Biography of Natikaji Shrestha – A man who dedicated his life to modern Nepali music

Source: nai.com.np/contents.php?id=214




ढल्के टोपी नलाउनू दाइ मेरो मनमा कुतकुती लाग्दछ
एकोहोरो नहिँड लौ न मनको कुरो मनमै अड्कन्छ ।

नातिकाजीको जन्म १९८२ सालको पुसमा ललितपुरमा भएको थियो । उनका बाबुआमाको नाउँ मोहनलाल श्रेष्ठ र चम्पादेवी थियो । उनका बाबु राणाका दरबारमा जागिरे थिए ।

नातिकाजी सात वर्षटेक्ता नटेक्तै हार्मोनियम बजाएर गीत गाउन सक्षम थिए । उनले सुरुमा तुयुनारायण श्रेष्ठसँग साङ्गीतिक शिक्षा हासिल गरे । आफ्नो घरमा, साथीभाइमाझ र भजनगृहमा गीत गाउँदागाउँदै उनी रेडियो नेपाल पुगे । उनी २००७ सालमा रेडियो नेपालमा प्रवेश गरे, तर उनलाई एक वर्षपछि मात्र नियुक्तिपत्र थमाइयो । २००८ सालदेखि २०३४ सालसम्म उनी रेडियो नेपालको नायव सुब्बास्तरका सङ्गीतकारका रूपमा जागिरे थिए । त्यसपछि राजाको हुप्रद्वारा उनी शाखा अधिकृत स्तरमा बढुवा भए र त्यसको केही समयपछि उनी रेडियो नेपालकै उपसचिवस्तरीय सङ्गीतकारमा नियुक्त भए ।

नातिकाजीले नेपाली आधुनिक सङ्गीतलाई एकछत्र रूपमा एउटै बाटोबाट अविरल हिँडाए । उनको अविरल योगदानले उनी नेपाली सङ्गीतका एउटा चिरस्मरणीय विम्ब, साधक र साधन भए । त्यसैले उनी यसैबाट नै नेपालमा र्सवप्रिय पनि भए । त्यति मात्र होइन भारतलगायत संसारमा जहाँजहाँ नेपालीको आवास छ, भावना छ र पाइला छ त्यहाँत्यहाँ उनले आफ्नो नाउँ रोपेः

पहाड बसी वनमा खेली हुर्केकी अकेली
वनको फूल शिरमा गुथी बनेकी मोहनी !

नातिकाजीले २०१७ सालमा सरस्वती राजभण्डारीसँग लगनगाँठो कसे । बिहेपछि पनि उनी उही ताल, उही सुर र उही स्वर बोकेर गीतियात्रामा संलग्न भइरहे । उनी वैवाहिक जीवनमा बाँधिएपछि उनको सङ्गीतमा सरस्वती झनै उत्साह, प्रेरणा र जागरणकी प्रतिमूर्ति बन्न थालिन् ।

नातिकाजीले प्रवेशिका परीक्षामात्र समुत्तीर्ण गरे । तर उनी सङ्गीतमा स्नातक भए । उनले शैक्षकि योग्यता जेजति हासिल गरे तापनि उनी सङ्गीतका सिङ्गो विद्यालय बने, महाविद्यालय बने र विश्वविद्यालय नै पनि बने । पढेर भन्दा परेर जानिन्छ भन्ने लोकोक्तिका उनी एउटा सग्ला उदाहरण भए । उनी नेपाली गीतिआकाशका नअस्ताउने तारा भए ।
नातिकाजीले आफ्नो जीवनको सम्पूर्ण भाग नेपाली सङ्गीतको आराधनामा समर्पित गरे । यिनका सङ्गीतमा पाइने दुःखात्मक, सुखात्मक र राष्ट्रनिर्माणमा जुर्मुराउने उत्साहपूर्णलयले गर्दा उनी अमर छन् । वास्तवमा उनको त्यो कलात्मक व्यक्तित्वले उनी नेपाली सङ्गीतका ज्योति भए । गाउँपाखा, सहरबजार सबै तिरका नेपाली अझै पनि बोल्छन् – “नातिकाजी नै रेडियो नेपाल हो र रेडियो नेपाल नै नातिकाजी हुन् ।” वास्तवमा त्यति बेला नातिकाजीले यसबारेको एउटा ठूलो फँाट नै स्थापना गरेका थिए । त्यसैले उनलाई नेपाली साङ्गीतिक क्षेत्रका सङ्गीतशिरोभूषण भनियो । कर्मको गुण, परिमाण र योगदानको मर्मलाई समेट्न उनका लागि यो उपमा पनि थोरै हुन्छ भने उनी नेपाली सङ्गीतका शङ्कराचार्य हुन् ।

नातिकाजीको अविरल सृजनायात्राले नेपाली सङ्गीतको बगैँचा अङ्कुरित भयो, फुल्यो र फक्र्‍यो । उनको सङ्गीतमा नेपालीको भावना फरफराएको छ । त्यसैले उनको सङ्गीतले नेपाली माटोमा जरा गाडेको छ । उनका सङ्गीतमा आबद्ध मीठामीठा आवाजले नेपालीहरूका मनमस्तिष्कमा झन् अपार स्नेह गाँसिसकेको छ

धरती भई एकचोटि सही हेर अरूले कुल्चेको
आगो भई एकचोटि बली हेर अरूले तापेको ।

नेपाली आधुनिक सङ्गीतको बगैँचामा नातिकाजीले नै राम्राराम्रा सुगन्धित फूलहरू फुलाए । नातिकाजीको सङ्गीतले नेपालको दक्षिण तर्राईका सम्पूर्ण फाँटहरू रङ्गाएको छ, उत्तरका हिमश्रृङ्खलाहरू ढाकेको छ भने त्यसैगरी उनको सङ्गीतमा अन्तर्निहित नेपाली भावनाले दार्जीलिङ, सिक्किम, भूटान र आसाममा नेपालको गौरवगाथा पुर्‍याएको छ । त्यति मात्र होइन उनले नेपाली स्वर, ताल र सुरलाई क्रमशः भूगोलभरि घुमाएका छन् । नेपालीहरू विराजमान भएको पृथ्वीभरि उनको धून पुगेको छ ।

नातिकाजी नसा र मुटुको रोगबाट थला परे । आफ्नी श्रीमती सरस्वती र तीनजना छोरी सङ्गीता, कविता र सविताले उनको सकेसम्मको सेवा गरे । वास्तवमा त्यसबेला पनि उनी रोगसँग युद्ध गर्थे र नेपाली गीतमा सङ्गीत र्समर्पण गरिरहन्थे । आफ्नो शारीरिक अवस्था जेजस्तो भए तापनि विभिन्न सांस्कृतिक समारोहहरूमा पुग्न पनि उनी पछि पर्दैनथे । साथै उनी वाङ्मयसेवामा पनि समर्पित थिए । उनी लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संस्थापक सहअध्यक्ष पनि थिए । अन्ततः नेपाली वाङ्मयसेवामा समर्पित भइरहेकै अवस्थामा उनी स्वर्गीय भए । २०६० साल कात्तिक १६ गते नेपाली साङ्गीतिक आकाशमा चिरस्मरणीय गहिरो शोक परेको थियो ।

नेपाली सङ्गीतमा नातिकाजीको धूनले दीप प्रज्वलित गरेपछि साङ्गीतिक संस्कृतिले सही बाटो समातेको हो । उनी गीतमा सङ्गीत भर्दा शब्दका मर्म , भाव र ज्ञान समाउन पुग्थे । त्यसैले उनी सङ्गीतका विशेषज्ञ भनेर पनि चिनिए । उनका सङ्गीतले जति राम्राराम्रा शब्दहरू प्राप्त गर्न सके त्यति नै मीठा स्वरलहरीले यिनका धूनमा पालिस लगाए ।

नातिकाजीका त्यस बेलादेखिका सङ्गीतका सम्पूर्ण सङ्ग्रहहरू हेर्ने हो भने यिनका दुई हजारभन्दा बढी साङ्गीतिक धूनहरू रेडियो नेपालमा रहेका छन् । यिनले युवावस्थामा गीत पनि गाएका थिए । त्यसबेला गाएका यिनका दुई सयवटा गीतहरू रेडियो नेपालमा सुरक्षति छन् । त्यति मात्र होइन यिनका बाईसवटा अपेराहरू रेडियो नेपालमा मौजुद छन् । यिनले आफैले गीत पनि लेखे । यिनले जम्मा सातवटा गीतहरू लेखे । मान्छेले गीत सुन्ने इच्छा मात्रै गर्छ भने पनि यिनको स्वर, सङ्गीत र रचनालाई मन नपराउने मान्छे नै हुँदैन; किनभने यिनी गाउँदा, लेख्ता र सङ्गीत भर्दा नेपाली मुटुको धुकधुकीबाट प्रस्तुत गर्ने गर्थे

एउटा तारा डाँडावारि अर्को तारा पारी
नेटो काटी गए पनि दिल हाराहारी ।

नातिकाजीले सङ्गीतकै सिलसिलामा नेपालका विभिन्न भूभाग डुले । नेपालीहरूका घरआँगनमा गएर गीत गाउने, सङ्गीत पोख्ने र रचना गर्ने नातिकाजी सरल जीवन र उच्च विचारका कुबेर थिए । उनको सरलताको अझै धेरैले तारिफ गरे, उनको व्यवहारको थुप्रैले पाठ सिके र उनको महानताको कदर गर्ने मान्छे पनि त्यत्ति नै भेटिए ।
नातिकाजीले केही मित्रराष्ट्रहरूको पनि भ्रमण गरे । उनको सीप, जाँगर र र्समर्पणबाट नेपालीहरू मात्र होइन विदेशीहरू पनि उनीसँग नजिक रहे ।

विभिन्न विभूषणबाट विभूषित नातिकाजीले जीवनभरि सङ्गीतमा समर्पित भएवापत इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, छिन्नलता गीतपुरस्कार, भूपाल सङ्गीत पुरस्कार र नइ सुरसम्मान प्राप्त गरे । यिनले नेपालका विभिन्न साङ्गीतिक, साहित्यिक र सामाजिक सङ्घसंस्थाबाट अरू पनि पुरस्कार, सम्मान र अभिनन्दन पाए । साथै उनको जीवनकालमा नइद्वारा सम्पादित ‘सङ्गीत शिरोभूषण नातिकाजी’ नामक ग्रन्थ पनि प्रकाशनमा आयो ।

नातिकाजीले नेपाली चलचित्रहरूमा पनि सङ्गीत दिए । उनीद्वारा प्रदत्त सङ्गीतहरूले चलचित्रलाई निक्कै नै लोकप्रिय बनाए । जहाँ र जेजसरी भए पनि उनले आफ्नो साङ्गीतिक कौशल नेपाली पटभूमिमा र्समर्पण गरे । नेपाली धरतीमा आफ्नो साङ्गीतिक सीपबाट अमर हुने काम नातिकाजीद्वारा भयो

यो नेपाली शिर उचाली संसारमा लम्कन्छ
जुनकीरी झैँ बत्ती बाली अन्धकारमा चम्कन्छ ।

<a href=”http://sanjaal.com/imagehost/share-3DE8_4E34B7F2.html”><img src=”http://sanjaal.com/imagehost/image-3DE8_4E34B7F2.jpg” border=”0″></a>
Tagged , , , , , , , , . Bookmark the permalink.
Add Comment Register



Leave a Reply