Site Announcements




Register and Login to Sanjaal Board to get access to exclusive contents including guitar tabs, high quality arts, glamor and photography pictures. New Users will be manually validated against spam database and potential advertisers. So this might cause your account activation to delay from a couple of days to few weeks. If you have Nepali/Indian/Pakistani/Bangladeshi names in your username, the user activation will be quicker. SPAMMERS WILL BE DELETED WITH NO MERCY

कलिउडका कालो सत्य

कलिउडका कालो सत्य

Postby rabin1202006 » Sun Jun 17, 2012 11:09 am

'राति-राति मोबाइलमा फोन आउँछ। कति पैसा चाहिन्छ ? त्यसले पाउने, हामीले नपाउने ? तिम्रो...त कति राम्रो रै'छ, हेर्न मात्रै देऊ न...। यस्ता फोनबाट आजित भएर मैले मोबाइल बोक्न छाडें। बाँचौ, आज पनि समाजले राम्रो भन्दैन, मरौं हारेजस्तो हुन्छ। म के गरौं दोधारमा छु।'

पाँच वर्षअघि एउटा पत्रिकासँगको अन्तर्वार्ताका क्रममा जेशिका (ज्योति) खड्काले बोलेका यी वाक्यले अहिले आफ्नो परिणाम देखायो। पाँच वर्षअघि आफैंले अघि सारेका दुई विकल्पमध्ये अन्ततः जेशिकाले दोस्रो विकल्प रोजिन्। गत मंगलबार बिहान आफ्नै निवासमा सलको पासो लगाएर उनी यो संसारबाट बिदा भइन्। जेशिकाले आत्महत्या गरेपछि अहिले सर्वत्र उनले किन त्यसो गरिन् ? भन्ने जिज्ञासा उठिरहेको छ, तर चित्तबुझ्दो कारण भने फेला पर्न सकेको छैन।

पाँच वर्षअघिको सोही अन्तर्वार्तामा जेशिकाले भनेकी थिइन्— 'यसबीच मैले पटक-पटक मर्ने प्रयास गरें। मलाई जीवनभन्दा श्रीषा कार्की बन्नु उचित पनि लाग्यो तर मरेपछि हारिन्छ भनेर म मर्न सकिनँ। जित्छु एकदिन, आफूमाथि भएको अन्यायविरुद्ध जित्छु भनेर आजसम्म बाँचेकी छु।' तर, उनी यो भनाइमा अडिग रहन सकिनन्। भाइसँगै बस्ने जेशिका उर्फ ज्योतिले न्युरोडसँगैको झोंछेस्थित डेरामा झुन्डिएर आत्महत्या गरिन्।

जेशिकाको आत्महत्याको खबर मंगलबार बिहानैदेखि फैलियो। खासगरी अनलाइन मिडियाले यो खबरलाई महत्वका साथ प्रचार गरे। टेलिभिजन र रेडियोमा पनि यो विषयले राम्रै स्थान पायो। बुधबारका प्रायः सबै पत्रपत्रिकामा जेशिका आत्महत्या प्रकरणले राम्रो हेडलाइन र स्थान पायो तर कुनै पनि समाचारमा जेशिकाले आत्महत्या गर्नुपर्ने कारण खुलाइएको पाइएन। प्रहरीले पनि उक्त प्रकरणलाई आत्महत्या नै भनेको छ तर उनले किन आत्महत्या गरिन् भन्ने प्रश्नको जवाफ दिन सकेको छैन।

के भएको थियो त्यो रात ?

वास्तवमा आत्महत्या गर्नु एक दिनअघि जेशिकाले आफ्ना प्रेमी भनिएका चलचित्र निर्माण नियन्त्रक बालदीप राईसँग आफ्नै कोठामा रात बिताएकी थिइन्। यो कुरा बालदीपले प्रहरीसमक्ष दिएको बयानमा उल्लेख गरेका छन्। ४० वर्ष काटेका बालदीप र २३ वषर्ीया जेशिकाबीच प्रेमसम्बन्ध रहेको खुलासा बालदीपले नै बयानमार्फत गरेका छन्। बालदीपले प्रहरीसमक्ष भनेका छन् — 'चलचित्रको छायांकनका क्रममा करिब डेढ वर्षअघि मेरो भेट जेशिकासँग भएको थियो। चिनजानसँगै हामीबीच प्रेमसम्बन्ध सुरु भयो। म उनको कोठामा आउने-जाने गर्थें। उनको मोबाइलमा पनि मेरो दैनिक चार-पाँच पटक कुरा हुन्थ्यो। मौखिक रूपमा हामीबीच विवाह गर्ने सहमति पनि थियो। यद्यपि आधिकारिक रूपमा भने हाम्राे विवाह भैसकेको थिएन। हामीबीच शारीरिक सम्बन्ध भने भएको छ। पहिले नै सार्वजनिक भएको उनको अश्लील भिडियोका कारण उनी बेलाबखत निकै चिन्तित हुन्थिन्। सोही विषयलाई लिएर उनी म धेरै बाँच्दिनँ होला पनि भन्थिन्। २८ जेठ -आइतबार राती) २०६९ मा म उनको कोठामा बसेको थिएँ। २९ गते -सोमबार बिहान) म आफ्नो कोठा फर्किएँ। सोमबार दिनभरि मेरो उनीसँग मोबाइलमा पटक-पटक कुराकानी भयो। त्यसबेला उनले 'म बिगि्रएकी केटी, तपाईं मलाई हेंला गर्नुहुन्छ होला' भनिरहिन्। ३० गते -मंगलबार बिहान) उनलाई फोन गर्दा उनको मोबाइल अफ थियो। पछि उनको भाइले मलाई फोन गरेर बोलायो। म उनको कोठामा पुग्दा उनी झुन्डिरहेको अवस्थामा थिइन्।'

यही घटनाका सम्बन्धमा प्रहरीले जेशिकाका भाइ युनिक खड्कासँग पनि बयान लिएको छ, जसमा युनिकले भनेका छन्— 'झोँछेंमा दुईवटा कोठा भाडामा लिई दिदी र म सँगै बस्थ्यौं। दिदी अलि जिद्दी स्वभावकी थिइन्। पुरानो घटना सम्झेर सधैं चिन्तित हुन्थिन्। चिन्ताले नै होला, उनी बेलाबखत कोठामै मादक पदार्थ ल्याएर सेवन गर्थिन्। २९ जेठ २०६९ मा पनि हामीले रातको खाना सँगै खायौं। दिदी चिन्तित नै देखिन्थिन्। उनी बाहिर निस्किन्। पछि रक्सी लिएर कोठामा प्रवेश गरिन्। टेबलमा बसेर पिउन थालिन्। फेरि खाना खाइन् र सुत्न कोठामा प्रवेश गरिन्। म बिहानै उठेँ। दिदी उठेकी थिइनन्। सुतेकी होलिन् भन्ने लाग्यो। निकै बेर नउठेपछि मैले ढोका ढकढक गरें तर खुलेन। शंका लागेपछि प्रहरीलाई खबर गरें। प्रहरी आयो, हामीले ढोका फोड्यौं। दिदी त कोठाको सिलिङमा सलको पासोमा पो झुन्डिएकी थिइन्। दिदीको बाहिर कसैसँग रिसिइबी छैन, यो घटनाप्रति कोही कसैप्रति शंका लाग्दैन।'

जेशिकाका प्रेमी तथा भाइले प्रहरीसमक्ष दिएको बयानअनुसार के अनुमान लगाउन सकिन्छ भने जेशिका आफ्नो विगतका कारण प्रायः तनावमा रहन्थिन्। अहिले पनि उनी आफूभन्दा दोब्बर उमेरका व्यक्तिसँग प्रेम गरिरहेकी थिइन् तर रातै बिताउने प्रेमीसँग विवाह हुने कुरामा उनी स्वयं आश्वस्त नभएको पाइन्छ। बुझिएअनुसार प्रेमी भनिएका बालदीप अविवाहित हुन्। राईको परिवारमा उनकी आमा मात्र छिन्। धरानका यी चलचित्रकर्मीलाई आफ्नो तनमन नै सुम्पिएकी जेशिकाले किन आत्महत्याकै बाटो रोजिन् भन्ने कुरा भने रहस्यमै रहे पनि लगातारको गहिरो डिप्रेसन त्यसको मुख्यः कारण भएको अनुमान अनुसन्धानमा खटिएका प्रहरीहरूको छ।

यसबीच साप्ताहिकसँगको सम्पर्कमा बालदीप राईले अहिले आफूले केही पनि नबोल्ने बताए। 'मैले प्रहरीलाई जे वयान दिएको छु, मेरो आधिकारिक भनाइ त्यही हो', उनले भने — 'म त्योभन्दा बढी केही बोल्न चाहन्नँ।'



को थिइन् जेशिका खड्का ?

सानैदेखि कलाकार बन्ने चाहनाले जेशिका -त्यसबेलाकी ज्योति) १४ वर्षको उमेरदेखि नै अभिनयक्ष्ाेत्रमा आएकी हुन्। इटहरीको जनताबस्तीमा हुर्किएकी जेशिका बुबाले कान्छी आमा भित्र्याएपछि हजुरआमा र काका-काकीसँग बस्थिन्। उनकी आफ्नी आमाले अर्कै पुरुषसँग विवाह गरेको बताइन्छ। बुवा विदेश गएपछि उनी हजुरआमासँग बस्न थालेकी थिइन्। त्यही क्रममा इटहरीस्थित कलाकारहरूको एउटा समूह मदानीले एउटा टेलिश्रृंखलाका लागि कलाकारको खोजी गर्ने क्रममा ज्योतिसँग भेट भयो। 'कन्तबिजोग' शीर्षकको उक्त श्रृंखलाको छायांकन त भयो तर कतै प्रसारण भने भएन। उक्त श्रृंखलाको ११ देखि २० भागसम्म ज्योतिले अभिनय गरेकी थिइन्। जसको निर्देश्ान प्रकाश ओझाले गरेका थिए। त्यही बेलादेखि उनको ओझासँग हिमचिम बढेको बताइन्छ। पछि ओझाकै निर्देश्ानमा ज्योतिले 'तीते करेली' श्रृंखलामा अभिनय गरिन् भने ओझाका केही म्युजिक भिडियोम्ाा पनि अभिनय गरिन्। ओझाको लोकपि्रय गीत 'भत्काइदिन्छु बाख्राको खोर पनि...' मा पनि ज्योतिले अभिनय गरेकी थिइन्।

त्यही क्रममा ज्योतिका नग्न तस्बिर तथा भिडियो क्लिप्सहरू सार्वजनिक भए। उक्त तस्बिर खिचेको आरोपमा गायक प्रकाश ओझालाई प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि डेढ वर्ष कैदमा राख्यो। पछि उनलाई अदालतले 'क्लिन चिट' दियो। त्यतिबेला मदानी समूहका अध्यक्ष शिशिर सुवेदीले प्रकाशकी अर्की परिचित महिला सुदेशासँग मिलेर उक्त अश्लील सामग्री सार्वजनिक गरेको आरोप पछिल्ला केही अन्तवार्तामा ज्योति अर्थात् जेशिकाले लगाएकी थिइन्। वास्तविकता के थियो ? ती सामग्री कसरी, कसले सार्वजनिक गर्‍यो ? भन्ने कुरा अहिलेसम्म पनि रहस्यमै छ। ३ वर्षअघि नवल खड्काले निर्माण गरेको चलचित्र 'आवाज' मा छोटो भूमिका निर्वाह गरेकी जेशिका त्यसलगत्तै सरोज शर्माको चलचित्र 'अचानक' बाट एकल नायिकाका रूपमा देखा परेकी थिइन्। चलचित्र 'जंगल क्वीन' को मुख्य पात्र भएपछि उनले आफ्नो पुरानो नाम फेरिन र जेशिका खड्का भइन्। लगातार चलचित्र खेल्दै उनले छोटो अवधीमै लक्की सेभेन, हाम्रो माया तिमीलाई, दुई दुना पाँच, कसले बनायो माया, जंगल लभ, जंगल क्वीन टु, गहिराई आदि चलचित्रमा अभिनय गरिसकेकी थिइन्।

यद्यपि विगतका ती अश्लिल सामग्रीका कारण बेलाबखत जेशिका टेन्सनमा आउने गरेको बताइन्छ। भनिन्छ, त्यस क्रममा उनी र्झकने, भुत्भुताउने आदि क्रियाकलाप देखाउँथिन्। उनको नम्बर पत्ता लगाएर केही व्यक्तिले उनीसँग अश्लील कुराकानी गर्न खोज्थे। विगतका सबै कुरा बिर्सेर नेपाली चलचित्रको एउटा सफल कलाकार बन्ने बाटोमा हिंडिरहेकी जेशिकालाई ती व्यक्तिका कुराले थप 'डिप्रेसन' तर्फ धकेलिरहेको थियो। एकप्रकारले एकपटक विश्वास गुमाएर समाजबाट लज्जित भैसकेकी ज्योति अब नयाँ नाम र पहिचानबाट परिचित हुन चाहन्थिन्। यस्तो अवस्थामा पनि समाजका केही उपबुज्रुकले उनलाई पुरानै घटना सम्झाएर चिमोटिरहन्थे। बालदीप उनको पछिल्लो सहयोगीका रूपमा अगाडि आए। उमेरमा आफूभन्दा निकै जेठो भएर पनि अविवाहित बालदीपसँग विवाह गरी सुखी जीवन बिताउने निधो गरिसकेकी जेशिकाले अनायास त्यो रात आत्महत्याको बाटो किन रोजिन् भन्ने कुरा भने रहस्यमै छ। आशा गरौं, प्रहरीले उनको आत्महत्याको कारण पत्ता लगाउला। नसके विगतमा अन्य तीन नायिकाको आत्महत्या प्रकरणझैं 'फाइल क्लोज' गर्ला।

प|mस्टे्रसन, पलायन, शोषण र कास्टिङ काउच

निेपाल भाषाको पहिलो चलचित्र 'सिलु'की नायिका नवीना श्रेष्ठ अन्तर्जातीय विवाहपछि यदाकदा चलचित्रमा काम गरिरहेकै थिइन्। अनायस एक दिन उनले आफ्नै घरको भान्छामा आफूलाई जलाइन् र त्यसलाई प्रहरी अनुसन्धानमा आत्महत्या भनेर 'फाइल क्लोज' गरियो।

चिलचित्र 'अन्याय' तथा 'जन्मभूमि' की नायिका गीताञ्जली सुनुवारले पनि आफ्नै निवासको बाथरुममा पासो लगाएर आत्महत्या गरेकी थिइन्। उनी चलचित्र निर्माता छवि ओझाकी श्रीमती थिइन् जसबाट छविका एक छोरा पनि छन्। यसलाई पनि प्रहरीले अनुसन्धानमै सीमित गर्‍यो र उक्त घटनालाई आत्महत्या नै बताइयो।

ििव.सं. २०५९ असोज २८ गते नायिका श्रीषा कार्कीले आत्महत्या गरिन्। एउटा पत्रिकामा आफ्नो नग्न तस्बिर प्रकाशित भएपछि मानसिक तनाव झेल्न नसकेर उनले आत्महत्या गरेकी थिइन्। आफ्नो तस्बिर प्रकाशित भएको पाँच दिनपछि श्रीषाले चाबहिलस्थित आफ्नै निवासमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।

यसपटक नायिका जेशिका खड्काले पनि आत्महत्यामार्फत नै आफ्नो जीवन समाप्त पारिन्। यी सबै नायिकाहरूले अन्ततः आफ्नो जीवन नै समाप्त पार्ने बाटो किन रोजे त भन्ने विषयमा भने कसैले गहन अनुसन्धान गरेको पाइँदैन।

नायिका बन्ने रंगीन सपना बोकेर यो क्षेत्रमा प्रवेश गर्नेहरू नेपालमा मात्र होइन बलिउड र हलिउडमा समेत शारीरिक शोषणमा पर्ने गरेको कुरा बेला-बेलामा समाचारमा आइरहन्छ। नेपालमा पनि नायिका बन्न चाहने युवतीहरू शारीरिक शोषणमा नपरेका होइनन्। भनिन्छ, उनीहरूलाई 'कास्टिङ काउच'को बाटो रोज्न बाध्य गराइन्छ। कास्टिङ काउच अर्थात् नायिका बनाउने रंगीन सपना देखाएर उनीहरूको शारीरिक शोषण गर्ने क्रम पछिल्लो समयमा ह्वात्तै बढेको पाइन्छ। अहिले पनि समाजमा त्यस्ता थुप्रै युवती छन् जो नायिका बन्न 'कास्टिङ काउच'को सिकार भैरहेका छन्। यसबाहेक रंगीन संसारमा बाँच्नका लागि देखावटी रूपमै भए पनि सम्पन्न देखिन उनीहरू त्यो बाटो रोज्न बाध्य हुन्छन्। चलचित्रमा मुख्य भूमिकामै अभिनय गरे पनि सबैभन्दा कम पारिश्रमिक पाउने, आधा पारिश्रमिक पाएर बाँकी पारिश्रमिक नपाउने जस्ता घटना नेपाली चलचित्र क्षेत्रमा घटिरहन्छ। सम्पन्न घरबाट चलचित्र क्षेत्रमा आएका नायिकाहरूले त पारिवारिक सहयोग लिन्छन् तर निम्न तथा मध्यमवर्गीय परिवारबाट आएका युवतीहरू अन्ततः दुबई, सिङ्गापुर, मलेसिया आदि मुलुकमा डान्स गर्न जाने अनि डान्स गर्ने बहानामा शारीरिक तथा मानसिक शोषणको सिकार बन्ने क्रम जारी छ।

त्यसो त केही नायिकाले भने बुद्धि पुर्‍याएर सम्पन्न युवकसँग विवाह गरेर आफूलाई 'सेफ ल्यान्डिङ' गरिसकेका छन्। 'सेफ ल्यान्डिङ' गरेर पनि कतिपय नायिका जीवनमा सन्तुष्ट हुन सकेनन्। फलस्वरूप तीमध्ये केहीले आत्महत्याकै बाटो रोजे भने केहीले पारपाचुकेको।

शोषणमा पर्न नचाहने केही नायिका अझै यही क्षेत्रमा संघर्ष गरिरहेका छन् भने केही यो क्षेत्रबाटै पलायन भैसकेका छन्। तीमध्ये अधिकांश नायिका सम्पन्न युवकसँग विवाह गरेर बिदेसिएका छन्। अभिनय गर्ने रहर हुँदा-हुँदै पनि यो क्षेत्रको बिडम्बना भन्नुपर्छ- प्रतिभाशाली नायिकाहरू पलायन हुन बाध्य छन्।

केही समयअघि नायिका रेखा थापाले चलचित्र नायिकाहरूप्रति समाजको नजर नै गलत भएको कुरा बताएकी थिइन्। उनका अनुसार एउटी नायिकाले गलत कार्य गर्दा बाँकी तमाम नायिकाप्रति पनि औंला ठड्याइन्छ, जसले गर्दा नायिकाहरू नाम कमाएर पनि बदनाम छन्। समयमै विचार पुर्‍याइएन भने त्यस्तो प्रवृत्तिले चलचित्र क्षेत्रमाथि बदनामीको दाग लगाई नै रहनेछ। भविष्यमा फेरि यसरी नै नवीना, गीताञ्जली, श्रीषा र जेशिकाहरूले बाहिरी रूपमा झकिझकाउ देखिने चलचित्र नायिकाको जीवनबाट थाकेर आफूलाई समाप्त नगरून् भन्नेतर्फ सरोकारवालाहरू समयमै सचेत हुने हो कि ?
RABIN BHANDARI
rabin1202006
 
Posts: 418
Joined: Sun Feb 05, 2012 9:05 am
Location: New Baneshwor Kathmandu Nepal

Return to Nepali Celebrity And Film Industry Gossips

Who is online

Users browsing this forum: No registered users and 1 guest

cron