खासामा बेचिंदै नेपाली बैंस
Filed under: Nepal - Sex Prostitution and Social Issues, Nepal Dance Bar / Night Life
नेपालमा जस्तो यहाँ पुलिस/आर्मीले दुःख दिदैनन्। आउँछन् हामीसँग बस्छन्, रमाइलो गर्छन्, पैसा तिर्छन् र फर्किन्छन्।
‘यो त सूर्य चुरोट, मलाई खुब मन पर्छ।’
बन्द कोठाको मधुर तर रंगिन उज्यालोमा उपरखुट्टी लाएर उनले चुरोट सल्काइन्।
स्थानीय समय अनुसार रातको १२ वजेको छ। हाम्रो घडीमा त्यस्तै १० वजेका वेला एक अर्को प्याला भरिन् ल्हासा नामको बियरले।
‘म पहिला काठमाडौंको रेष्टुरेण्टमा काम गर्थे, तर त्यहाँ रातभरि काम गर्न पनि नपाइने। कता-कताबाट यता आइयो। यो जिन्दगीको भरै नहुने के दाइ।’
जिन्दगीसँग नभेटिएको उनको भर यतिवेला चिनको खासास्थित न्यू नेपाली रेष्टुरेण्ट एण्ड बारमा छ। एउटा सिंगै घरमा उनी सहित अरु १० जना नेपाली युवती बैंसको ब्यापार गरिरहेका छन्।
हामीभन्दा दायाँतर्फको कोठाबाट आवाज आयो- ‘नयन! तिमी यता आऊ।’
उनी जुरुक्क उठेर त्यसतर्फ लागिन् र केहीबेर हराइन् हामीबाट।
त्यसपछि सुन्दर अनुहार लिएर आइपुगिन् अन्जू। उमेर त्यस्तै १५/१६ भन्दा बढी छैन होला। ‘अँह, म त रक्सी चुरोट केही पनि पिउँदिन। सानै छु नि त!’ उनी बोल्दै गर्दा अर्की छिरिन्- प्रेरणा।
‘बिस्तारै सिकिहाल्छे नि दाइ, भर्खर एक महिना त भो यो आकी’- तिनले भनिन्। प्रेरणाले बियर खोलिन्, सबै प्याला भरिन् र भनिन्- ‘दाइ चियर्स!’
नेपालीमा ग्याम्बे भने झै एकै पटकमा पूरै प्याला रित्तो पारेर प्रेरणा बोलिन्- ‘यो त खासा हो नि दाई, देश अनुसारको भेष त गर्नै पर्छ। बरु, सिग्रेट सल्काउनु न म त झ्याप भइसकें।’
खासाको त्यो मध्यरात। झन्डै १० जना अटाउने हाम्रो कोठामा क्रमशः फरक-फरक नेपाली अनुहार फरक-फरक ब्यवहारका साथ आउने-जाने गरिरहे।
यहाँ के के पाइन्छ बैनी?
‘जे पनि पाइन्छ नि दाइ, काँ यो नेपालजस्तो हो र?
एक हजार रुपियाँदेखि रुप र बैस हेरेर १० हजारसम्मको रातबारे सांकेतिक जानकारी दिइन् उनले। ‘चाइनिज केटीहरू त अझ सस्तोमा पाइन्छन् भाउ बिगारेकै तिनेरले’ भन्दै गर्दा सैनिक पोशाकमा चिनिया दुई युवा आए। हामी सशंकित भयौं।
‘डराउनु पर्दैन दाइ, उहाँहरू पनि तपाईंहरू जस्तै ग्राहक हो। मैले भने नि यो नेपाल होइन’, स्वेच्छाले हामीलाइ सम्झाइन्। ती चिनिया सैनिक रहेछन्, केहीबेर नेपाली युवतीसँग बिताउन आएका। त्यतिबेला स्थानीय समय अनुसार रातको दुई बजिसकेको हुनुपर्छ।
झण्डै एक घण्टा पछि सेनाका दुई जवान बन्द कोठाबाट थकित सिपाही भएर निस्किएको देखियो।
‘केही हुदैन दाइ यस्तै हो, बरु क्यामेरा लुकाउनु होला, उनीहरुले देखे भने फुटाल्न सक्छन्। फोटो खिच्न चाहिं चाइनामा गारो छ, स्वेच्छाको सुझाब अनुसार हामीले क्यामेरा लुकायौं।
केहीबेर हराएर आएकी नयनले भनिन्- ‘दाइ नेपालमा जस्तो यहाँ पुलिस/आर्मीले दुःख दिदैनन् नि, ऊ यसरी आउँछन् हामीसँग बस्छन्, रमाइलो गर्छन्, पैसा तिर्छन् र फर्किन्छन्।’
काठमाडौं घर भएकी नयन त्यो बारको पुरानो स्टाफ रहिछन्। उनलाई धेरै जानकारी रहेछ खासाबारे। र, त्यहाँ नेपालका उच्च पदस्थ पनि धाउँदा रहेछन्। तर, अराजक हुन्छन् रे तिनीहरू यस मामिलामा। भनिन् -’चाइनिज ग्राहक त धेरै सोझा हुन्छन्। नेपाली जस्ता उत्ताउला हुदैनन्। भाषा बुझ्न गारो र मात्रै नत्र मजाका।’
करिव दुई किलोमिटर क्षेत्रफलमा फैलिएको खासा बजारमा यो एउटा प्रतिनिधि बार रहेछ। बुझ्दै जाँदा नेपाली काम गर्ने बारको संख्या आधा दर्जन जति रहेछ र खासामा रहेर विभिन्न काम गर्ने करिव ५ सय नेपाली अनि अरु चिनिया ग्राहकका मनोरञ्जनका माध्यम रहेछन् उनीहरू।
नेपालमा गृहमन्त्री रहँदाताका वामदेव गौतमले रात्रीकालिन व्यावसायमा कडा नियम लगाएको परिणाम रात्री व्यावसायमा अभ्यस्त भइसकेकाहरू काठमान्डूमा राति ११ वजेउता काम गर्न नपाउने भएपछि खासातिर हान्निएका रहेछन्। उनीहरु त्यस्तो नियमलाइ बिरोध गर्दै थिए खासामा पनि।
‘दाइ यहाँ त चौविसै घण्टा खुल्ला हुन्छ नि। पेशा गरेर पनि खान नपाइने काठमाडौं जस्तो होइन।’ नयनले भनिन्-’उसले चिन्ला कि, काकाको छोरा आउला कि, साथी पो आउली कि भन्ने चिन्ता पनि छैन।’
उनीहरूको दैनिक तलब कम्तीमा तीन सय रुपैयाँ हुँदो रहेछ। काठमाडौका रेष्टुरेण्ट, क्याविन र बारहरुबाट खासासम्मको दूरी पूरा गर्नुलाइ उनीहरु ‘बेस्ट प्रमोशन’ मान्दा रहेछन्। खासाका बार र ५ वटा डिस्कोथेकमा गरी डेढ सय जति नेपाली युवती कार्यरत छन्।
खासा रोडको त्यो मध्ये सडकमा अरु धेरै चिनिया बार र रेष्टुरेण्ट पनि छन्। जहाँ खल्तीमा पैसा हुनेका लागि आइटम-आइटमका मदिरा, रेष्टुरेण्ट, बार, डिस्को र युवती तयार छन्। दिनभर व्यापार व्यावसायमा व्यस्त त्यही सहर रात परेपछि ‘रेडलाइट एरिया’ बन्छ।
सहरको मध्ये चोकमा एउटा डिस्कोबाट गीतको आवाज बाहिरिरहेको थियो- चिया बारीमा..हो……चिया बारीमा…। प्रवेश शुल्क नलाग्ने डिस्कोमा छिरेर एउटा ल्हासा वियर पिउँदा सय रुपियाँ तिरे पुग्छ। बाँकी ग्राहक के चाहन्छ र ऊसँग कति पैसा छ त्यसमा भर पर्छ।
सवैजसो चिनिया अक्षरमा लेखिएका साइनबोर्ड अनुसार नेपालीलाई रेष्टुरेण्टहरुको नाम आउँदैन। यस्तै मध्येको एकमा हामी पुग्दा-युवती पुरुषसँग आलिंगनमा व्यस्त थिए। अनाम चिनिया युवती आएर हामीलाई पनि त्यसै गर्न थाले। पछि थाहा भयोे-नेपाली युवा चिनिया युवतीसँग र चिनिया युवा नेपाली युवतीसँग बढी रमाउँदा रहेछन्। अचेल त्यहाँ नेपाली युवतीको माग निकै बढेको रहेछ।.


