राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले तीन ठूला दलले संविधानसभाको भ्रुण हत्या गरेको आरोप लगाएका छन् ।
माओवादी, कांग्रेस र एमाले जस्ता ठूला दलको गैर जिम्मेवारी पनले यो कुरा पुष्टि गरेको उनले बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समितिले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै राणाले जेठ १४ मा संविधान बन्ने आशा नरहेको बताए । दुई महिना चार दिनमा संविधान निर्माणको काम पुरा हुने कुनै आधार देखिदैन राणाले भने ।
उनले संविधानसभाको भ्रुण हत्या गर्ने ठूला दललाई इतिहासको कठघरामा उभ्याएर दण्ड दिइने बताए । चार-चार वर्षसम्म संविधान बनाउन ढिलाइ गरेका ठूलादलहरु स्वार्थले अन्धो भएको टिप्पणी राणाले गरे ।
उनले संविधान लेखन र शान्ति प्रकृयाको काम बढाउन नसक्ने ठूला दलहरु जेठ १४ पछि निम्तने जटिल अवस्थाको जिम्मेवारी लिनु बताए । राणाले शान्ति प्रकृया नै नटुंगिएको अवस्थामा संविधान बन्ने कुनै आधार नदेखिएको प्रष्ट पारे ।
उनले वर्तमान सरकारबाट आशा गर्न सकिने कुनै आधार नभेटिएकाले मुलुक झन जटील मोडमा फसेको बताए । मंहगी बढाउने काम गरेकाले सरकारले ४८ जना मन्त्री बनाएर जन्ती जस्तै बनाएको आरोप लगाए ।
