Flesh Trade In Pokhara
Filed under: Articles, Nepal - Sex Prostitution and Social Issues, Nepal Dance Bar / Night Life
Source: MySansar
-डी. पौडेल/पोखरा-
हिजोसम्म सफा, सुन्दर, सभ्य रुपमा चिनिएको पर्यटकीय नगरी पोखरा विकृत बन्ने क्रममा छ। गन्हाउने गरी बदनामी नहोस् भनी यो विषय उठाउँदैछु।
पोखराका चोक र कुनाहरुमा अहिले खुल्लमखुल्ला यौन व्यापार हुन थालेको छ। विशेषगरी बाग्लुङ बसपार्क, बगर, सृजनाचोक, पृथ्वी (लखन थापा)चोक, जिरो कि.मी. र लेकसाइडका विभिन्न होटलहरुमा यसको व्यवसाय फस्टाएको छ।
एउटा सटरमा रेष्टुराँको नाम दियो र काम भने अर्कै गर्यो। बाग्लुङ बसपार्कभित्रका गल्लीहरु छिर्नुहुन्छ भने त्यहाँ प्रत्येक घरका सटरहरुमा रेष्टुराँका नाम लेखिएका छन्। त्यहाँ बाहिर त मःमः, चाउमिन र विभिन्न खाजाहरु खान पाइन्छ भनेर लेखिएको हुन्छ तर भित्र भने केको खाजाको व्यापार हुन्थ्यो, ‘काँचो मासु’को पो हुने रहेछ। लिपस्टिक, पाउडर लगाएर सजिएर बसेका मैयाँहरु ग्राहकको इच्छामा छानी छानी मोलतोल हुँदा रहेछन्। यौनप्यासीहरुका लागी क्षणिक यौनतृप्तिको व्यवस्था त्यहीँ पनि हुँदोरहेछ र यदि बाहिर आफैसँग कुनै होटलमा लिएर जानुहुन्छ भने भाडाको ट्याक्सी जस्तै मूल्य तिर्नुस् उपभोग गर्नुस् सिद्धान्त लागू हुने रहेछ।
एक जना साथी र म यही यौन व्यवसायको रिपोर्ट तयार गर्नको लागि ती क्षेत्रहरु घुमेका थियौँ। प्राय ती सबै क्षेत्रहरुमा सीधै मोलतोल गर्ने काम भै हाल्थ्यो। अझ लेकसाइडमा त पूरै घरै भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको पाइयो।
हामीले ग्राहकको भेषमा सोध्यौँ, यहाँ पुलिस प्रशासनको डर हुँदैन ? त्यहाँका साहुजीले सजिलै जवाफ दिए- पुलिस त हाम्रा ग्राहक नै हुन्। अझ उसलाई पैसा पनि मासिक पेलेका छौँ, केको डर ? ढुक्कले बस्नुस्।
उनको यो जवाफपछि साँच्चैनै नेपालको कानुन र कानुन हातमा लिनेहरु प्रति घृणा लागेर आयो।
प्रत्येक इलाका-इलाका वडा-वडामा पुलिस प्रशासन किन राखिन्छ? त्यही विकृति विसंगति र कानुनले बन्देज गरेका कुराहरु नियन्त्रण गर्न होइन र? तिनै कानुन हातमा लिनेहरुले राम्रोसँग काम नगरेको कारणले गर्दा आज समाज र राज्य नै विकृत बन्दैछ। पैसाका कारणले गर्दा आज सामाजिक विकृति विसंगति रोक्न, नियन्त्रण गर्न राखेको निकाय नै मौन छ।
राजनीतिक दलहरुले पनि कुर्सीमोह त्यागेर यस्ता क्रियाकलाप नियन्त्रणतिर लागे कति वाहवाही पाउँथे होलान् ?
हुनत यौन व्यवसायमा लाग्ने युवतीहरु पनि गरिबीकै कारणले गर्दा लागेका होलान्। प्रत्येक रेष्टुराँमा ५,६ जना युवती त कम्तीमा हुँदा रहेछन्। एक श्रोतका अनुसार प्रायः युवतीहरु सिन्धुपाल्चोक, काभ्रे, धादिङतिरका धेरै छन् रे। त्यसमा पनि अधिकांश अशिक्षित नै छन्। हुन त यो बाध्यता जस्तो पनि हो। तर बाध्यता भयो भन्दैमा यौन पेशा अंगाल्नु पर्ने त केही छैन नि, भारी बोकेर पनि खान सकिन्छ।
यो व्यवसायलाई तत्कालै नियन्त्रण गर्न नसके सुन्दर पोखरा भन्ने नामलाई नै चुनौती हुनेछ। यदि यसलाई नियन्त्रण गर्न सकिँदैन भने यौन व्यवसायमा लागेकालाई उचित प्रबन्ध गरी रेडलाइट एरिया घोषणा गर्नुपर्यो र अन्य ठाँउलाई यौन व्यवसायमुक्त क्षेत्र घोषणा गर्न छिटो कदम चाल्नुपर्यो। नत्र पोखराको छविमा गम्भीर असर पर्छ।
Originally posted 2009-09-07 12:49:35.


