको संरक्षण र मर्मत सम्भार आदि कार्य गर्नका लागि सजिलो होस् भनी अक्षय कोषको स्थापना समेत गरिएको छ । मौला कालिकाको नाममा धार्मिक वन बाहेक कुनै किसिमको स्थायी जग्गा जमीन गुठी केही छैन ।

Source: maulakalika.org.np

Related Articles:





    Related Posts Plugin for WordPress, Blogger...