by rumblefish » Wed Oct 12, 2011 6:17 pm
किन भित्रिएन गैरआवासीय नेपालीको लगानी ?
२४ असोज, काठमाडौं । सार्क मुलुक बाहिर रहेका झण्डै ६० देशमा बसोबास गर्ने नेपालीहरु यतिबेला काठमाडौंमा भेला भएका छन् । हरेक वर्ष यही समयमा पर्ने सम्मेलनको लागि उनीहरु नेपाल आएका हुन् । सम्मेलनमा पहिलेजस्तै लगानीको कुरा जोडसँग उठ्ने निश्चित छ । आर्थिक अवस्था जे जस्तो भएपनि गैरआवासीय नेपालीलाई सम्पन्नशालीको रुपमा चिन्ने गरिन्छ । दोहोरो नागरिकता पाए धेरै क्षेत्रमा लगानी गर्न सक्ने उनीहरुको भनाईले पनि गैरआवासीय नेपालीलाई लाखौं करोडौं रुपैंया खेलाउन सक्ने व्यक्ति ठान्ने गरिएको हो । तर, यथार्थमा सबै गैरआवासीय नेपाली धनी छैनन् र बिदेशमा रहेका सबै नेपाली यो संस्थामा अट्न पनि सकेका छैनन् ।
हैसियत कस्तो ?
८ वर्षदेखि जुर्मुराउन थालेका गैरआवासीय नेपालीले हरेक वर्ष जोड दिंदै आएको कुरा लगानीमैत्री वातावरणकै हो । तर उनीहरुले भने अनुसार सबै गैरआवासीय नेपाली लगानी गर्न सक्ने अवस्थामा छैनन् । ‘उपेन्द्र महतो, जीवा लामिछाने जस्ता औंलामा गन्न सक्ने केही मात्र लगानी गर्न सक्ने अवस्थामा छन्, अरु छैनन्’ अर्थशास्त्री चिरञ्जीवि नेपालले भन्नुभयो-’बिदेशमा रहेका धेरै नेपालीको हैसियत राम्रो छैन ।’ तर प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनाल भने पहिलेको तुलनामा गैरआवासीय नेपालीको हैसियत राम्रो बन्दै गएको बताउनुहुन्छ । ‘पहिले देखिंदैनथियो, तर धेरैमा अहिले लगानी गर्न सक्ने हैसियत देखिएको छ’ खनालले भन्नुभयो । गैरआवासीय नेपालीले सीपमा बढी लगानी गर्नुपर्ने एकथरीको भनाई भएपनि खनाल भने यसमा सहमत हुनुहुन्न । ‘आर्थिक विकासको लागि सीप भन्दा पनि उत्पादनमुलक क्षेत्रमा नै लगानी गर्नुपर्ने आवश्यकता छ’ खनालले भन्नुभयो । लगानीको लागि सबै गैरआवासीय नेपालीको हैसियत नभएपनि हैसियत हुनेहरुको लागि उपयुक्त वातावरण बनाउनुपर्ने माग उठिरहेको छ । ‘प्रतिकूल वातावरणले देशभित्रकै लगानी पनि बाहिर गैरहेको छ’ पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले भन्नुभयो-’उपयुक्त वातावरण बनाउन सकेमा धेरै गैरआवासीय नेपाली देशभित्र लगानी गर्न सक्ने हैसियतमा छन् ।’
अहिलेसम्म के भयो ?
गैर आवासीय नेपालीहरुमध्ये उपेन्द्र महतोलाई सबैभन्दा बढी दानी र लगानी गर्ने व्यक्तिको रुपमा लिइन्छ । जलविद्युत्त, बैंकिङ, स्कूल, कलेज, सञ्चारमाध्यम, स्वास्थ्य संस्था लगायत धेरै सामाजिक क्षेत्रमा उहाँले लगानी गर्नुभएको छ । उहाँ जस्तै अरु केही गैरआवासीय नेपालीले पनि देशमा लगानी गरेका छन् । तर उनीहरुको लगानी कति छ भनेर सरकारसित पनि जानकारी छैन । ‘केही क्षेत्रमा उहाँहरुले लगानी गर्नुभएको छ, तर तथ्याँक उहाँहरुले पनि दिनुभएको छैन र सरकारले पनि मागेको छैन’ प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनालले भन्नुभयो । पूर्वमन्त्री रामशरण महतको भनाईमा प्रतिकूल वातावरण नहुँदा नहुँदै पनि गैरआवासीय नेपालीले करोडौंको लगानी गरेका छन् । तर अर्थशास्त्री चिरञ्जीवि नेपाल भने लगानी खासै धेरै नभएको बताउनुहुन्छ । ‘अहिलेसम्म तीन करोड रुपैंयाको भन्दा बढी लगानी देखिंदैन’ उहाँले भन्नुभयो-’यो खासै ठूलो लगानी होइन ।’ तर आफूहरुले जलविद्युत्त, बैंकिङ लगायत क्षेत्रमा ठूलो लगानी गरेको र व्यक्तिगत रुपमा भएकाले तथ्याँक संकलन नभएको गैरआवासीय नेपाली संघका उपाध्यक्ष जीवा लामिछानेले बताउनुभयो ।
कस्तो वातावरण ?
देशमा असुरक्षा भएको र आफूहरुसित दोहोरो नागरिकता नभएकोले लगानी गर्न नसकिएको गैर आवासीय नेपालीको भनाई छ । पोहोरदेखि उनीहरुले दोहोरो नागरिकतालाई जोडतोडका साथ उठाइरहेका छन् । तर दोहोरो नागरिकताबिना लगानी नै गर्न नसकिने भने होइन । ‘साँच्चै लगानी गर्ने हो भने समस्या छैन, भारतको भन्दा लगानीमैत्री वातावरण छ’ अर्थशास्त्री नेपालले भन्नुभयो-’लगानीमैत्री वातावरणको ठूला कुरा गरेर गैरआवासीय नेपालीले स्वार्थ लिन मात्रै खोजेको देखिन्छ ।’ प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खनाल पनि दोहोरो नागरिकताको अभावले लगानीमा खासै समस्या नपार्ने बताउनुहुन्छ । ‘दोहोरो नागरिकता हुनु र नहुनुले लगानीमा असर गर्दैन, परिचयपत्र मात्रै भयो भने पनि हुन्छ’ खनालले भन्नुभयो । गैरआवासीय नेपालीहरुले जलविद्युत्त जस्ता केही ठूला आयोजनामा लगानी गर्ने इच्छा पनि देखाएका छन् । यसको लागि पनि आवश्यक वातावरण बनाउन उनीहरुको माग छ । अरु क्षेत्रमा जस्तै जलविद्युत्तमा लगानी गर्न पनि खासै समस्या नरहेको जानकारहरुको भनाई छ । तर जलविद्युत्त जस्ता केही क्षेत्रमा लगानीको लागि प्रतिष्पर्धा गर्नुपर्ने भएकाले त्यस्तो प्रतिष्पर्धा गर्न नपर्ने गरी उनीहरुले सुविधा खोजेको देखिन्छ ।
विकल्प के हुन सक्छ ?
इच्छाशक्ति हुने हो भने आफ्नो देशमा लगानी गर्न गैरआवासीय नेपालीलाई ठूला कुनै अवरोधले छेक्दैन । केहीले यसैगरी लगानी गरिरहेका पनि छन् । ‘तर उनीहरुलाई हौसला बढाउन जरुरी छ’ अर्थशास्त्री विश्वम्भर प्याकुरेलले भन्नुभयो -’विदेशी लगानी भित्र्याउन सक्ने वातावरण निर्माण गर्न जरुरी छ ।’ गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा अहिले अध्यक्षका प्रत्याशी जीवा लामिछानेको भनाई पनि यस्तै छ । ‘बैदेशिक लगानी अनुसारको सुविधा मात्रै भए हामीलाई पुग्छ’ लामिछानेले भन्नुभयो -’ठूलो हैसियत नभएपनि केही न केही क्षेत्रमा लगानी गर्न सक्छौं ।’ अहिले गैरआवासीय नेपालीले सामुहिक रुपमा लगानी गर्न खोजेको र पहिलो प्राथमिकता जलविद्युत्त क्षेत्रलाई दिएको पनि उहाँले बताउनुभयो । लगानी डुब्दैन भन्ने ग्यारेन्टी भएमा गैरआवासीय नेपालीको योगदान महत्वपूर्ण हुने अर्थशास्त्रीहरुको भनाई छ ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Webhosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal.com website features H1B Visa Information, Entertainment Portal, Link Directory Service, Free Articles, Free Open Source Tutorials on Java and J2EE Platform, Digital Photography, High Resolution Picture Gallery and Free Reliable Image Hosting Services. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Stay free from phishing - our website does not ask for your credit card and banking information. Happy Surfing!