by cosmiccollisions » Sun Aug 30, 2009 7:49 pm
कट्मिरा सपनाहरु बोकेको बैशाख जस्केलोमा
रक्तआहाल जमिरहेकै बेला
म आएँ भन्छौ सङ्घारमा उभिएर
यो हालतमा तिमीलाई कुन उत्साहले पो स्वागतको पर्दा खोलूँ ?
अरुको संसार आफ्नो गतिमा कुदिरहेछ क्या मज्जाले
सताब्दीमाथि खप्टिँदै
शुभदिनका शुभक्षणहरु पस्केर अनुहारमा धप्प/धप्प
आफ्नो त प्रत्येक प्रहरहरुले
जोखिमको जस्केलो खोल्छ / उठाउँछ भयातुर शुभप्रभात बाँड्दै ।
कट्मिरा सपनाहरु पाक्न नपाउँदै
रातको आँखा भड्कन्छ
चीत्कार सुनेर टाढाटाढा
जहाँ गाउँहरु सुत्न सकिरहेका हुँदैनन्
वैशाख ! यस्तो बेला म कुन शुभनामले तिमीलाई सम्बोधन गरुँ ?
युगीन अँध्यारो हटाउने कुरा गथ्र्यौ नि कुनैबेला
आश्वासनका पुलिन्दाहरु
नवपालुवामा घुसारेर
ओसाथ्र्यौ नि वैशाखको निहुँमा
वासन्ती गाउँन लाउँथ्यौ नि खुबै शान्ति र अमनचयनको
खै त हामी हाँस्न पाएका कहिल्यै
खै त नयाँ दिनको खुशीमा नाच्न पाएका छम... छम... छम...छम...?
अब तिमीलाई सोध्नु छ मैले-
सुदिन फर्काउन सक्छौ मान्छेको?
तिमी आँखा ओभानो बनाउन सक्छौ जो जुनीभरिभरि रोइरहे
तिमी अबका मान्छेका मनबाट विवेक धुकधुकाउन सक्छौ ?
त्यसो भए स्वागत् छ हाम्रो क्षितिजमा तिमीलाई झुल्कन
त्यसो भए मात्रै बस थपक्क आएर हाम्रो आँखाको नानीमा
जहाँबाट तिमीलाई सधैँसधैँ हेर्न सकियोस्
वैशाखैवैशाख / वैशाखैवैशाख
ज... ता... त... तै... ।
Source: nepalikavita.com