by cosmiccollisions » Sun Aug 30, 2009 7:53 pm
अझै पनि टुंगनाहरुले भेडी गोठमै मन बहलाइरहेछन्
मुर्चुङ्गा-विनायोले दाउरा घाँसमै जीन्दगी बिताइरहेछन्
अझै पनि
सारंङ्गीले गाउँघरमै मन डुलाइरहेछ
बाँसुरीले घर-आँगनमै मन रुवाइरहेछ
भन त सङ्गीतकार !
हाम्रो गाउँको लागि कस्तो सङ्गीत भर्दैछौ ?
इन्कलाबी शब्दहरु सबैले सुनिसकेकै हुन्
हाम्रो सामू त्यहि शब्द दोहोर्याउँदै नआऊ
हामी भने त्यही शब्दमा संगीत खोजिरहेछौं
त्यही शब्दलाई लय मागिरहेछौं
भन त सङ्गीतकार !
हाम्रो ठाउँको लागि कस्तो सङ्गीत भर्दैछौ ?
कतै सारङ्गी रेटेर मात्र मन रुवाउन आइरहेछौ ?
कि बाँसुरी फुक्दै मन बहलाउन कतै गइरहेछौ ??
तिमीले भर्न लागेको सङ्गीत सुन्न
आतुर यी मनहरुले सोधिरहेछन्
भन त सङ्गीतकार !
हाम्रो देशमा कस्तो सङ्गीत भर्दैछौ ?
समयका परिधिहरुसंगै
कतै च्याब्रुङलाई ड्रम सम्झिरहेछौ?
कि कतै ढोललाई तबला सम्झिरहेछौ ?
सोरठी लयलाई चटक्कै बिर्सिएर
हाम्रो भावनालाई पप संगीतमा भर्दैछौ ?
कि कतै लैबरीको भाखालाई भुसुक्कै बिर्सिए
रक सङ्गीतमा हाम्रो शब्दलाई छाँट्दैछौ ??
डम्फु र मादलले सोधिरहेछन्
भन त संगीतकार !
हाम्रो उपस्थितिमा पनि सङ्गीत भर्दैछौ ?
अब त
शब्दहरुले पनि लय पाए होलान्
लयहरुले बाजाका साथ पाए होलान्
हामीले कुन धुनलाई अङ्गालेर गीत गाउनु पर्ने हो ?
हामीले कुन धर्य सँगालेर त्रि्रो सङ्गीत पर्खिनु पर्ने हो ?
भन त संगीतकार !
हामीले पनि गीत गाउन पाउने हो ?
source: nepalikavita.com